२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मान्छे र पशुलाई किराकै त्रास

मान्छेमा डेंगी, पशुमा लम्पी स्किन

यति बेला मानव र पशुचौपायालाई किराबाट सर्ने रोगबाट सर्वत्र त्रास छ। मान्छेलाई लामखुट्टे र पशुचौपायालाई झिँगा र लामखुट्टेले हैरान पारेको छ। लामखुट्टेले अहिले मान्छेमा डेंगी संक्रमण फैलाइरहेको छ भने लामखुट्ने र झिँगाले सारेर पशुचौपायामा लम्पी स्किनको संक्रमण बढ्दो छ।

पशुचौपायामा देखिएको लम्पी स्किन रोगले यो बेला सबैतिर भयावह रूप लिइरहेको छ। गण्डकी प्रदेशका सबै (११ वटै) जिल्लामा पशुमा यो रोग देखिएको छ। पछिल्लो समय हिमालपारिको जिल्ला मनाङमा पनि पशुमा यो रोग पुष्टि भइसकेको छ। पशु चिकित्सकका अनुसार लामखुट्टे, झिँगा, किर्नाको टोकाइबाट यो रोग एक अर्का पशुमा सर्छ । त्यस्तै संक्रमित पशुको लसपसबाट पनि यो रोग सर्ने गर्छ।

यो पटक पनि गण्डकी प्रदेशका विभिन्न जिल्लामा डेंगी संक्रमण सुरु भएको छ । प्रदेशका कास्की, म्याग्दी, लमजुङ, तनहुँ, नवलपुर लगायतका जिल्लामा डेंगीका बिरामी फेला परिसकेका छन्। डेंगी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। अघिल्लो वर्ष डेंगीले कास्की लगायतका जिल्लामा निकै नै सताएको थियो।

स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बद्री आचार्यका अनुसार यो वर्ष डेंगी संक्रमण बढिरहेको छ। कास्कीमा अहिलेसम्म ८२ जनामा डेंगीको संक्रमण देखिइसकेको छ। ‘लामखुट्टेले यो वर्ष पनि सताउने संकेत देखिएको छ। यो पटक किराकै कारण मानव जीवनमा त्रास थपेको छ,’ आचार्यले भने, ‘अघिल्ला वर्ष पनि लामखुट्टेले डेंगी संक्रमण फैलाउँदा निकै नै समस्या परेको थियो । यो पटक पनि उस्तै त्रास छ।’ चिकित्सकका अनुसार एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा डेंगी सर्छ। यो लामखुट्टेले दिउँसोको समयमा मात्र टोक्छ।

सर्वसाधारणलाई डेंगीलाई जोगाउने एक मात्र उपाय नै लामखुट्टेको लार्भाको ‘सर्च र डिस्ट्रोय’ नै रहेको उनले बताए। घरघरमा सफा पानी जमेको छ भने त्यो ठाउँमा डेंगी फैलाउने लामखुट्टे वृद्धि हुने भएकोले पनि घर र स्कुल क्षेत्रमा सचेत हुनुपर्ने उनले बताए । लामखुट्टेको लार्भाको सर्च र डिस्ट्रोय नै संक्रमण कमजोर बनाउने बलियो उपाय रहेको उनले बताए। ‘समुदाय नै सचेत भएर त्यसमा लाग्ने हो भने यो रोग सर्नबाट बच्न सकिन्छ,’ उनले भने, ‘रोगको लहर कतिखेर आउने भन्ने यकिन हुँदैन। त्यसैले लामखुट्टे र त्यसको लार्भा नष्ट गर्नु नै सबैभन्दा बलियो विकल्प हो।’

पानी जम्ने, गमला, टायर, कौसी, भाँडाकुँडा, गाडी पार्किङ बढी हुने भएकोले सहरमा डेंगी फैलाउने लामखुट्टेको फैलावट बढी हुने उनले बताए। ‘डेंगीको संक्रमण सहरमा बढी छ । पोखरा महानगर त्यसबाट जोगिन सक्दैन। त्यसैले महानगरका वडा स्तरमा सचेतनामूलक कार्यक्रम गर्ने तयारी छ,’ आचार्यले भने, ‘विद्यालयमै पुगेर सचेतनामूलक कार्यक्रम गर्ने योजना बनेको छ।’

पानी परिरहेकोले अबको बेला झनै संक्रमण बढ्न सक्ने जोखिम रहेको उनले बताए। ‘पानी परे पनि जम्न नदिने र वातावरण सफा राख्ने हो भने फैलिन पाउँदैन। लगातार सात दिनसम्म पानी जम्यो भने यो रोग फैलाउने लामखुट्टे फैलिन सक्छ । पानी नै जम्न नदिने हो भने नागरिक सुरक्षित हुनेछन्,’ उनले भने।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार यो वर्ष कास्कीमा सबैभन्दा बढी ८२, म्याग्दीमा ४५, लम्जुङमा २५, तनहुँ र नवलपुरमा ११–११ जनामा यो संक्रमण पुष्टि भइसकेको छ। गत वर्ष गण्डकी प्रदेशका कास्कीमा सबैभन्दा बढी ७०२ जनामा डेंगी संक्रमण देखिएको थियो। त्यसपछि तनहुँमा ४८४, गोरखामा २८१, पर्वतमा २७७ र स्याङ्जामा १७८ जनामा यो संक्रमण देखिएको थियो। पोहोर सेप्टेम्बरमा सबैभन्दा बढी बिरामी फेला परेका थिए। अघिल्लो वर्ष राजधानी काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, दाङ, लगायतका जिल्लामा डेंगीले सताएको थियो।

चार वर्ष अघि डेंगीले पोखरा क्षेत्रमा हायलकायल पारेको थियो। डेंगी नियन्त्रणका लागि त्यो बेला यहाँ निकै नै ठुलै मेहनत गर्नुपरेको थियो। त्यो वर्ष पोखरामा मात्र करिब २ हजार जनामा यो संक्रमण भएको थियो। चार वर्ष अघि पोखरामा डेंगी फैलिँदा यहाँ व्यापक रुपमा ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान चलाइएको थियो।

मान्छेमा लामखुट्टेको त्रास रहेजस्तै पशुमा पनि अहिले झिँगा र लामखुट्टेकै त्रास छ। झिँगा, लामखुट्टे जस्ता किराले एक अर्कालाई टोकेर लम्पी स्किन रोग सार्दा हजारौं पशु बिरामी परेका छन् भने केहीको मृत्यु समेत भइसकेको छ।

गण्डकी प्रदेशको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका सूचना अधिकारी डा. राजेश चौधरीले पनि पछिल्लो समय सबैतिर लम्पी स्किन रोगले हायलकायल पारेको बताए। उनका अनुसार पशुचौपामा झिँगा, लामखुट्टेले रोगको त्रास बढ्दो छ। हिमाली जिल्लासम्म रोग बोकेका झिँगा, लामखुट्टे उक्लेको उनले बताए।

बिरामी पशुलाई टोकेका झिँगा वा लामखुट्टेले स्वस्थ पशुलाई टोकेपछि यो रोग फैलिन सघाएको उनले बताए। यो बेला पशुमा देखिएको लम्पी स्किन रोगले धमाधम गाई गोरुको ज्यान गइरहेको छ। चौधरीका अनुसार प्रदेशभर अहिलेसम्म करिब ५० हजार पशु लम्पी स्किनबाट बिरामी परेका छन्। ती मध्ये करिब १६ सय पशु मरिसकेका छन्।

‘किराकै कारण अहिले त्रास छाएको हो। झिँगा र लामखुट्टेले टोकेरै एउटा पशुबाट अर्कोमा रोग सर्छ,’ उनले भने, ‘अहिले प्रदेशमा मात्र नभई सबैतिर यो रोगले पशु मरेका छन्। किराकै टोकाईले एक अर्का पशुमा रोग सरिरहेको छ।’ उनका अनुसार अझै पनि १८ हजार २ सय ८७ गोरु, २० हजार ४ सय ३८ गाई र १७ सय राँगा भैंसी बिराम छन्। गत वैशाखदेखि पशुमा यो रोग देखिन थालेकोमा असारको यो बेला झनै प्रकोप फैलिएको सूचना अधिकारी चौधरीले बताए।

निर्देशनालयका सूचना अधिकारी चौधरीका अनुसार यो रोग लागेपछि पशुलाई उच्च ज्वरो आउँछ। शरीरका टाउकोदेखि पुच्छरसम्म छालामा गिर्खा देखिनछन्। गिर्खा फुटेर घाउ नै बन्छ। बेलैमा उपचार नपाए पशुको मृत्यु नै हुन्छ। पशु चिकित्सकका अनुसार पशुमा देखिएको यो एक प्रकारको भाइरस हो। जुन सरुवा रोग हो। यो रोग भैँसी भन्दा पनि गाईगोरुमा बढी देखिन्छ।

प्रकाशित: ३० असार २०८० १०:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App