१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

ताप्लेजुङ पहिरोपीडितलाई राहत तथा उद्धारका लागि रणनीतिक योजना

जिल्ला विपद् व्यवस्थापन समितिले ताप्लेजुङका पहिरोप्रभावित क्षेत्रका बासिन्दाको राहत तथा उद्धारका लागि रणनीतिक योजना अघि सारेको छ। विस्थापित र जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानको पहिचान गरी स्थानान्तरण गर्ने कार्यलाई थप गतिशील बनाउने, आपतकालीन राहत पाउन योग्यहरूको प्राथमिक सूचीका आधारमा राहत वितरणकार्यलाई निरन्तरता दिने र प्रभावित बासिन्दाका लागि आवश्यक पर्ने खाद्यान्नसहितका सामग्री पु¥याउन प्रभावित पालिकाको कम्तीमा पालिका केन्द्रसम्मको अवरुद्ध सडक सञ्जाल तत्काल जोड्ने गरी प्रक्रिया अघि बढाउने योजना विपद् व्यवस्थापन समितिले अघि सारेको हो।  

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले पहिलो चरणमा सिदिङ्वा, सिरिजङ्गा, मैवाखोला, मेरिङदेन र आठराई त्रिवेणी गाउँपालिकाको केन्द्रसम्म पुग्ने अवरुद्ध सडक सञ्जाल तत्काल जोड्ने गरी प्रक्रिया अघि बढेको जानकारी दिइन्।  

अन्नपातसमेत गुमाई पूर्ण रूपमा विस्थापित भएका र खाद्यान्न तथा अन्नपात सुरक्षित रही बस्ने क्षेत्र जोखिममा परेका परिवारको पहिचानका आधारमा राहत वितरण कार्यलाई प्राथमिकीकरण गर्ने विपद् व्यवस्थापन समितिको योजना रहेको छ। ‘कम्तीमा पालिका केन्द्रसम्म खाद्यान्न सामग्री पुर्याउन सकिने अवस्था भएमा प्रभावित परिवारको खाद्य जोखिम कम गर्न सकिन्छ भन्ने योजनाका आधारमा रणनीतिक प्रक्रिया अलवम्बन गरिएको हो,’ प्रजिअ चेम्जोङले भनिन्। उनले पूर्ण रूपमा विस्थापन भएका परिवारलाई तत्कालै खाद्यान्नसहित राहत सामग्री पु¥याउनुपर्ने अवस्थामा नेपाली सेनाको हेलिकोप्टरमार्फत आपूर्ति गर्ने विकल्पसमेत सुरक्षित रहेको जानकारी दिइन्। मनसुन समय समाप्त भई नसकेकाले सम्बन्धित स्थानीय तहसँगको समन्वयमा अहिले देखिएका जोखिम क्षेत्र र सम्भावित अन्य जोखिम क्षेत्रको पहिचान गर्ने कार्यसमेत अघि बढेको चेम्जोङले बताइन्।  

मेची राजमार्गको ताप्लेजुङ–फिदिम सडकखण्डको हेवाखोलामा रहेको मोटरेबल पुल र तमोर करिडोर क्षेत्रको माझीटारमा रहेको बेलिब्रिजसमेत बाढीले बगाएपछि अहिले ताप्लेजुङसँग पूर्वी तराईको यातायात सञ्जाल पूर्ण रूपमा अवरुद्ध छ। तेह्रथुमको वसन्तपुर–गुफा–साँघु हुँदै ताप्लेजुङको दोभानसम्मको सडक सञ्जाल स्थापित गर्न सकिने सम्भाव्य योजनासमेत अघि सारिने भएको छ। मेंवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार तेह्रथुमको बसन्तपुर–गुफा–साँघुसम्म ट्र्याक्टर र साना सवारी आवतजावत गर्न सकिन्छ। ‘हामी साँघु–दोभानसम्मको अवरुद्ध सडक सञ्चालनमा ल्याउन अन्तरपालिका समन्वयसमेत गरिरहेका छौं,’ बनेमले बताए। केही दिनअघि मात्र मेंवाखोला, आठराई त्रिवेणी र मेरिङदेन गाउँपालिकाका जनप्रतिनिधिले अन्तरपालिका समन्वय बैठकमार्फत पालिकाको सीमावर्ती क्षेत्रमा त्रिपक्षीय समन्वयमा काम गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेका थिए।  

पहिरोप्रभावित क्षेत्र मेहेलेमा रहेका सिदिङ्वा गाउँपालिका अध्यक्ष मानबहादर राईले इन्द्रावती पुलमा देखिएको अवरोध हटाउने गरी पुनर्निर्माणको कार्य अघि बढेको जानकारी दिए।  

‘सबै शक्ति प्रयोग गरेर पहिरो प्रभावित क्षेत्रमा आवश्यक पर्ने राहत पुर्याई सहज बनाउने योजनामा छौं,’उनले भने। प्रजिअ चेम्जोङले मेंवाखोला र आठराई विनेणी जाने मेंवाखोलाले बगाएको सडक बनाई तत्काल अवरोध हटाउने प्रयास भइरहेको बताइन्। उनले उत्तर–दक्षिण मूलघाट–दोभान–ओलाङ्चुङगोला सडक योजनालाई तत्काल अघि बढाउन भनिएको र चाँडै प्रगति देखिने विश्वास व्यक्त गरिन्। तत्कालका लागि फुङलिङ र दोभान बजारमा खाद्यान्न र अन्य दैनिक उपभोग्य वस्तुको मौज्दात रहेको पाइएकाले तत्कालै खाद्यान्नसहित दैनिक उपभोग्य वस्तुको चरम संकट नदेखिने जिल्ला विपद् व्यवस्थापन समितिको बुझाइ रहेको छ।  

बेपत्ताको खोजीका लागि दुईवटा विकल्प  

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख (डिएसपी) राजन लिम्बूका अनुसार मेहेलेको भालुखोपमा पहिरोले बेपत्ता बनाएका एकाघरका तीनजनाको खोजीका लागि दुई विकल्पलाई केन्द्रमा राखिएको छ। पहिलो–बेपत्ता परिवारको घर रहेको सम्भावित क्षेत्रको पहिचान गरी पहिरो खोतलेर खोजी गर्ने कार्यलाई निरन्तरता दिने। दोस्रो–बेपत्ता परिवारलाई पहिरोले बगाएर काबेली खोलामा लगेको आशंकामा सम्भावित क्षेत्रमा खोजी गर्ने। यी दुईवटा आधारलाई केन्द्रमा राखेर शुक्रबार बेपत्ता परिवारका आफन्त, स्थानीय बासिन्दा, नेपाली सेना नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त प्रयासमा पहिरो खोतल्ने योजना बनाइएको लिम्बूले बताए। उनीहरूसँगै बेपत्ता स्थानीय गणेश तामाङको शव काबेली खोलामा भेटिएकाले दोस्रो विकल्पलाई समेत उत्तिकै महŒव दिएर खोजी कार्यलाई थप तीव्रता दिने विपद् व्यवस्थापन समितिको तयारी रहेको छ।  

वाणिज्य संघद्वारा मौज्दात परिमाण संकलन  

सडक अवरुद्ध भएपछि बजारमा हुने कृत्रिम अभाव र कालोबजारीको सम्भावित प्रभाव भित्रिन नदिन र मौज्दात परिमाणको अवस्था विश्लेषण गर्न ताप्लेजुङ उद्योग वाणिज्य संघले फुङलिङ बजारमा दैनिक उपभोग्य वस्तुको मौज्दात परिमाण संकलन गरेको छ।  

‘मौज्दात परिमाणका आधारमा दैनिक उपभोग्य वस्तुको उपलब्धताका आधार पहिचान हुने भएकाले यसो गरिएको हो,’ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण थापाले भने।  

वाणिज्य संघले यसअघि नै सडक अवरुद्धपछि अनावश्यक मूल्यवृद्धि गर्ने गरेको, कृत्रिम अभाव सृजना गर्ने गरेको, कालोबजारी गरेको र आफूसँग रहेको उपभोग्य वस्तु नभएको भनी छलपकट गरेको पाइए कारबाही गर्ने चेतावनी दिइसकेको छ। उसले उपभोक्तालाई समेत आफूलाई आवश्यक पर्नेभन्दा बढी सामग्री खरिद नगर्न आग्रह गरेको छ।

प्रकाशित: ८ असार २०८० ०२:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App