१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

हत्या आरोपमा र्‍यापर गिरिशसहित ३ जनाविरुद्ध जाहेरी

चर्चित र्‍यापर गिरिश खतिवडा सहित ३ जनाविरुद्ध मोरङ प्रहरीमा हत्या आरोपमा जाहेरी दर्ता भएको छ।धनपालथान गाउँपालिका–४ कर्सियाका कासिद अंसारीलाई कुटपिट गरी हत्या गरेको आरोपमा खतिवडासहित ३ जनाविरुद्ध जाहेरी दर्ता भएको हो। 

मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालका अनुसार २८ वर्षीय मासु व्यवसायी कासिद अंसारीलाई कुटपिट गरी हत्या गरेको आरोपमा उनका परिवारले खतिवडासहित ३ जनाविरुद्ध किटानी जाहेरी दिएका छन्।खतिवडाले विराटनगर–८ मा जी क्याफे एण्ड बिस्ट्रो सञ्चालन गर्दै आएका छन्।असार ३ गते मासुको बक्यौता रकम उठाउन आएका अंसारीलाई कुटपिट गरेपछि घाइते भएको र उपचारका क्रममा उनको मृत्यु भएको आफन्तले आरोप लगाएका छन्।  

कर्सिया बजारमा चाँदनी फ्रेस हाउस सञ्चालन गर्दै आएका अंसारी असार ३ गते दिउँसो ११ बजेतिर क्याफेमा मासु दिए बापत ४० हजार पैसा उठाउन आएका थिए। दिउँसो क्याफे आएका अंसारी त्यहाँ रहेको पारदर्शी सेतो सिसाको ढोकामा ठोकिएर घटना भएको देखिएको बताउँदै, डिएसपी दाहालले भने, ‘मृतकको शरीरिको अन्य ठाउँमा चोटपटक देखिँदैन। उनको तिघ्रामा सिसाले काटेको थियो। सिसाको ढोकामा ठोकिएर घाइते भएका अंसारीको उपचारका क्रममा डाक्टरले तिघ्राबाट ढोकाको सिसाका टुक्रा निकालेका थिए।’

घटना भएको दिन साढे ५ बजेतिर उपचारका क्रममा विराटनगरस्थित विराट नर्सिङ होममा अंसारीको मृत्यु भएको बताउँदै, डिएसपी दाहालले भने, ‘क्याफे सञ्चालन खतिवडासहित ३ जनाविरुद्ध किटानी जाहेरी दर्ता भए पनि जाहेरीमा नाम उल्लेख गरिएका व्यक्तिलाई पक्राउ गरिएको छैन। प्रमाणले घटना घटाएको देखिए नियन्त्रणमा लिएर अनुसन्धान हुन्थ्यो। तर, त्यस्तो देखिँदैन। घटनाको हामीले सूक्ष्म तवरले अनुसन्धान गर्दै आएका छौँ।अनुसन्धानबाट कहीँ कतै उनीहरु वा अन्य कसैको घटनामा संलग्नता देखिने प्रमाण भेटिए या देखिए कारबाहीको दायरमा ल्याउने छौँ।’ 

प्रकाशित: ८ असार २०८० १२:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App