१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

‘अराजक’ बन्दै जनप्रतिनिधि

आर्थिक मसान्तमा काम सकाएर निकासा भएको रकमको हिसाब–किताब गरिरहेका बेला प्रदेश राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिका–३ का वडाध्यक्षसहित तीन जनाले उपभोक्ता समितिको रकम लुटपाट गरे।

असार २१ गते खोर्केखोला तटबन्धको काम सकाएर रकम बाँडफाँट गर्दै गर्दा दिउँसो साढे दुई बजेतिर वडाध्यक्ष विनोदसिंह विष्टसहित सुशील गुरुङ र बलीराज शाहीले रकम लुटपाट गरेको भन्दै उजुरी पर्‍यो। भोलिपल्ट गुरुङ र शाही पक्राउ परे। उनीहरुले प्रहरीलाई दिएको बयान अनुसार वडाध्यक्ष विष्ट पनि पक्राउ परे। उनको अध्यक्ष पद निलम्बन भएको छ। अनुसन्धानका लागि विष्ट प्रहरी हिरासतमा छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी लक्ष्मण शाहीका अनुसार उपभोक्ता समितिले दिएको लिखित उजुरीका आधारमा सुरुमा गुरुङ र शाही पक्राउ परेका हुन्। उनीहरुले वडाध्यक्षकै संलग्नतामा रकम लुटपाट गरेको र त्यस मध्येको दुई लाख रुपैयाँ उनलाई दिएको बयान दिए।

‘त्यसपछि मात्रै हामीले अदालतबाट पक्राउ पुर्जी लिएर उनलाई पक्राउ गरेका हौं,’ उनले भने, ‘अहिले बयान भइरहेका छ।’ प्रहरीले विष्टसहित तीन जनालाई डाँका चोरीमा मुद्दा चलाएको छ।

कर्णाली प्रदेशसभाका पूर्व सदस्य दानसिंह परियार र मुगुको छायानाथ रारा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष खेमबहादुर रावलले पूर्वाधार विकास कार्यालय मुगुका प्रमुख इन्जिनियर दत्त बुढथापालाई कुटपिट गरे।

असार २४ गते पूर्वाधार कार्यालय पुगेर परियार र रावलले सांसद विकास कोष अन्तर्गत निर्माण भइरहेका दुई वटा सडक आयोजनाको सबै रकम निकासा गर्न धम्क्याए।

कर्मचारीले नमानेपछि कार्यालय प्रमुख बुढथापालाई उनीहरुले कुटपिट मात्रै गरेनन्, सडकको प्राविधिक स्टिमेट बनाउने कर्मचारीलाई ज्यान मार्ने धम्की पनि दिए। आफूमाथि कुटपिट भएको भन्दै कार्यालय प्रमुख बुढथापाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए। प्रहरीले पूर्व सांसद परियार र वडाध्यक्ष रावलविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलायो।

पूर्वाधार विकास कार्यालय मुगुका प्रमुख बुडथापाका अनुसार संसद् विकास कोष अन्तर्गत सञ्चालित दुई वटा योजनाका लागि छुट्याइएको बजेट पूरै भुक्तानी दिन पूर्व सांसद परियारले दबाब दिएका थिए।

‘प्रक्रिया विपरित आफूले भुक्तानी दिन नसक्ने बताएपछि उहाँ (परियार) र वडाध्यक्ष रावलले कार्यकक्षमै कुटपिट गर्नुभयो,’ उनले भने, ‘प्राविधिकहरुलाई पनि ज्यान मार्ने धम्की दिनुभयो।’

पूर्वाधार विशेष कार्यक्रम अन्तर्गत ४० लाख र ५० लाखका दुई वटा सडक निर्माण भएका थिए। संसद् विकास कोष अन्तर्गतको पूर्वाधार विकास कार्यक्रममार्फत माथिबाटै हुँदै पातीहाल्ना सडकका लागि ४० लाख र खडकधारादेखि रिगामाडुसम्मको सडकका लागि ५० लाख छुट्याइएको थियो।

४० लाखको योजनामा ११ लाख र ५० लाखको योजनामा ३३ लाख बराबरको मात्रै काम भएको छ।

‘कार्यालयबाट नाप जाँच गर्दा ४० लाखको योजनामा ११ लाखको मात्रै काम भएको देखियो, ५० लाखको योजनामा ३२ लाखको हाराहारीमा काम भएको छ,’ उनले भने, ‘जति काम भएको छ, त्यतिनै रकमको फाइल खडा गर्न खोज्दा म माथि आक्रमण भयो।’

दुई पक्षबीच सहमति भएपछि दुवै जना बुधबार हिरासतमुक्त भएका छन्। जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी महेश बस्नेतले दुई पक्षबीच सहमति भएपछि प्रक्रिया पुर्‍याएर आफूहरुले फाइल जिल्ला प्रशासन कार्यालयमा बुझाएको बताए।

‘सहमतिकै आधारमा हामीले फाइलको प्रक्रिया पूरा गर्‍यौं,’ उनले भने, ‘उहाँहरु बुधबार हिरासतमुक्त हुनुभयो।’

असार २० गते हुम्लाको अदानुचुली गाउँपालिकामा दुई जना प्रहरी कुटिए।

अदानचुली गाउँपालिका–३ का डिलबहादुर फँडेरासहितको समूहको कुटपिटबाट प्रहरी जवान जीवन चपाईँ गम्भीर घाइते भए। उनलाई बाजुरा जिल्ला अस्पताल पुर्‍याइयो। त्यहाँ उपचार सम्भव नभएपछि भोलिपल्ट कर्णाली प्रदेश अस्पताल वीरेन्द्रनगर ल्याइयो।

एक साताको उपचारपछि उनी अहिले घरमै स्वास्थ्य लाभ गरिरहेका छन्। आफ्नै संगठनभित्रका प्रहरी जवान कुटिँदा पनि प्रहरी नेतृत्व यो घटना लुकाउन लागिपरेको छ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भिमप्रसाद ढकालले सुरुमा हुम्लामा प्रहरी कुटिएको विषयमा आफूलाई जानकारी नै नभएको बताए। प्रहरी कुटिएको भिडियो प्राप्त भएको बताएपछि बल्ल उनले हुम्लाको दुर्गम क्षेत्रमा घटना भएकाले प्रहरी परिचालन गरिएको बताए। जबकि घटना भएको स्थान गाउँपालिकाको केन्द्रमै हो।

उनले प्रहरीलाई कसले कुट्यो भन्ने विषयमा आफूलाई जानकारी नभए पनि घटनाका बारेमा अनुसन्धान भइरहेको बताए।

‘दुर्गममा घटना भएकाले यो विषयमा मलाई जानकारी छैन,’ डिआइजी ढकालले भने, ‘जसले प्रहरीमाथि कुटपिट गरे पनि कारबाही हुन्छ।’

‘माथिको दबाब’ भन्दै प्रहरीले यो घटनालाई गुपचुप राख्न खोजेको प्रष्ट देखिन्छ। डिआइजीको निर्देशनमा त्यहाँको प्रहरी युनिटका सबैलाई अन्यत्र सरुवा गरिएको छ।‘

हाकीमहरुलाई नेताहरुको दबाब छ भन्ने सुनेका छौं,’ एक प्रहरीले भने, ‘आफ्नै सङ्गठनमाथि जनप्रतिनिधिले गरेको आक्रमणका विषयमा पनि कारबाही नहुँदा मनोबल गिर्दो रहेछ।’

वडाध्यक्ष फडेराले आफूहरु र प्रहरीबीच सामान्य धकेलाधकेल मात्रै भएको दाबी गरे।

‘गाउँपालिका अध्यक्षले एकलौटी गर्न खोजेपछि हामीले विरोध जनाएका थियौं, त्यतिकैमा प्रहरी आइपुग्यो,’ उनले भने, ‘तपाईँहरुले हामीलाई सुरक्षा दिन सक्नु भएन भनेर विवाद हुँदै जाँदा प्रहरीले एक्कासि लाठीचार्ज गर्न खोजेपछि धकेलाधकेल भएको हो।’

उनले घाइते भएका प्रहरीलाई आफूले नचिन्ने तर, उनको दुई पटक पेटको अप्रेसन गरिएकाले सोही ठाउँमा धकेलाधकेल गर्दा लागेकाले धेरै ठुलो घटनाजस्तो देखिएको बताए।

पछिल्लो समय जनप्रतिनिधिहरुनै कुटपिटलगायतका आपराधिक घटनामा जोडिन थालेका छन्। सार्वजनिक नभएका घटनाहरु कर्णालीमा अझ धेरै छन्। मध्यपश्चिम विश्वविद्यालयका उपप्रध्यापक दुर्गा सापकोटा जनप्रतिनिधिहरु पदीय मर्यादामा नरहँदा विभिन्न खाले घटनाहरु बाहिर आउने गरेको बताउँछन्।

‘प्रहरी समक्ष आइपुगेका घटनाबाहेक गुपचुपमै रहेका घटनाहरु धेरै छन्,’ उनले भने, ‘जनप्रतिनिधिहरुले आफ्नो पद र मर्यादाको ख्याल गर्न नसक्दाका परिणामहरु यी घटनाहरु हुन्।’

प्रकाशित: ३१ असार २०८० ०९:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App