१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

जोखिम परेका ६४ घर परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिने

फोटो : स्थानान्तरणका विषयमा छलफल गर्न बसेको सर्वपक्षीय बैठक।

पहिरोका कारण उच्च जोखिममा रहेका ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं ४ ओदकका ६४ घर परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिने भएको छ। स्थानीय तह विपद् व्यवस्थापन समितिको समन्वयमा भएको सर्वपक्षीय बैठकले तत्काललाई वडा नं ३ साँघु स्थित खुला स्थानमा अस्थायी टहरा निर्माण गरी स्थानान्तरण गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिए। 

उनका अनुसार यही साउन ७ गतेबाट स्थानान्तरणको प्रक्रिया सुरु गरिने छ। गत जेठ अन्तिम साता देखि असार ४ गते सम्म आएको बाढी र पहिरोका कारण मैवाखोला गाउँपालिकाको वडा नं ४ ओदक गाउँलाई उच्च जोखिममा पारेको छ। मनसुन सक्रिय हुने क्रम जारी रहेको र जोखिम समेत नघटिसकेको अवस्था मध्यनजर गरी उक्त निर्णयमा पुगेको पालिकाले जनाएको छ। 

यसअघि जिल्ला विपद् व्यवस्थापन समितिले बाढी र पहिरोबाट अत्यधिक प्रभावमा पारेको सिदिङवा र मैवाखोला गाउँपालिकाका उच्च जोखिम क्षेत्रमा रहेका बस्ती स्थानान्तरणका लागि विज्ञ समूहमार्फत अध्ययन गर्ने निष्कर्ष निकालेको थियो। समितिको बैठकले विज्ञ समूहको प्रतिवेदनका आधारमा उच्च जोखिममा रहेका बस्ती तथा घरहरूलाई सुरक्षित स्थानमा स्थानान्तरणका लागि सम्बन्धित निकायमा अनुरोध गर्ने समेत निर्णय गरिसकेको छ। 

प्रकाशित: ३१ असार २०८० ०६:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App