१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

कालिकोटमा तीन हजार बढी पशुमा ‘लम्पी स्किन’ संक्रमण

कालिकोटमा तीन हजार पाँच सय बढि पशुमा ‘लम्पी स्किन’ को संक्रमण देखिएको छ। लम्पी स्किन रोगको संक्रमणबाट कालिकोटमा अहिलेसम्म तिन सय १४ पशुको मृत्यु भएको छ। यो संक्रमण जिल्लाभर भयावह रूपमा फैलिए पनि किसानले भ्याक्सिनेसनको सुविधा पाएका छैनन्।

जिल्लास्थित पशु अस्पताल तथा पशु सेवा कार्यालयले पशुमा देखिएको संक्रमणले ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै रोगको पहिचानका लागि ल्याव टेष्ट र लक्षण अनुसारको उपचार भइरहेको जानकारी दिएको छ। कार्यालय प्रमुख लक्ष्मीप्रसाद अधिकारीले भने, ‘केही किसानले नीजी स्तरबाट भ्याक्सिन लगाउनुभएको होला तर जिल्लामा हामीले किनेर ल्याएको भ्याक्सिन दिराछौ। आवश्यक रोग नियन्त्रण गर्न गाह्रो भइसकेको छ। यसका लागि जनचेतना फैलाउने काम गरिरहेका छौं। अरू औषधि आएको छैन।’ 

घाउ, खटिरा आएकालाई ड्रेसिङ गर्ने काम भइरहेको जानकारी दिँदै प्रमुख अधिकारीले भाइरसबाट सर्ने रोग भएकाले यसको दिगो उपचार नभएको बताए। सबैभन्दा बढि शान्नि त्रिवेणी गाउँपालिकामा देखिएको कार्यालयले जनाएको छ।

पशुलाई धेरै ज्वरो आउनु,शरीर र मुखमा फोका जस्ता खटिरा निस्कनु, श्वासप्रश्वासमा समस्या हुनु, दानापानी नखानु र दुधालु पशु भए दूधको उत्पादन घटाउनु संक्रमणको मुख्य लक्षण भएको जानकारी दिए। ‘यसको रोकथामका लागि मास भ्याक्सिनेसन सुरु गर्नुपर्छ र जैविक सुरक्षामा जोड दिनुपर्छ’, उनले भने।

संक्रमण भएको पशु भए त्यसलाई सामूहिक रुपमा चराउन नलैजाने, पशुको ढुवानी कार्य बन्द गर्ने र आवजातवमा कडाइ गरेर लम्पी स्किनको संक्रमण न्यूनीकरण हुन सक्ने अधिकारीले सुझाव दिए।

प्रकाशित: ८ असार २०८० १२:१६ शुक्रबार

‘लम्पी स्किन’