१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा

फाइल तस्बिर

बिहीबार मध्याह्नदेखि अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ।

इच्छाकामना गाउँपालिका–५ को तीन किलोमा बिहीबार दिउँसो १ बजेको समयमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो। पहिरो पन्छाएसँगै सडक एकतर्फी सञ्चालनमा आएको हो। साँझ ५ बजेदेखि एकतर्फी सवारी सञ्चालनमा आएसँगै केही बेरमा ढुङ्गासहित पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो। सडक बन्द हुने र खुल्ने क्रम जारी रहेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक राजकुमार तामाङले ठूलो पहिरो पन्छाइसकिएको र खसेका पहिरा पन्छाउँदै सडक एकतर्फी सञ्चालनमा ल्याइएको बताए।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशकुमार पौडेलका अनुसार आज बिहान ८ः३० बजेदेखि दुवैतर्फबाट पहिरो पन्छाउने काम सुरु गरिएको थियो। बेलाबेलामा माथिबाट ढुङ्गा खसेर काममा अवरोध पुगे पनि सजगता अपनाउँदै काम गरिएको उनको भनाइ छ।

दुई वटा एक्साभेटर र दुई वटा लोडरले पहिरो पन्छाउने काम गरिरहेका छन्। सुक्खा पहिरो निरन्तर खसेपछि पन्छाउने काम गर्न सकिएको थिएन। सडक एकतर्फी सञ्चालनमा आए पनि सवारीको लामो लाइन भएकाले वैकल्पिक सडक प्रयोग गर्न अनले आग्रह गरे।

चौबिस घण्टाभन्दा बढी सडक अवरुद्ध हुँदा रोकिएका सवारी साधनका यात्रु गन्तव्यतर्फ लागेका छन्। एक तथ्याङ्कअनुसार उक्त सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी आवतजावत गर्ने गर्दछन्।

प्रकाशित: १५ असार २०८० १३:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App