४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

उदयपुरमा एकल महिलाहरुको सुपथ मूल्य पसल

एकल महिला समूहले सञ्चालनमा ल्याएको सुपथ मूल्य पसल।

उदयपुरका एकल महिलाहरुको समूहले सदरमुकाम गाईघाटमा सुपथ मूल्य तथा खाद्यान्न पसल सञ्चालनमा ल्याएका छन्।

जिल्लाका एकल महिलाहरुको आर्थिकोपार्जनमा सघाउ पुर्‍याउने उद्देश्यले कोशी प्रदेश सरकार र त्रियुगा नगरपालिकाको संयुक्त लगानीमा सुपथ मूल्य पसल सञ्चालमा ल्याइएको हो।

त्रियुगा नगरपालिका १३ हवाईफिल्डस्थित कृषि बजार क्षेत्रमा स्थापित पसलका लागि कोशी प्रदेशको सामाजिक विकास मन्त्रालय, त्रियुगा नगरपालिका र एकल महिला समूह उदयपुरको लगानी सहयोग रहेको छ।

एकल महिला सञ्जाल उदयपुरकी अध्यक्ष शोभा दाहालले ७ लाख ३७ हजार ५ सय रुपैयाँ लागत मूल्यको पसलमा खाद्यान्न तथा किरानाका सुपथ मूल्यका सामानहरु बिक्री वितरणका लागि राखिएको बत्ताइन्।

प्रदेश सामाजिक विकास मन्त्रालयले ५ लाख दिएकोमा ३ लाख ५० हजार, त्रियुगा नगरपालिकाबाट २ लाख र एकल महिला समूहको १ लाख ८७ हजार ५ सय बिउँ पुँजी परेको उनले बत्ताइन्। मन्त्रालयले दिएको बाँकी १ लाख ५० हजार भने उद्यमशीलता तालिममा खर्च गरेर उद्यमी उत्पादन गरिएको छ।

शनिबार एक कार्यक्रमका बीच कोशी प्रदेशसभा उपसभामुख सृजना दनुवार, त्रियुगा नगर उपप्रमुख महेश्वरी राई र पूर्व नगर उपप्रमुख देवीकुमारी चौधरीले संयुक्त रुपमा सुपथ मूल्य पसलको उद्घाटन गरे।

उद्घाटन गर्दै उपसभामुख दनुवारले एकल महिलालाई समाजले हेर्ने दृष्टिकोण अहिले पनि नकारात्मक रहेको भन्दै सक्षम र आत्मनिर्भर बन्न यस्ता गतिविधिहरू गर्दै जानुपर्ने बत्ताइन्। एकल महिलाहरू आर्थिकरुपमा मजबुत हुँदै समृद्धिको यात्रामा अघि बढ्न उद्यम व्यवसायमा लाग्न उनको आग्रह थियो।

एकललाई अहिले पनि चुलाचौकामै सीमित राख्ने, केही गर्न नदिने परम्परा र संस्कार रहेको भन्दै उनले त्यसले आर्थिक, सामाजिक र राजनीतिक रुपमा पछि पर्ने भएकाले विक्षिप्त अवस्थामा रहनुभन्दा सिप किसेर उद्यम र व्यवसाय गर्दै सक्षम र आत्मनिर्भर हुन दनुवारले सुझाइन्।

मुलुकमा राजनीतिक परिवर्तन र सामाजिक रूपान्तरणको अभियानमा लाग्ने क्रममा जीवनसाथी गुमाएर समाजबाट अपहेलित अवस्थामा रहेका एकल दिदीबहिनी सुपथ मूल्य पसल सञ्चालन गर्न खोज्नु क्रान्तिकारी कदम भएको भन्दै दनुवारले यो साहस र हिम्मतको उच्च सम्मान गर्नुपर्ने बत्ताइन्।

कार्यक्रममा प्रदेश सांसद गीतादेवी रेग्मी, नगर उपप्रमुख राई, पूर्व उपप्रमुख चौधरी, ११ नं. वडाध्यक्ष सुमन्त कोइराला लगायतले एकल महिला समूहले सुरु गरेको व्यावसायिक कदमको सफलताको कामना गरेका थिए। वक्ताहरुले एकल महिलाको तत्कालीन आवश्यकता आय आर्जन वृद्धि गरेर आर्थिक रुपमा आत्मनिर्भर हुनु नै मुख्य रहेको भन्दै सो कार्यमा नगरपालिका, प्रदेश र संघ गरी तीनै तहका सरकारले सहयोग गर्नुपर्ने माग गरेका थिए।

सुपथ मूल्य पसलकी व्यवस्थापक सानुमैया कार्कीले त्रियुगा नगरपालिका ११ स्थित एकल महिला समूहमा आबद्ध महिलाहरुलाई व्यवसायतर्फ आकर्षण बढाउन विभिन्न कार्यक्रम र गतिविधिहरू गर्दै आएको बत्ताइन्।

एकल महिलाहरुको आर्थिकस्तर सुधार्ने उद्देश्यले तीनैतहका सरकारसँगको साझेदारीमा सुपथ मूल्य पसल खोलिएको भन्दै कार्कीले पसलमा दैनिक उपभोग्य बस्तुहरू बिक्री वितरणका लागि राखिएको बत्ताइन्। कार्कीका अनुसार सुपथ मूल्य पसलमा अन्य पसलको तुलनामा उपभोग्य सामग्री सस्तो र सुलभरुपमा बिक्री वितरण गरिनेछ। खरिद मूल्यको निश्चित प्रतिशत मात्र मुनाफा राखेर उपभोक्तालाई सामान बेच्ने भएकाले पसलमा आकर्षण बढ्ने अपेक्षा गरिएको कार्कीले बत्ताइन्।

पसलको खरिद विक्री कार्यको स्रस्ता कम्प्युटर प्रणालीमा राखिने भएकाले हाललाई पसलमा २ जना कर्मचारी परिचालन गरिएको छ। पसलबाट हुने आम्दानी एकल महिलाकै आयस्तर वृद्धि गर्ने अन्य कार्यमा खर्च गर्ने योजना समूहले बनाएको छ।

प्रदेश सरकारले दिएको ३ लाख ५० हजार बिउँ पुँजी रकम ३ वर्षपछि अर्को वडाका एकल महिलाले गर्ने कामका लागि हस्तान्तरण गर्ने समूहले जनाएको छ। पसल सञ्चालन गरे बापत वडा कार्यलयले ४ वर्षसम्म सटर भाँडा निःशुल्क उपलब्ध गराएको छ। त्यस्तै पसल घेरावार गर्न १ लाख रुपैयाँसमेत सहयोग गरेको वडाध्यक्ष कोइरालाले बताए।

प्रकाशित: ३० असार २०८० १४:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App