८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

लागुऔषध सेवन गर्ने चालकमाथि निगरानी

कोसी प्रदेशमा दुर्घटनाका शृंखला बढिरहेका बेला मानवीय कारणमध्ये लागुऔषध सेवन पनि एउटा कारक भएको पत्ता लागेपछि अबदेखि निगरानी गरेर कारबाही गरिने भएको छ। मदिरा सेवन गरेर दुर्घटना बढिरहेको केही वर्ष अघिदेखिको तथ्यांकलाई केलाएर थप गहिरिएर अनुसन्धान गर्दा लागुऔषधतर्फ निगरानी बढाइएको हो।

ट्राफिक सप्ताह कार्यक्रमअन्तर्गत आइतबार छैटौं दिन इटहरीमा केही शंकास्पद सवारी चालकलाई नियन्त्रणमा लिएर लागुऔषध सेवन गरे–नगरेको चेक गर्दा एक जनाले सेवन गरेको पाइयो।

कोसी प्रदेशस्तरीय नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीले पिसाबमार्फत चेक गर्दा धरान–काँकडभिट्टा चल्ने प्रदेश १–००१–९२६२ नम्बरको यात्रुबाहक बसका चालक मोरङ उर्लाबारी वडा नं. ४ घर भएका ३५ वर्षे खड्ग भुजेलले लागुऔषध सेवन गरेको पाइएको हो।

‘तीन जना शंकास्पद चालकलाई नियन्त्रणमा लिएर किड्समार्फत पिसाब चेक गर्दा एक जनाले लागुऔषध सेवन गरेको पाइयो,’ ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राकेश रेग्मीले भने। उनका अनुसार किड्स मार्फत पिसाब चेक गरिएका चालकको थप अस्पताल लगेर पनि आवश्यक परीक्षण गर्ने गरी कारबाहीका लागि इलाका प्रहरी कार्यालय इटहरीलाई जिम्मा लगाइएको छ।

ट्राफिक प्रहरीले शंकास्पद लागेर लागुऔषध सेवन गर्ने गरेको पत्ता लागेको सवारी चालकलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कारबाही गरिने इलाका प्रहरी कार्यालय, इटहरीका डिएसपी माधव काफ्लेले बताए।

प्रकाशित: २५ असार २०८० ०३:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App