२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

वर्षाका कारण मोरङका विभिन्न स्थान जलमग्न,बाढीले बस्ती जोखिममा

अविरल वर्षापछि आएको बाढीले खोला छेउछाउका बस्तीहरू जोखिममा परेका छन् । मोरङको विभिन्न खोलामा आएको बाढीले दर्जनौँ बस्तीहरू जोखिममा परेका छन्।

बक्राह, सिंघिया, केसलिया, लोहन्द्रा लगायतका खोलामा आएको बाढीले नदी किनाराका ३८ परिवार विस्थापित भएको मोरङ प्रहरीले जनाएको छ । विशेष गरी नदी किनारका सुकुम्वासीहरू बाढीको उच्च जोखिममा परेका छन् । अविरल वर्षाका कारण विराटनगर महानगरपालिका लगायत मोरङका विभिन्न स्थान जलमग्न भएको छ। 

हालसम्म जहदा गाउँपालिका–३ भाथीगन्जमा बाढीले ३ वटा घर बगाएको छ। विराटनगर–८ मा रहेको सिंघिया खोलाले कटान गर्दा २ वटा घर उच्च जोखिम रहेको छ । त्यस घरका मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ । कटहरी–१ जमटोकीको स्थिति सिंघिया खोला किनारमा घर भएकाहरू बाढी आएपछि नारी विकास संघको भवनमा सरेका छन् । 

बाढी एवं डुबानग्रस्त क्षेत्रमा उद्धारका लागि सुरक्षा सक्रियता बढाइएको छ । डुबान एवं कटानबाट क्षति हुने सम्भावित स्थानको पहिचान गरेर नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । उनले भएका साधन स्रोतलाई चेकजाँच गरेर तयारी अवस्था राखिएको बताए । 

विगतमा बाढीले क्षति पुर्‍याएका र अब बाढीबाट क्षति पुग्न सक्ने सम्भावित स्थानको पहिचान गरी त्यसको रोकथामका लागि प्रहरी परिचालन गरिएको छ । जिल्लाका कतिपय स्थानमा पानीको सतह घटेसँगै केही विस्थापित परिवारहरू आफ्नै घर फर्किएको डिएसपी दाहालले बताए । स्थलगत रुपमा सबै स्थानमा प्रहरी परिचालन गरी घण्टा घण्टाको जानकारी लिने काम भइरहेको उनले बताए । ठाउँ ठाउँमा परिचालन गरिएका सुरक्षाकर्मीले सबैलाई सचेत रहन आग्रह गर्दै जोखिममा परेका सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्ने काम गरिरहेको डिएसपी दाहालले बताएका छन् । 

प्रकाशित: २९ असार २०८० १३:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App