४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

वर्षौंदेखि अन्यौलमा हेटौंडाको सडक विस्तार, फेरि ३५ दिने सूचना

वर्षौंदेखि अन्यौलमा रहेको हेटौंडा बजारको राजमार्ग विस्तारको विषयले फेरि चर्चा पाएको छ।

डिभिजन सडक कार्यालय हेटौंडाले राष्ट्रिय पत्रिकामा सूचना प्रकाशित गर्दै सडक विस्तार गर्ने बताएपछि यो विषयमा फेरि चर्चा सुरु भएको छ। सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र राजमार्ग क्षेत्रमा निर्माण गरिएको घर टहरा हटाउन अनुरोध गरिएको छ।

‘हेटौंडा १५ महेन्द्र राजमार्गको रातोमाटे–बुद्धचोक–राप्तीपुल सम्मको सडक सीमा सडक केन्द्रबाट २५/२५ मिटर दायाँबायाँ भएको कुरा विदितै छ। उक्त सडक सीमाभित्र घर टहरा निर्माण गर्न, नाली पुरेर प्रवेश मार्ग बनाउन, सडक संरचना भत्काउन, ढल तथा पानी सडक तथा सडक किनारको नालामा मिसाउन, कुनै प्रकारको स्वीकृति विना बनेका संरचना तथा यस्तै प्रकृतिका अन्य यातायात सञ्चालन एवम् सडक प्रयोगकर्तालाई अवरोध पुग्ने कार्य गर्न सार्वजनिक सडक ऐन २०३१ ले निषेध गरेको छ’, सूचनामा भनिएको छ, ‘सर्वोच्च अदालतको मिति २०७८/०९/१९ को उत्प्रेरण आदेश समेत उक्त खण्डको सडक सीमा सडक केन्द्रबाट २५/२५ गज (७५/७५ फिट) कायम भएको उल्लेख भएको हुँदा उक्त क्षेत्रभित्र बनेका स्थायी अस्थायी घर टहरा तथा अन्य संरचना यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र हटाउन सम्बन्धितमा अनुरोध छ।’

सूचनामा स्थानीय तथा सरोकारवाला निकाय तथा सम्पूर्णलाई सहयोगको लागि समेत अनुरोध गरिएको छ। सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख राजेश यादवले यसअघि अदालती प्रक्रियाका कारण हेटौंडाको सडक विस्तारको काम रोकिएको जानकारी दिँदै अब छिट्टै प्रक्रिया अघि बढ्ने बताए।

उनले सर्वोच्चको फैसला बमोजिम सडक विस्तारको काम अघि बढ्ने जानकारी दिए। ‘सडक विस्तार अपरिहार्य छ। अदालती प्रक्रियाले गर्दा अहिलेसम्म रोकिएको हो’, डिभिजन प्रमुख यादवले भने, ‘सर्वोच्च अदालतको फैसला अनुसार २५ गजको निर्णय भएर आएको छ। हामी सर्वोच्चको फैसला बमोजिम अघि बढ्छौं। सडक विस्तारकै लागि सूचना प्रकाशन गरिएको हो। अब प्रक्रिया अघि बढ्यो।’

यसअघि हेटौंडा उपमहानगरपालिकाले बजार क्षेत्रमा सडक सीमा मिचेर घरसँगै जोडेर निर्माण गरिएका अस्थायी पाली लगायतका संरचना हटाएको थियो। हेटौंडा उपमहानगरका मेयर मीनाकुमारी लामाले उपमहानगरको यो अभियानलाई सडक विस्तारको रुपमा बुझ्न अनुरोध गरेकी थिइन्।

हरित र सुन्दर नगरीको रुपमा रहेको हेटौंडा बजार क्षेत्रमा राजमार्ग विस्तार नहुँदा बजारको स्वरूप बिग्रँदै गएको भन्दै लामाले सडक विस्तारको विकल्प नभएको बताउँदै आएकी छिन्। 

विगत लामो समयदेखि हेटौंडा बजार क्षेत्र विस्तारको विषयमा चर्चा हुँदै सेलाउँदै आएको छ। मध्यमाञ्चल क्षेत्रीय प्रशासक विनोद केसी रहेको बेला हेटौंडाको चाइना क्वाटर क्षेत्रबाट विस्तारको काम सुरु भए पनि मुद्दाका कारण रोकिएको थियो।

डिभिजन सडक कार्यालयले समेत पटक पटक सूचना जारी गर्ने कार्य मात्रै गर्दै आएको छ। हेटौंडा बजार क्षेत्र बाहेक पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरका अन्य स्थानमा घर टहरा हटाइसकेको छ। उक्त क्षेत्रबाट सडक विस्तारको काम सुरु गर्नुपर्ने साधारणको माग छ।

यस विषयमा मकवानपुर उद्योग वाणिज्य संघले भने फरक फरक धारणा राख्दै आएको छ। उद्योग वाणिज्य संघले १६ मिटर सडक विस्तार गर्नुपर्ने, बाइपास रोड सञ्चालनमा ल्याउनुपर्ने, हेटौंडालाई मानव बस्ती घोषणा गर्नुपर्ने लगायतका माग राख्दै आएको छ।

प्रकाशित: ११ असार २०८० १०:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App