३ पुस २०८१ बुधबार
image/svg+xml
समाज

धूमधामका साथ मनाइयो गथांमुगः चह्रे

राक्षस मारेको सम्झनामा शनिबार भक्तपुरमा धूमधामका साथ घण्टाकर्ण चतुर्दशी पर्व मनाइएको छ। प्रत्येक वर्ष मनाइने घण्टाकर्ण पर्वलाई नेपाल भाषामा गथांमुगः चह्रे पर्व भनेर चिन्दछन्।

टोल टोलका दोबाटो, चौबाटोमा नर्कट, गहुँको छ्वाली, पराल, हाँडी, नाङ्लो लगायतले बनाएको राक्षस रुपी गथांमुगको साँझ दाहसंस्कार गरी पर्व मनाइएको हो। यस क्रममा यहाँका टोल टोलमा सयौँ गथांमुगको दाहसंस्कार गरिएको थियो।

गथांमुग बनाउन टोल टोलमा स्थानीय स्तरमा नर्कट, छ्वाली, परालको संकलन गरिएको थियो। संकलित नर्कट, छ्वालीबाट साक्षसरुपी तीनखुटे गथांमुग बनाइएको थियो। साथै घरमा फाल्नुपर्ने पुरानो नाङ्लोमा मुख, नाक, कानलगायतका ज्ञानेन्द्रिय अंग लेखी हाँडीको टाउको दिइएको थियो।

गथांमुग बनाउँदा उसको यौन अंग विशेष झल्कने गरी बनाइएको पाइएको छ। दुई वटा ठूल्ठूला भोगटे अण्डाशयको रुपमा झुण्डाएर त्यसको बिचमा लट्ठीमा परालले घेरेर बनाएको लामो लिंगो राखेर यौन अंग प्रदर्शन हुने गरी गथांमुग बनाइएको पाइएको हो।

टोलवासी मिलेर साँझ टोल टोलमा गथांमुग बनाएपछि त्यसलाई दुईचार जनाले बोकेर दाहसंस्कारका लागि लिएर गएका थिए। सहभागी बाँकीले छ्वालीको राँको बालेर दाहसंस्कारमा सहभागी भएका थिए। यस क्रममा उनीहरुले अश्लील भाका लगाउने चलन छ। टोल टोलमा बनाएको गथांमुगलाई टोलबाट पूर्वमा अवस्थित नजिकैको दोबाटो, चौबाटोमा जलाइन्छ।

संस्कृतिविद् डा. इन्दुल केसीका अनुसार घण्टाकर्ण चतुर्दशीका विषयमा एउटा प्रसिद्ध किम्बदन्ती समेत रहेको छ। उनका अनुुसार परापूर्व कालमा नेपालमा गथांमुग नाम गरेको एउटा नास्तिक थियो, जसलाई सत्य निष्ठामा रहेका मानिस मन पर्दैनथ्यो। सत्य निष्ठामा रहेका मानिसलाई मारिदिन्थ्यो। दोबाटो चौबाटोमा बसेर जे पायो त्यही खाने र बाटो हिँड्ने मानिससित जगात (पैसा) उठाउने यसको नियमित दिनचर्या हुन्थ्यो। पैसा नदिने मानिसलाई मारेर मासु खान्थ्यो, महिलालाई बलात्कार गर्थ्यो र राम्रा जतिलाई श्रीमती बनाउँथ्यो। घण्टाकर्ण राक्षसको यस्ता क्रियाकलापबाट सबै मानिस आतङ्कित थिए।

एक दिन भोकाएर निस्किएका बेला घण्टाकर्णको भेट भ्यागुतोसित भयो। घण्टाकर्णले भ्यागुतोसित मानव बस्ती कता छ भनी सोध्दा घण्टाकर्णको आतङ्कबाट पीडित भ्यागुतोले गहिरिएको हिलो बाटो देखाउँदै त्यतैबाट जान भन्यो।

अलिपर पुग्नासाथ घण्टाकर्ण गहिरो हिलोमा फस्यो। उसले आफ्नो विशालकाय शरीर बाहिर निकाल्न सेकेन। यही मौका छोपेर घण्टाकर्णबाट पीडित सबै मानिस जम्मा भएर ढुङ्गा, मुढा र लाठाले हिर्काएर मारिदिए।

यसरी नरभक्षी राक्षसबाट मानव जातिले मुक्ति पाए। मानवता विरोधी घण्टाकर्ण मारिएको दिन श्रावण कृष्ण चतुर्दशी परेकाले यस दिनलाई घण्टाकर्ण चतुर्दशी पनि भन्न थालिएको उनको भनाई छ।

यो पर्व पर्वमा मात्रै सीमित नभई यससँग वैज्ञानिक कारण पनि जोडिएको छ। रापाईपछि झारका कारण बढ्ने लामखुटे, भुसुनालाई आगो बालेर भगाउने वैज्ञानिक कारण यो पर्वसँग जोडिएको हो। जिउभरि घण्टा झुण्डाएर बस्ने भएकाले उनको नाम घण्टासुर रहेको बताइन्छ।

दाहसंस्कारबाट फर्किदा बाटोमा पर्ने धारा, ढुंगेधारा, कुवा, पोखरी, इनार आदिमा पुगी चोखिने चलन यद्यपि छ। फर्केपछि दाहसंस्कारमा सहभागी फर्केर आआफ्नो घरमा छ्वाली बालेर धुवाले घरलाई सेक्ने चलन छ।

साथै आआफ्नो घरको ढोकामा किला ठोक्ने पनि गरेर सम्हे बजी (भोज) खाने चलन छ। पर्वका दिन बिहानै स्नान गरी घरलाई सफा सुग्घर गर्ने प्रचलन अहिले पनि छ।

प्रकाशित: ३० असार २०८० १४:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App