१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

स्कुलमा छैन पिउने पानी

इलाम-  जिल्लाका विद्यालयहरूमा वर्षौं देखिको खानेपानी अभाव हट्न सकेको छैन। विद्यालयको खानेपानी व्यवस्थापनका लागि शिक्षा कार्यालयबाट बर्सेनि बजेट छुट्टिने गरेपनि पानी अभाव टर्न नसकेको हो।

कतिपय विद्यालयलाई पायक पर्ने मुहान छैन भने कतिपयमा भएको मुहान धेरै टाढा छ। पानी आउने विद्यालयका धाराहरूमा पनि लेदो र फोहोर आउने गरेकाले प्रदूषित पानी विद्यार्थी–शिक्षकले प्रयोग गर्न सकेका छैनन्। भौगोलिक रूपले अग्लो ठाउँमा परेका विद्यालय भवनमा पानी पुर्‍याउन समस्या हुने गरेको छ । विद्यालयमा पानी नहुँदा कोही विद्यार्थी घरैबाट पानी लिएर विद्यालय जान बाध्य छन् भने कोही विद्यालयनजिकैका घरहरूबाट पानी ओसारिरहेका देखिन्छन्।

                सूर्योदय नगरपालिकाको शान्ति माध्यमिक विद्यालयमा करिब ३ महिनमा मात्रै धारामा पानी आउने गरेको छ । ६ सय मिटर पर रहेको मुहानबाट पानी आउन त आउँछ तर फोहोर र लेदोले प्रायः पिउन योग्य हुँदैन । यहाँका विद्यार्थीमध्ये केही घरैबाट पानी लिएर आउँछन्, कोही स्कुलनजिकैका घरबाट पानी ल्याउँछन् । विद्यालयलाई पायक पर्ने स्थानमा मुहान नभएकाले अस्थायी मुहानबाट पानी ल्याउँदा पनि त्यसले अभाव टार्न नसकेको विद्यालयले जनाएको छ । ‘पानी नभएकाले स्कुल सरसफाइमा पनि समस्या हुने गरेको छ,’ पूर्वप्रधानाध्यापक गिरमणि भट्टराईले भने, ‘पानी नहुँदा पिउन, हातमुख धुन, फूलबारीमा लगाउन, आँगन, परिसर सरसफाइ गर्न पाइएको छैन ।’

                माई नगरपालिकाको कञ्चनजंघा आधारभूत विद्यालयमा पानी हाहाकार भएकाले महिनावारी भएका बेला छात्राहरू विद्यालय आउँदैनन् । पानी अभावले सरसफाइ गर्न नसक्दा उनीहरू महिनावारी भएका बेला घरै बस्न बाध्य भएको एक शिक्षकले बताए । ‘विद्यालयमा पानी नहुँदा पिउन, सरसफाइ गर्न त अभाव हुन्छ नै, सबैभन्दा बढी समस्या चाहिँ छात्रालाई हुँदोरहेछ,’ उनले भने, ‘शौचालयमा प्रयोग गर्न पानी नहुँदा बालबालिका र शिक्षक सबैलाई समस्या भइरहेको छ ।’

                माई नगरपालिकाकै बुद्ध आधारभूत विद्यालयमा पनि समस्या उही छ । वर्षायाममा मात्रै विद्यालयको धारामा पानी आउने र अरूबेला मुहान नै सुक्ने गरेको विद्यालयले जनाएको छ । विद्यालयका पूर्वशिक्षक टेकबहादुर लुंगेलीले मुहान टाढा भएको र पानी ल्याउने पाइप पनि नहुँदा खानेपानीको बिजोक भएको बताए । ‘पाइप भए त बरू कतैबाट मिलाएर पानी ल्याउन सकिन्थ्यो होला, पाइप नै नभएकाले विद्यालयलाई पानी अभाव छ,’ उनले सुनाए ।

                जिल्ला शिक्षा कार्यालयले भने प्रत्येक वर्ष विद्यालयहरूको शौचालय र खानेपानीका लागि रकम विनियोजन गर्ने गरेको छ । कार्यालयले चालू वर्षका लागि पनि ११ विद्यालयलाई ४ लाख रुपैयाँका दरले रकम प्रदान गरेको छ । तर, सबै विद्यालयमा एकैचोटी खानेपानी समस्या समाधान गर्न सकिने अवस्था भने नरहेको कार्यालयका अधिकृत निर्मल ढुंगेलले बताए।

                आर्थिक वर्ष २०६५/०६६ देखि कार्यालयले लगातार रूपमा विद्यालयहरूलाई यही शीर्षकमा रकम निकासा गरिरहेको छ । आव ०७१/०७२ मा ५५ विद्यालयका शौचालयलाई अढाई लाख  रुपैयाँका दरले रकम बाँडिएको थियो । आव  ०७२/०७३ मा ४६ विद्यालयलाई धारासहितका शौचालय बनाउन ४ लाख रुपैयाँका दरले रकम दिएको ढुंगेलले बताए । यो वर्ष बाल निकेतन, करफोक विद्या मन्दिर, सागर आधारभूत, शान्ति निकेतन मावि, जनकल्याण मावि, नन्द मावि, गंगादेवी, जनता आधारभूतलगायत विद्यालयलाई शौचालय निर्माणका लागि रकम प्रदान गरेको कार्यालयले जनाएको छ ।

                खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ, खानेपानी डिभिजनलगायत कार्यालयले पनि जिल्लाका विद्यालयहरूमा खानेपानी र सरसफाइका काम गरिरहेका छन् । तर, पनि सबै विद्यालयका लागि पर्याप्त हुन भने सकेको छैन । जिल्लाका धेरै विद्यालयमा धारा र शौचालय भएपनि पानी अभावले प्रयोगमा आउन नसकेको पाइएको छ । ‘विद्यालयहरूमा धारो छ, शौचालय पनि छ तर पानी चाहिँ छैन,’ महासंघका कार्यक्रम संयोजक गोपाल दाहालले भने, ‘पानी नहुँदा सरसफाइमा पनि समस्या छ ।’   

                महासंघले प्रत्येक वर्ष जिल्लाका विद्यालयहरूमा खानेपानी र सरसफाइका लागि ‘नागरिक आवाज’ कार्यक्रमअन्तर्गत ‘विद्यालय सरसफाइ सम्मेलन’ नै गरिरहेको छ । महासंघले विभिन्न २० मापदण्ड दिएर विद्यालयहरूमा यो कार्यक्रम सञ्चालन गरेको हो । वर्षभर सञ्चालिन कार्यक्रम कुन स्कुलमा सबैभन्दा राम्रो भयो भन्ने मूल्यांकन पनि यो कार्यक्रमले गरिरहेको दाहालले बताए ।

                कार्यक्रमअनुसार यो वर्ष जिल्लाको रोङ गाउँपालिका–३, मार्सेस्थित शंकर आधारभूत विद्यालय जिल्लाकै ‘सफा स्कुल’ घोषित भयो । जिल्ला शिक्षा कार्यालय, जिल्लास्तरीय सरसफाइ स्वच्छता समिति र महासंघले सरसफाइका सूचक पूरा गरेको यो स्कुललाई विद्यालयमै पुगेर २० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरेका थिए ।

                सरसफाइका २० सूचकमध्ये यो स्कुलले १९ वटा पूरा गरेको महासंघले जनाएको छ । विद्यालयमा छात्र र छात्राका लागि छुट्टाछुट्टै शौचालय, प्रत्येक ५० छात्रछात्रा बराबर एक शौचायल, शौचालय सफा राख्न पर्याप्त पानी, नियमित सफाइ, हावाका लागि भेन्टिलेटर, शौचालयमा चुकुलसहितको ढोका, आँगनमा टुट्टीसहितको खानेपानी सुविधा, पिउने पानी शुद्धीकरण, साबुन र साबुन केससहित हात धुने सुविधा यसका सूचक राख्ने गरिएको छ ।     छात्रछात्राले खाना खानुअघि, दिसा–पिसाब गरेपछि र फोहरमैला छोएपछि साबुन–पानीले हात धुने, बालमैत्री, अपांगमैत्री शौचालय, खानेपानी र हात धुने सुविधा, महिनावारी स्वच्छताका लागि शौचालयमा सेनेटरी प्याड, फोहोर प्याड जलाउन इन्सिनेटर, शौचालय नियमित मर्मतसम्भार, विद्यालयमा सरसफाइसम्बन्धी फोकल शिक्षक तथा बालक्लबको सक्रियताजस्ता सूचक तोकिएका छन् । सड्ने र नसड्ने फोहोर बेग्लाबेग्लै व्यवस्थापन, विद्यालय सरसफाइ कोषलगायतका सूचक स्कुलहरूले पाएका थिए ।

                विद्यालयकै लापरबहीका कारण पनि विद्यालयलाई पानीको समस्या पर्ने गरेको महासंघले जनाएको छ । ‘विद्यालयमा धारा बनाउने तर मुहान चाहिँ ख्यालै नगर्ने गर्दा पानी अभाव भएको पनि देखिएको छ,’ दाहालले भने । शिक्षा कार्यालयका अधिकृत ढुंगेलले जिल्लाका ९० प्रतिशत विद्यालयमा धारासहितको शौचालय निर्माण भएपनि पानी अभाव भएको बताए । ‘पानीका मुहान घटिरहेकाले विद्यालय अभाव टर्न नसकेको देखिएको छ,’ उनले भने, ‘विद्यालयका भवन बाँझो, अग्लो र रुखो ठाउँमा हुँदा पनि पानी पु¥याउन समस्या भइरहेको छ ।’ खानेपानी डिभिजन कार्यालयले भने जिल्लाका ८२ प्रतिशत नागरिक खानेपानी र सरसफाइको पहुँचमा रहेको दाबी गरेको छ ।

 

प्रकाशित: २९ वैशाख २०७४ ०९:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App