१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

मनसुनजन्य विपद् व्यवस्थापनको सबैखाले तयारी गरिएको छ: उपप्रधानमन्त्री श्रेष्ठ

फाइल तस्बिर

सरकारले मनसुनजन्य विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि आवश्यक तयारी गरेको जनाएको छ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद्को सम्भावित जोखिम व्यवस्थापनका लागि सरकारले सबैखाले तयारी गरिरहेको र आवश्यक संयन्त्र पनि तम्तयार अवस्थामा रहेको बताए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित कार्गो भवन परिसरमा रहेको मानवीय सहायतास्थलको निरीक्षण गर्दै उनले विपद् व्यवस्थापनका लागि विगतका वर्षभन्दा यो पटक राम्रो तयारी गरिएको उल्लेख गरे।

उपप्रधानमन्त्री श्रेष्ठले भने, 'विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका निम्ति पहिलाका अनुभवबाट शिक्षा लिँदै हाम्रो देश विपद् जोखिमग्रस्त मुलुक हो भन्ने कुरालाई हृदयङ्गम गर्दै आवश्यक तयारीका काम गरिरहेका छौँ, त्यसमध्ये यो पनि एउटा हो।'

उनले विपद् जोखिम न्यूनीकरणका लागि सम्भावित बाढी पहिरोबाट सकेसम्म नबिग्रिने गरी भौतिक संरचना बनाउनुपर्ने र विपद् भइहालेको खण्डमा त्यसलाई व्यवस्थापन सहज हुने गरी संरचना निर्माण गरिनुपर्नेमा जोड दिए।  

'विपद्को जोखिमलाई न्यूनीकरण बनाउने हाम्रो निरन्तर प्रयास छ। नेपालको भौगोलिक स्वरूप, जलवायु परिवर्तनको जोखिमलगायतबाट हुनसक्ने विपद्को जोखिम न्यूनीकरण र विपद् भइहालेमा छिटो व्यवस्थापनका लागि हामीले पहिलाभन्दा यसलाई धेरै प्रभावकारी बनाएका छौँ', उनले भने।

उपप्रधानमन्त्री श्रेष्ठले सरकारले गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअन्तर्गत विभिन्न योजना बनाएर त्यसको तयारीका काम गरिरहेको जानकारी दिए। उनका अनुसार देशका ११ वटा स्थलमा मानवीय सहायतास्थल बनाएर तयारीका काम गरिएको छ।  

प्रकाशित: २० असार २०८० १२:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App