१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

विमानस्थलको फोहोर बुधबारदेखि महानगरले नउठाउने

विमानस्थलको फोहोर विराटनगर महानगरपालिकाले नउठाउने निर्णय गरेको छ। कर नतिरेको भन्दै महानगरपालिकाले बुधबारदेखि विमानस्थलको फोहोर नउठाउने निर्णय गरेको हो।

करका दायरमा नआएका महानगरपालिकाभित्रका संस्थानहरुलाई करको दायरमा आएर कर बुझाउन पत्राचार गरिसकेको छ। 

महानगरलाई बुझाउनु पर्ने कर बुझाउन सम्बन्धित निकायलाई पत्रकार गरिसकेको बताउँदै, महानगरपालिकाका राजश्व महाशाखा प्रमुख सरोज गौतमले भने, ‘विराटनगरमा स्थापना भएदेखि नै अधिकांश संस्थानहरु करको दायरमा आएको देखिँदैन। त्यस्ता संस्थानहरुलाई बारम्बार करको दायरमा आएर कर बुझाउन पत्राचार गर्दा पनि बेवास्ता गर्दै आएका छन्। त्यस्ता संस्थानहरुको सूचि तयार पारेर कारबाहीको प्रक्रिया अघि बढी सकेको छ।’

विराटनगर विमानस्थलसँगै अन्य संस्थानहरुले सम्पत्ति कर, बहाल कर र घर नक्सा पास नगरेको पाइएपछि उनीहरुलाई कानुनी प्रक्रिया पूरा गर्न समय सीमा दिँदासमेत सम्पर्क गर्न नआएपछि कारबाही गर्न थालेको गौतमले बताए। उनले असार २० बुधबारदेखि विमानस्थलको फोहोरमैला नउठाउने महानगरले निर्णय गरेको बताए।

विमानस्थलले स्थापना कालदेखि नै स्थानीय सरकारलाई कर बुझाएको छैन। महानगरपालिकाले विमानस्थल प्रशासनलाई पटक–पटक सम्पत्ति कर, बहाल कर बुझाउन र निर्माणाधीन नयाँ टर्मिनल भवनका साथै पुराना संरचनाको पनि नक्सा पास गर्न पत्राचार गरेको थियो।

विमानस्थल प्रशासनलाई पटक पटक कर तिर्न, करको दायरमा आउन र भवनको नक्सा पास गर्न आग्रह गरे पनि कुनै सुनुवाइ नभएपछि फोहोर नउठाउने निर्णय महानगरले गरेको हो।

विमानस्थलको टर्मिनल भवनभित्र विमान कम्पनीका काउण्टर, टर्मिनल भवनभित्र–बाहिर र नोबेल मेडिकल कलेज अगाडिको जग्गामा पसल र होटल सञ्चालन गर्नका लागि कोठा तथा सटर निर्माण गरेर वाहलमा लगाएको छ।

विमानस्थल प्रशासनले त्यो संरचना बहालमा दिएर आम्दानी गर्दै आएको छ। त्यस आम्दानी बापत बुझाउनु पर्ने कर अहिलेसम्म १ रुपैयाँ पनि विमानस्थल प्रशासनले महानगरलाई नबुझाएको बताउँदै, गौतमले भने, ‘विमानस्थलले आम्दानी मात्रै गर्ने र स्थानीय सरकारलाई बुझाउनु पर्ने कर नबुझाएको हुँदा पहिलो चरणमा कारबाही स्वरूप फोहोर नउठाउने निर्णय गरिएको छ। अब कारबाहीलाई पनि बेवास्ता गरे थप कारबाहीको प्रक्रियामा जाने छौं।’

विमानस्थलभित्रका कुनै पनि संरचनाको महानगरमा नक्सा पास गरिएको छैन। हाल प्रयोगमा भइरहेको (पुरानो भवन) का साथ निर्माणाधीन नयाँ टर्मिनल भवनको नक्सा पनि पास गरिएको छैन। पुरानो र नयाँ टर्मिनल भवनको नक्सा पास गर्न विमानस्थलले अटेरकोको गौतमले बताए।

विमानस्थलमा २ अर्ब ४२ करोड लागतमा १६ हजार २ सय ७७ वर्ग मिटरको नयाँ टर्मिनल भवन निर्माणाधीन अवस्थामा छ। यो टर्मिनल भवन देशकै ठुलो रहेको छ। विमानस्थलको सम्पत्ति मूल्याङ्कन पनि भएको छैन। सम्पत्ति मूल्याङ्कन भएपछि तिर्नुपर्ने करको विवरण निर्धारण हुन्छ। 

महानगरपालिकाले चालु आर्थिक वर्ष १ अर्ब ६४ लाख रुपैयाँ आन्तरिक आम्दानी हुने अनुमान गरेको थियो। तर चालु आर्थिक वर्ष २०७९÷८० को ११ महिनामा (जेठ मसान्त) ५१ करोड ६५ लाख ९४ हजार ९ सय रुपैयाँ मात्रै आम्दानी भएको छ। गत आर्थिक वर्षमा महानगरले ४९ करोड ६४ लाख मात्रै आन्तरिक आम्दानी गरेको थियो।

चालु आर्थिक वर्ष कर संकलनका लागि महानगरपालिकाले कर संकलन अभियान सञ्चालन गरेको थियो। कर नतिर्ने ठूला कर दातालाई, व्यक्ति तथा फर्मलाई करको दायरामा ल्याउन बजार क्षेत्रका १० वटा वडामा २० जना स्वयंसेवक परिचालन गरिएको थियो।

विराटनगर–२ मा रहेको नेपाल टेलिकमको क्षेत्रीय कार्यालयले राजश्व बुझाएको छैन। टेलिकमको जिल्ला कार्यालयले नियमित राजश्व बुझाउँदै आएको छ। विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रले ३ करोडभन्दा बढी, खानेपानी संस्थानले १ करोड, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ६५ लाख, कृषि सामग्री कम्पनीले ६४ लाख, नेपाल व्यापार कम्पनीले करिब १ करोड राजश्व बुझाउन बाँकी रहेको गौतमले जानकारी दिए।

महानगरपालिकामा नक्सा पास नगरिएको विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवनको उद्घाटन २०७९ फागुन १ गते पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले गरेका थिए।

प्रकाशित: १९ असार २०८० १६:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App