२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

विराटनगर विमानस्थलले महानगरलाई कर नबुझाउने

नेपाल नागरिक उड्डयन प्राधिकरण विराटनगर (विराटनगर विमानस्थल) ले महानगरपालिकालाई कर नबुझाउने भएको छ। स्थानीय स्वायत्त शासन ऐनमा स्थानीय सरकारलाई विमानस्थलले कर बुझाउनु नपर्ने व्यवस्था भएकाले महानगरलाई कुनै पनि कर नबुझाउने नागरिक उड्डयन प्राधिकरणका प्रमुख रिन्जी शेर्पाले बताए।

कानुनमै स्थानीय सरकारलाई कर तिर्नु पर्ने व्यवस्था नभएकाले विमानस्थलले कुनै पनि कर महानगरलाई नबुझाउने शेर्पाले स्पष्ट पारे।

‘यो संस्था केन्द्रीकृत भएकाले सम्पूर्ण कर बुझाउनेदेखि लिएर सबै प्रकारका काम कारबाही केन्द्रले नै गर्ने भएको हुँदा यहाँ हामीले कसैलाई कर तिर्नु वा बुझाउनु पर्दैन,’ शेर्पाले भने। देशभरका कुनै पनि विमानस्थले स्थानीय सरकारलाई कर बुझाउँदैन र बुझाउनु पनि पर्दैन।

प्राधिकरणको सम्पूर्ण कारोबारको हरहिसाबको अडिट महालेखाले गर्ने गर्छ। महालेखाले अडिट गर्दा प्राधिकरणले कर नतिरे वा नबुझाएको देख्छ र तिर्न लगाउने भएको हुँदा कर तिर्नु पर्ने हुन्छ। 

विमानस्थल प्रमुख शेर्पाले भने, ‘देशभरका सबै विमानस्थलको आय केन्द्रीय कार्यालयमै जम्मा हुन्छ। केन्द्रले ठूलो करदाताका रुपमा आन्तरिक राजश्व कार्यालयमा सबै स्थानको कर बुझाउने गरेको छ। बहालमा लिएका ठेकेदार आफैं कर बुझाउने र कसैले कर नबुझाए विमानस्थललाई तिर्नु पर्ने रकममै करको पनि जम्मा गरिदिने गरेको हुँदा उनीहरुको कर पनि विमानस्थलले नै बुझाइदिन्छ।’

सरकारले विमानस्थलको कर सम्बन्धित स्थानीय सरकारलाई बुझाउने भनेर निर्णय गरी प्राधिकरणमार्फत निर्देशन आए स्थानीय सरकारलाई कर बुझाउन आफूहरू तयार रहेको उनले बताए।

विमानस्थल प्रमुख शेर्पाले भने, ‘बहाल, सम्पत्ति करहरु बुझाएपछि मात्रै नक्सा पास गरिदिने भन्ने हुँदा भवनको नक्सा पास अड्किएको छ। टर्मिनल भवनको आयोजना केन्द्रीय भएको हुँदा यहाँ आएको समस्याको जानकारी गराइसकेका छौं। उहाँहरुले यस विषयमा आवश्यक प्रक्रिया अघि बढाउनु हुन्छ।’

विमानस्थलको फोहोर महानगरले नउठाएपछि छलफलका लागि गएको बताउँदै, विमानस्थल प्रमुख शेर्पाले भने, ‘फोहोर नउठाए वातावरण प्रदूषण हुने, चराचुरुङ्गीलगायतले गर्दा हवाई सेवा प्रभावित हुने हुँदा फोहोर उठाइ दिनका लागि आग्रह गर्न गएका थियौँ।’

विराटनगर महानगरपालिकाले भवनको नक्सा पास गर्न, बहाल कर तिर्न, सम्पत्ति करलगायत विभिन्न किसिमका कर तिर्न ताकेता गर्दै आएको छ।

महानगरपालिकाले कर तिर्न आनाकानी गरेको भन्दै विमानस्थलको फोहोरसमेत उठाउन छाडेको थियो। विमानस्थलको फोहोर नउठेपछि शुक्रबार विमानस्थल र महानगरबीच छलफल भएको थियो। छलफलपछि महानगरले विमानस्थलको फोहोर उठाउन थालेको छ।

विमानस्थल कर तिर्ने सहमत भएपछि फोहोर उठाउन थालेको महानगरपालिकाले बताएको छ। महानगरपालिकाका राजश्व महाशाखा प्रमुख सरोज गौतमले विमानस्थलका प्रमुखसहितको टोलीसँग भएको छलफलमा साउनभित्र सम्पूर्ण भवनको नक्सा पास गर्ने, व्यवसाय र बहाल करलगायत महानगरलाई बुझाउनु पर्ने सम्पूर्ण कर बुझाउने समय सीमा विमानस्थलले मागेको बताए।

गौतमले भने, ‘उनीहरुले कर बुझाउने र नक्सा पास गर्ने १ महिनाको समय सीमा मागेका छन्। महानगरले उनीहरुको मागलाई स्वीकार गर्दै १ महिनाको समय दिएको छ। त्यस समयमा पनि नक्सा पास नगर्ने र तिर्नुपर्ने कर नतिरे फोहोर नउठाउनुको साथै निर्माणाधीन टर्मिनल भवनमा सामान लाने सडकसमेत महानगरले बन्द गरिदिने छ।’

यस अघि विमानस्थलले बुझाउनु पर्ने कुनै पनि किसिमका कर नतिरेको भन्दै महानगरपालिकाले असार २० गतेदेखि विमानस्थलको फोहोर नउठाउने निर्णय गरेको थियो। बुधबार देखि फोहोर उठाउन छाडेपछि विराटनगर विमानस्थलका प्रमुख रिन्जी शेर्पासहितको टोलीले महानगरपालिकाका प्रमुख नागेश कोइरालालाई भेटेर विमानस्थलले बुझाउनु पर्ने विभिन्न किसिमका सम्पूर्ण कर र नक्सा पास नभएका भवनहरुको नक्सा पास गर्ने प्रतिबद्धता जनाएपछि फोहोर उठाउन थालेको महानगरले जनाएको छ।

राजश्व महाशाखा प्रमुख गौतमका अनुसार विराटनगरमा स्थापना भएदेखि नै अधिकांश संस्थानहरु करको दायरमा आएका छैनन्। त्यस्ता संस्थानहरुलाई बारम्बार करको दायरमा आएर कर बुझाउन पत्राचार गर्दा पनि बेवास्ता गर्दै आएका छन्। त्यस्ता संस्थानहरुको सूचि तयार पारेर कारबाहीको प्रक्रिया अघि बढी सकेको छ।

विराटनगर विमानस्थलसँगै अन्य संस्थानहरुले सम्पत्ति कर, बहाल कर र घर नक्सा पास नगरेको पाइएको छ। विमानस्थलले स्थापना कालदेखि नै कर बुझाएको छैन। महानगरपालिकाले विमानस्थल प्रशासनलाई पटक–पटक सम्पत्ति कर, बहाल कर बुझाउन र निर्माणाधीन नयाँ टर्मिनल भवनका साथै पुराना संरचनाको पनि नक्सा पास नभएकाले नक्सा पास गर्न पत्राचार गरेको थियो।

विमानस्थलमा २ अर्ब ४२ करोड लागतमा १६ हजार २ सय ७७ वर्ग मिटरको नयाँ टर्मिनल भवन निर्माणाधीन अवस्थामा छ।

प्रकाशित: २४ असार २०८० १२:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App