२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

वाग्नर समूहमा नेपाली युवा!

रुसी ट्रेनिङमा चिसापानीका कमल आचार्य। तस्बिर: द टेलिग्राफ

भारतले गोर्खा भर्तीमा रोक लगाएको झोकमा नेपाली युवा रूसी निजी सेना वाग्नर समूहमा भर्ती भएको बेलायतबाट प्रकाशित द टेलिग्राफ पत्रिकाले लेखेको छ। वाग्नर समूहमा भर्ना भएका नेपालीले बेलारूस र रूसका विभिन्न सैन्य क्याम्पमा भइरहेका तालिममा सहभागिता जनाएको, सैन्य मेसमा खाना खाइरहेको, युक्रेनमा युद्ध गर्दाताका आइपर्ने खतराहरूबारे छलफल गरिरहेको भिडियोमा देख्न सकिने समाचारमा जनाइएको छ।

नेपालीहरू युक्रेनविरूद्ध लड्न गएको घटनाले नेपाल सरकारलाई अप्ठेरोसमेत परेको पत्रिकाको दाबी छ। वाग्नर समूहमा भर्ती हुनका लागि २२ वर्षीय कमल आचार्य गत अप्रिलमा नेपालको चिसापानी गाउँबाट मस्को पुगेका थिए।

भारतले गोर्खा भर्तीमा रोक लगाएको झोकमा नेपाली युवा रूसी निजी सेना वाग्नर समूहमा भर्ती भएको बेलायतबाट प्रकाशित द टेलिग्राफ पत्रिकाले लेखेको छ।

उनले खिचेको एउटा तस्बिरमा रूसी सेनाले प्रयोग गर्ने राइफल बोकेको देखिन्छ। यस्तै आचार्यका एकजना साथी उमेश शाहीले रूसले युक्रेनविरूद्ध भिड्न राम्रो तलब दिइरहेका कारण वाग्नरमा भर्ती भएको बताएका छन्। उनले लडाइँमा जानु खतरा भए पनि पैसाले लोभ्याएको बताएका छन्।

रूसका विभिन्न विश्वविद्यालयमा अध्ययन गरिरहेका नेपाली युवा (गोर्खा) हरूसमेत रूसी सेनामा भर्ती भएको पत्रिकाको दाबी छ। रूसमा चिकित्सा अध्ययन सकेर नेपाल फर्कनुको साटो रूसी सेनामा भर्ती भएका एक नेपालीले भने, ‘मसँग अध्ययन पूरा गरेर बेरोजगारै हुने कि रूसी सेनामा भर्ती हुने भन्ने दुईवटा छनोट थियो। मैले भर्ती रोजें।’

यी एक नेपालीको भनाइ अखबारले नेपाल टिभीबाट उद्धृत गरेको जनाएको छ।

रूसी सेनामा भर्ती भएको एक वर्षपछि ती युवकले त्यहाँको नागरिकता पाउने अपेक्षा गरेका छन्। ती युवकले भने, ‘कालले साँचेछ भने मैले अबको एक वर्षपछि रूसी नागरिकता पाउनेछु।’

ती युवकले आफ्नो पूरै जीवन रूसमै बिताउने मनशाय व्यक्त गरेका छन्। यतिबेला ती युवकले महिनाको ५० हजार रूपैयाँ (२९० पाउन्ड) तलब पाइरहेका छन्। त्यसमा इन्सुरेन्स थप रहेको उनले बताए।

रूसका विभिन्न विश्वविद्यालयमा अध्ययन गरिरहेका नेपाली युवा (गोर्खा) हरूसमेत रूसी सेनामा भर्ती भएको पत्रिकाको दाबी छ।

रूसी सेनामा भर्ती हुने अवसरका बारेमा पूर्वनेपाली सेनाका एकजनाले दुबईमा थाहा पाएका थिए। नेपाली सेनाका ती पूर्वले आफ्ना वरिपरिका व्यक्ति र सहकर्मीलाई यसबारे जानकारी गराएका थिए। यतिबेला कम्तीमा ५० गोर्खा सैनिक वाग्नर समूहका लागि लडाइँ गरिरहेका छन्।

त्यस्तै रूसी सेनाका लागि भनेर २०० जना नेपाली भर्ती भएको पनि द सन्डे टेलिग्राफ पत्रिकाले जनाएको छ। नेपाल सरकारले भने ठ्याक्कै कति नेपाली रूसमा वाग्नर समूहमा भर्तीका लागि पुगे भन्ने तथ्यांक नभएको बताएको छ। केही युवा वाग्नर तथा रूसी सेनामा भर्ती भएको पत्ता पाएपछि नेपाल सरकारले तिनका बाबुआमासँग समन्वय गर्दै घर फर्कन आग्रह गरिरहेको स्रोत नखुलाई अखबारले लेखेको छ।

संसारभर युद्धका लागि चिनिएको गोर्खा जातिले बेलायती सेनामा सन् १८१५ बाट सेवा गर्दै आएको स्मरण अखबारले गरेको छ। सन् १९४७ यता भारतीय सेनामा पनि हजारौं गोरर्खाले सेवा गरिरहेका छन्। तर गत वर्ष भारतले नयाँ नीति ल्याएपछि नेपाली युवाको भारतीय गोर्खामा छिर्ने बाटो बन्द भएको छ।

खासगरी पेन्सन खर्च बचाउन भारतले नयाँ नीति ल्याएको हो। त्यसपछि नेपालले गोर्खा भर्ती बन्द गरिदिएको थियो। गोर्खा सेनामा भर्ती हुन इच्छुक युवा भारतको बाटो बन्द भएपछि रूसतिर लागेको अखबारको दाबी छ।

रूसी सेनामा भर्ती हुने अवसरका बारेमा पूर्वनेपाली सेनाका एकजनाले दुबईमा थाहा पाएका थिए। नेपाली सेनाका ती पूर्वले आफ्ना वरिपरिका व्यक्ति र सहकर्मीलाई यसबारे जानकारी गराएका थिए।

यतिबेला नेपाल सरकारले रूसमा भर्ती हुने बाटो बन्द गर्नुपर्ने माग नेपाली सेनाका पूर्व बिग्रेडियर प्रेमसिंह बस्न्यातको छ। उनले यस्तो कार्य नरोकिए देशकै इज्जत धरापमा पर्ने बताएका छन्। यस्तै नेपाली सेनाका रणनीतिक विश्लेषक पूर्वमेजर जनरल विनोज बस्न्यातले नेपाली युवालाई रूसी सेनामा भर्ती हुनबाट तुरून्त रोक्नुपर्ने बताएका छन्। उनले नेपाली युवा रूसी सेनामा भर्ती हुनु देशको असंलग्न नीतिविरूद्ध हुने पनि बताएका छन्।

टेलिग्राफका अनुसार, नेपाल सरकारले सो भर्ती रोक्न नसकेकोमा भारत सरकारले पनि आलोचना गरेको जनाएको छ। भारतका विपक्षी नेता जयराम रमेशलाई उद्धृत गर्दै अखबारमा लेखिएको छ, ‘गोर्खा सैनिक संसारकै उम्दा हुन्। उनीहरूको दुरूपयोग हुन रोकिनुपर्छ।’

उनले भारत सरकारले ल्याएको अग्निपथ योजनालाई परिवर्तन गरी गोर्खाहरूलाई समावेश गराउनुपर्ने जिकिर पनि गरेका छन्। यसले वाग्नरजस्ता निजी सैन्य समूहमा गोर्खाहरूको दुरूपयोग रोकिने उनको धारणा रहेको सो अखबारले जनाएको छ।

प्रकाशित: १ श्रावण २०८० ०१:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App