१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

छुट्टाछुट्टै घटनामा परेर मोरङमा २ जनाको मृत्यु

मोरङको रंगेली र सुन्दरहरैँचामा दुर्घटनामा परेर एक महिला र एक पुरुषको मृत्यु भएको छ।

सुन्दरहरैँचा नगरपालिका–५ बाँसबारीको नालाभित्र शुक्रबार मृत अवस्थामा सोही वडाका ४५ वर्षीय शिवनाथ आचार्यको शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।

नालाभित्र मृत अवस्थामा भेटिएका आचार्यको बाँसबारी चोकमा पञ्चकन्या देवी काष्ठ फर्निचर उद्योग सञ्चालन गर्दै आएको खुलेको छ।

स्थानीयले नालाभित्र मान्छे र मोटरसाइकल देखेपछि शुक्रबार बिहान साढे ५ बजेतिर खबर गरेका थिए। पानीमा आधा भाग डुबिरहेको अवस्थामा प्र १–०२–०५० प ८०८४ नम्बरको मोटरसाइकल फेला परेको थियो। राति बलिया चोक हुँदै घरतर्फ जाने क्रममा आचार्य दुर्घटनामा परेको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।

डिएसपी दाहालका अनुसार नालाभित्र आचार्यको शव फेला परेको र त्यहीँ नजिकै पानीमा आधा भाग डुबिरहेको अवस्थामा मोटरसाइकल फेला परेको थियो। नालामाथि स्ल्याब (ढकन) नभएको हुँदा रातको समयमा घर जाँदा मोटरसाइकल अनियन्त्रित भई नालामा खसेर हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

घटनाको प्रकृति हेर्दा आचार्य दुर्घटनामा परेजस्तो देखिने बताउँदै, डिएसपी दाहालले भने, ‘घटना दुर्घटना जस्तो देखिए पनि विस्तृत रुपमा अनुसन्धान थालिसकेका छौं। शवको कोशी अस्पतालमा पोस्टमार्टम गरिएको छ। पोस्टमार्टको रिपोर्ट र घटनाका अनुसन्धानबाट वास्तविक कुरा आउने छ।

त्यसैगरी, रंगेलीमा टिपरले ठक्कर दिँदा रंगेली नगरपालिका–९ की ७० वर्षीया मुन्सी राजवंशीको बिहीबार राति मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ। भित्री सडकखण्ड हुँदै उत्तरबाट दक्षिणतर्फ गइरहेको टिपरले सडक पार गर्दै गरेकी वृद्धालाई रंगेली–९ फर्साडाँगीमा बुधबार दिउँसो ठक्कर दिएको हो।

ना १ क ७२१८ नम्बरको टिपरले ठक्कर दिँदा घाइते भएकी राजवंशीको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा राति पौन ८ बजेतिर मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुनीलकुमार श्रेष्ठले जानकारी दिए। टिपर चालक सर्लाही लालबन्दीका ३५ वर्षीय दिनेश अधिकारीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

प्रकाशित: ८ असार २०८० १२:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App