१८ असार २०८१ मंगलबार
image/svg+xml
समाज

कुरिलो खेतीमा जुट्दै सिन्धुलीका किसान

सिन्धुलीको कमलामाई नगरपालिका २ कुसुमटार स्थित एक महिलाले लगाएको कुरिलो। तस्विर अनिल भण्डारी, नागरिक

पछिल्लो समय कम मिहिनेतमा बर्षौसम्म आम्दानी लिन सकिने भएपछि सिन्धुलीका किसान कुरिलो खेती तर्फ आकर्षित भएका छन । समुद्रि सतहदेखि २२ मिटरसम्ममा कुरिलो खेती गर्न सकिन्छ। सिन्धुलीमा व्यवसायीक रुपमा यसको खेती कमै भएको छ। पछिल्लो समय शहरी क्षेत्रमा कुरिलोको माग बढ्न थालेसँगै किसानहरु कुरिलो खेती तर्फ आकर्षित भएका हुन्।  

एक पटक लगाइसकेपछि झन्डै पन्ध्र बर्ष सम्म उत्पादनशिल रहने र लगाइरहन नपर्ने भएकाले खेती सहज हुने र आम्दानी राम्रो हुने भएकाले कुरिलो खेती रोजाईमा पर्न थालेको हो। जिल्लास्थित विभिन्न संघसंस्थाको सहयोगमा कमलामाई नगरपालिका २ कुसुमटार र कमलामाई नगरपालिका ४ ज्यामिरेका किसानहरु कुरिलो खेती तर्फ आकर्षित भएका छन्। वल्र्ड नेवर्सको आर्थिक सहयोगमा जिल्लाको कमलामाई नगरपालिका वडा नम्बर २ र ४ का किसानले कुरिलो खेती गर्न थालेका हुन्। गैरसरकारी संघसंस्थाको प्राविधिक सहयोग पाएपछि किसानहरु कुरिलो खेती गर्न जुटेका छन्। कमलामाई नगरपालिका २ कुसुमटारकी ग्याप्चिमाया थिङ व्यवसायीक रुपमा कुरिलो खेतीलाई विस्तार गर्ने योजना बनाएको सुनाउछिन्। कुरिलो व्यवसायीक रुपमा खेती गर्ने सोच बनाएको छु, तर बजारको अवस्था के हुन्छ भन्नेमा चिन्ता छ उनले भनिन्। उनले अहिले उत्पादन भएको कुरिलो गाँउमै दुई सय रुपैया पाउँ मा बेच्दै आएको बताइन्। समुह सहकारीमा राख्न र घर खर्च चलाउन सहज भएको छ, उनले नागरिकसँग भनिन् हामी कुरिलो खेतीलाई अझै विस्तार गर्छौ। कुरिलो खेती गर्दै आएपनि उपभोक्ताहरुलाई कुरिलोको महत्व अझै बुझाउन जरुरी रहेको खेतीमा संलग्न रहेकी शान्ता वि.क को भनाई छ। यो पौष्टिक तरकारी हो भनेर बुझाएपछि केहि उपभोक्ताले खरिद गर्ने गरेका छन्, यसको महत्व अझै बुझाउनु जरुरी देखियो उनले भनिन्।  

कुरिलो सुप तथा तरकारीका रुपमा प्रयोग गर्न सकिने कृषि ज्ञान केन्द्र सिन्धुलीले जनाएको छ। कुरिलोबाट प्रस्तस्त मात्रामा पौष्टिक तत्व प्राप्त हुने हुँदा यसको प्रयोग गर्नु उचित मानिन्छ, कृषि ज्ञान केन्द्र सिन्धुलीका बागबानी विकास अधिकृत श्रीकृष्ण अधिकारीले भने,कुरिलोलाई चिल्लो पदार्थ विहिन,कोलस्टोल र सोडियम तत्व रहित शक्तिदायक भिटामिन ए तथा सि प्रसस्त मात्रामा भएको उपयोगी खाद्य पदार्थको रुपमा लिन सकिन्छ। सिन्धुली जिल्लाका सबैजसो ठाँउमा कुरिलो खेतीको संम्भावना रहेको अधिकारीको भनाई छ।  

भौगोलिक हिसाबले कुरिलो खेती गर्न सिन्धुलीमा प्रचुर सम्भावना छ तर व्यवसायीक रुपमा कुरिलोको खेती विस्तार हालसम्म नभएको कृषि ज्ञान केन्द्रले जनाएको छ। विशेष गरि शहरी क्षेत्रमा यसको माग बढिरहेपनि व्यवसायीक रुपमा कुरिलो खेतीको विस्तार हुन सकेको छैन।  

कुरिलो न्यानो हावापानी भएको स्थानमा राम्रो हुने कृषकहरु बताउछन्। नेपालको मध्यपहाडी भागमा यसको खेती राम्ररी गर्न सकिने भएकाले सिन्धुलीका धेरै भुभाग यसका लागि उपयुक्त रहेको कृषि ज्ञान केन्द्रका प्रमुख सुजन अंगाईले जानकारी दिए। कम मिहिनेतमा बर्षौसम्म आम्दानी लिन सकिने भएकाले कुरिलो खेती तर्फ किसान लाग्नुपर्ने कृषि विज्ञहरुको भनाई छ। 

प्रकाशित: २३ असार २०८० ०४:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App