ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ मा तीन सातादेखि मोबाइल सेवा अवरुद्ध हुँदा सञ्चारसेवा प्रभावित भएको छ।
गाउँपालिका केन्द्र तापेथोक, साघु, फेम्बु, लेलेप हेल्लोकलगायत क्षेत्रमा सञ्चारसेवा अवरुद्ध भएको हो।
मोबाइल सेवा बन्द हुँदा सूचना आदन–प्रदान ठप्प भएको स्थानीय रोशन लिम्बूले बताए। 'अहिले बाढीपहिरोको गइरहेको छ, यस्तो अवस्थामा नेटवर्क नहुँदा सञ्चार सेवा नचल्दा समस्या भएको छ', उनले भने। उनका अनुसार गाउँमा सञ्चार सेवा अवरुद्ध भएको तीन साता भइसकेको छ। 'साँझ बिहान पानी परिहेको छ। बाढी पहिराले कहाँ, कति क्षति गर्यो, कहाँ–कहाँ जोखिम बस्ती रहेको छ भन्ने विषयमा सूचना समेत पाउन नसकेको अवस्था छ', उनले भने।
फक्ताङलुङ गाउँपालिकामा बाहेक अन्यत्रका टावर भने सञ्चालनमै रहेको नेपाल दूरसञ्चार कार्यालय ताप्लेजुङका सूचना अधिकारी सुदीपकुमार महतोले बताए। 'ताप्लेजुङका टावर सबै राम्रो अवस्थामा छन्। फक्ताङलुङको मुरिङलामा रहेको टावरमा मात्रै समस्या देखिएको हो, टावरमा देखिएको समस्या समाधानका इलाम कार्यालयबाट प्राविधिक टोली आउनुपर्ने हुन्छ', उनले भने। उनका अनुसार पाँचथरको हेवाखोलामा पुल निर्माण भएपछि इलामबाट प्राविधिक आउने जानकारी प्राप्त भएको छ।
प्रकाशित: २२ असार २०८० ०९:२२ शुक्रबार