६ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

‘हिन्दकुश हिमनदीको ८० प्रतिशत हिउँ लोप हुने खतरा'

सगरमाथा क्षेत्रमा रहेको नुप्से पिक ।तस्बिरः इसिमोड

विश्वको तापमान बढ्ने वर्तमान दर कायम रहिरहे यो शताब्दीको अन्त्यसम्ममा हिन्दकुश क्षेत्रका हिमनदीमा ८० प्रतिशत हिउँ घट्ने एक अध्ययनले देखाएको छ। नेपालसहित आठ राष्ट्र सदस्य रहेको अन्तर–सरकारी निकाय इसिमोडले गरेको एक समीक्षात्मक अध्ययनका अनुसार विश्वको सरदर तापमानमा भएको बढोत्तरीका कारण पछिल्ला वर्षमा हिमनदी, हिउँ र हिउँ जमेको जमिनमा ‘अभूतपूर्व र धेरै हदसम्म अपरिवर्तनीय’ हिसाबले परिवर्तन आएको देखिएको छ।  

हिमनदीको क्षयीकरणको दर हिमालय क्षेत्रका विभिन्न भूभागमा फरकफरक रहने अध्ययनको प्रक्षेपण छ। शताब्दीको अन्त्यसम्ममा ३ डिग्री सेन्टिग्रेडले पृथ्वीको तापक्रम बढ्दा नेपाल र भुटान पर्ने पूर्वी हिन्दकुश हिमालय क्षेत्रले ७५ प्रतिशत हिउँ गुमाउने र पृथ्वीको तापमान ४ डिग्रीले बढ्दा यो ८० प्रतिशत पुग्ने आकलन वैज्ञानिकले गरेका छन्। युरोपको आल्पस र उत्तर अमेरिकाको रकी पर्वतीय शृंखलामा हिमनदीको अवस्थाबारे यथेष्ट अध्ययन भए पनि जलवायु परिवर्तनले हिन्दकुश हिमालय क्षेत्रलाई पारेको प्रभावबारे पर्याप्त अध्ययन भएका छैनन्।  

विश्वको तापमान बढ्ने वर्तमान दर कायम रहिरहे यो शताब्दीको अन्त्यसम्ममा हिन्दकुश क्षेत्रका हिमनदीमा ८० प्रतिशत हिउँ घट्ने एक अध्ययनले देखाएको छ। 

इसिमोडले मंगलबार सार्वजनिक गरेको ‘हिन्दकुश हिमालय क्षेत्रको पानी, हिउँ, समाज र पारिस्थिकीय प्रणाली’शीर्षकको अध्ययन प्रतिवेदनमा पहिलोपटक उच्च भूभागमा पानी जमेको क्षेत्र (क्रायोस्फेयर), पानी, जैविक विविधता, समाजको अन्तर्सम्बन्ध र यसले मानिस तथा प्रकृतिलाई पार्ने प्रभावबारे समीक्षा गरिएको छ।  

अध्ययनका अनुसार पृथ्वीको सरदर तापमानमा १.५ देखि २ डिग्री सेन्टिग्रेड बढेको अवस्थामा हिन्दकुश हिमालय क्षेत्रको ३० देखि ४० प्रतिशत हिउँ हराउनेछ। विश्व मौसम संगठनका अनुसार सन् २०२३ देखि २०२७ सम्म पृथ्वीको सतहको सरदर तापक्रम औद्योगिक क्रान्ति सुरु हुनुअघिको तुलनामा १.१ डिग्रीदेखि १.८ डिग्री सेन्टिग्रेड बढ्ने देखिएको छ। सन् २०१५ मा सम्पन्न जलवायु सम्बन्धी पेरिस सम्झौताले पृथ्वीको तापमान वृद्धिलाई सकेसम्म १.५ प्रतिशतमा सीमित राख्ने उद्देश्य लिएको छ।

इसिमोड अध्ययनले पृथ्वीको तापमानमा भएको वृद्धिका कारण सन् २००० को दशकको तुलनामा सन् २०११ देखि २०२० सम्मको दशकमा हिमनदीहरूको क्षयीकरणको दर ६५ प्रतिशतले बढी रहेको देखाएको छ।

इसिमोड अध्ययनले पृथ्वीको तापमानमा भएको वृद्धिका कारण सन् २००० को दशकको तुलनामा सन् २०११ देखि २०२० सम्मको दशकमा हिमनदीहरूको क्षयीकरणको दर ६५ प्रतिशतले बढी रहेको देखाएको छ। हिउँ पग्लने प्रक्रियाका कारण यो शताब्दीको मध्यसम्म यो क्षेत्रमा पानीको मात्रा र प्रवाह अत्यधिक हुने र त्यसपछि क्रमशः अभाव हँुदै जाने आकलन अध्ययनमा संलग्न अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताको छ। ‘पछिल्लो सय वर्ष अवधिमा हामी हिमनदी गुमाउँदै छौं,’ अध्ययनका प्रमुख लेखक तथा इसिमोडका वातावरण वैज्ञानिक फिलिपस वेस्टरले भनेका छन्।  

हिन्दकुश हिमालय क्षेत्रमा हालसम्म भएका अध्ययनमध्ये पछिल्लो अध्ययन सबैभन्दा बढी ‘सही’रहेको दाबी गर्र्दै इसिमोडले उच्च भूभागमा रहेका हिउँ र बरफ पग्लिँदा यस क्षेत्रमा बसोबास गर्ने २ अर्ब मानिसको जीवनयापन र विभिन्न प्रजाति लोप हुने खतरा रहेको जनाएको छ। ३५ सय किलोमिटर लामो हिन्दकुश हिमालय शृंखलामा नेपालसहित अफगानिस्तान, बंगालादेश, भूटान, चीन, भारत, म्यानमार र पाकिस्तान गरी आठवटा राष्ट्रहरू पर्दछन्।

उच्चतम उत्सर्जनको अवस्थामा ७४ प्रतिशत पानीका लागि हिमनदीमा निर्भर रहेको अमुदर्य नदी, ४० प्रतिशत पानीका लागि हिमनदीमा निर्भर रहेको इन्दुज नदी तथा ७७ प्रतिशत पानीका लागि हिमनदीमा निर्भर रहेको हेलमन्ड नदीमा पानीको प्रवाह नाटकीय हिसाबले घट्ने अध्ययनको आकलन छ।  

हिन्दकुश हिमालय क्षेत्रबाट बग्ने १२ प्रमुख नदीका लागि हिमालय क्षेत्रको हिउँ र बरफ महत्वपूर्ण स्रोत रहँदै आएको छ। यी नदीले यस क्षेत्रका पहाडी भूभागमा बस्ने २४ करोड जनसंख्यालाई स्वच्छ पानी तथा अन्य पारिस्थिकीय सेवा दिँदै आएका छन् भने तल्लो तटका १ अर्ब ६५ करोड मानिस यही स्वच्छपानीमा आधारित छन्।  

३५ सय किलोमिटर लामो हिन्दकुश हिमालय शृंखलामा नेपालसहित अफगानिस्तान, बंगालादेश, भूटान, चीन, भारत, म्यानमार र पाकिस्तान गरी आठवटा राष्ट्रहरू पर्दछन्।

उच्चतम भूभागमा हिउँ जमेको जमिन घट्दै जाँदा यसले धेरै पहिरो जाने र उच्चतम भूभागमा निर्माण भएका भौतिक संरचना संकटमा पर्ने, हिमतालमा विस्फोटको खतरा बढ्ने तथा विपद्का कारण ठुलो जनसंख्या विस्थापित हुने देखिएको छ। यसैगरी यसले खानेपानी तथा खाद्य सुरक्षा, ऊर्जाको स्रोत, पारिस्थिकीय प्रणालीसँगसँगै जीवन र जीवनयापनलाई अनुकूलन हुने सीमाभन्दा बढी स्तरमा प्रभाव पार्ने अध्ययनको निचोड छ। अध्ययनले जलवायु परिवर्तनले यो क्षेत्रमा पार्ने शृंखलाबद्ध प्रभावलाई आकलन गर्न र यसलाई सम्बोधन गर्न तयार रहन नीतिनिर्मातालाई आग्रह गरेको छ।  

‘भविष्यमा हुने हानि तथा नोक्सानीलाई सम्बोधन गर्न र समुदायको अनुकूलन क्षमता बढाउन तत्काल अन्तर्राष्ट्रिय सहयोग र क्षेत्रीय सहकार्य आवश्यक छ,’अध्ययनले भनेको छ, ‘हिन्दकुश र हिमालय क्षेत्रका हिमनदी पृथ्वीको प्रणालीको अभिन्न अंग हुन्। यसलाई गुमाउँदा हुने नोक्सानीलाई हिसाब गरी साध्य छैन। विश्वका नेताहरू यो संकटलाई रोक्न आवश्यक छ,’इसिमोडकी उपमहानिर्देशक इजाजेला कोजियलले भनेकी छिन्।  

‘तत्काल यो संकट न्यून गर्ने प्रयासका साथसाथै अनुकूलन कोषको आवश्यकता, पारिस्थिकीय प्रणाली, पुनःस्थापना तथा हानिनोक्सानीका लागि थप वित्तीय परिचालन आवश्यक देखिएको छ,’उपमहानिर्देशक कोजियलले भनेकी छिन्।  

प्रकाशित: ६ असार २०८० ००:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App