१४ पुस २०८२ सोमबार
image/svg+xml
समाज

लम्पी स्किन रोग नियन्त्रणको माग गर्दै पशु किसानहरु धर्नामा

सरकारसँग लम्पी स्किन रोगको महामारीमा क्षति भएका पशुचौपायहरुको उचित क्षतिपूर्तिसहितको ६ बूँदे माग राख्दै आएका पीडित किसानहरुले धर्ना समेत दिन थालेका छन्।

बुधबार ललितपुरको हरिहरभवनस्थित पशु सेवा विभाग परिसरमा पुगेर उनीहरुले आफूहरुको माग सम्बोधन गर्न दबाब स्वरूप एक घण्टा धर्ना दिएका हुन। यो रोग तत्काल नियन्त्रण गर्न र पीडित किसानलाई तत्काल राहतको व्यवस्था गर्न आफूहरुले सरकारलाई बाध्य बनाउने गरी आन्दोलनको कार्यक्रम सुरु गर्नु परेको अखिल नेपाल किसान महासंघकी उपमहासचिव सरिता भुसालले बताइन्।

उनले पशुपालक किसानहरुले लिएको कर्जा पनि सरकारले मिनाहा गर्नुपर्ने बताइन्।

उनले भनिन्, ‘तुरुन्त यो रोगको नियन्त्रण गर्नुपर्‍यो। र, पशुपालक किसानहरुलाई राहत दिनु पर्‍यो। विस्थापित हुन लागेका किसानहरुलाई पुनर्स्थापना गर्नु पर्‍यो। जुन कर्जा लिएर गरिराख्नु भएको छ। उहाँहरुलाई कर्जा मिनाहा गर्नु पर्‍यो। पर्याप्त मात्रामा भ्याक्सिनको व्यवस्था गर्नु पर्‍यो। र, प्राविधिक चाहिँ किसानका घरघरमा पुग्नु पर्‍यो। पशु व्यवसाय गरिरहेका किसानलाई सुलभ कर्जाको व्यवस्था सरकारले उपलब्ध गराउनु पर्छ भन्ने लगायत मागहरु राखेर हामी आन्दोलनमा उत्रिरहेका छौं। ’

पीडित किसानहरुले पशु आफूहरुका लागि बिमाको भुक्तानी गर्न पनि सरकारले ढिलाई गर्न नहुने बताएका छन्। लम्पी स्किन महामारीका कारण विस्थापित किसानहरुको पुनर्स्थापना र उनीहरुका लागि बिमाको भुक्तानी गर्न पनि सरकारसँग माग गरिएको अखिल नेपाल किसान महासंघ, काठमाडौंका इन्चार्ज पुस्कर प्याकुरेलले बताए।

उनले सो रोग नियन्त्रणका लागि पर्याप्त भ्याक्सिनको व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराएका छन्।

प्याकुरेल भन्छन्, ‘ग्रामीण क्षेत्रका किसानहरु यति बेला पूरै आहात भएका छन्। ७० प्रतिशत भन्दा बढी पशु चौपायहरुलाई चाहिँ लम्पीस्किनको कारण मरिसकेको छ। त्यसका निम्ति पशुको बिमा पनि क्लेम गर्न नसक्ने अवस्था देखिएको छ। र, पशु चौपायहरुको बिमाको पनि हामीले क्लेम गरिराखेका छौं। छिट्टै यो महामारी रोग नियन्त्रणका निम्ति भ्याक्सिनको माग हामीले गरिराखेका छौं। पशुको औषधि उपचारका कुरा, विमाका कुरा र पशुपालक किसानहरुको विस्थापित हुने अवस्था छ। त्यसलाई पनि निरुपण गर्ने हिसाबले राज्यले सोचोस् भन्ने ढंगले हामीले यो महामारी विरुद्ध किसान सञ्जालको आयोजनामा हामीले धर्ना कार्यक्रम राखेका हौं।’

राष्ट्रिय किसान सञ्जालको नेतृत्वमा आह्वान गरिएको धर्नामा लम्पी स्किन रोगको महामारी नियन्त्रण गरी पीडित किसानलाई राहतको घोषणा गर, लम्पी स्किन रोगको महामारीबाट मरेका पशुहरुको वास्तविक लागत संकलन गरियोस्,  पशुहरुमा लागेको लम्पी स्किन रोगको महामारी नियन्त्रणका लागि पर्याप्त भ्याक्सिनको व्यवस्था गरियोस् , महामारीबाट क्षति भएका पशुहरुको किसानलाई राहत र क्षतिपूर्ति दिइयोस्, लम्पी स्किन रोगको महामारीबाट मरेका पशुहरुको वास्तविक लागत संकलन गरियोस् भन्ने लेखिएको प्ले कार्डहरु पनि प्रदर्शन गरिएको थियो।

प्रकाशित: २७ असार २०८० ०८:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App