औषधि पसलले गर्भपतन गराउनका लागि दिएको औषधि सेवन गर्दा दमककी एक महिलाको मृत्यु भएको छ।
मोरङको उर्लाबारी–६ मा रहेको आश्रय मेडिकल हलले गर्भपतन गर्न दिएको औषधि सेवनबाट झापा दमक नगरपालिका–४ की ४० वर्षीया कल्पना राईको उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।
उनले दमक–४ घर भई उर्लाबारीमा मेडिकल पसल सञ्चालन गर्दै आएको ४० वर्षीय सन्तोष घिमिरेलाई घटनामा संलग्न भएको आरोपमा पक्राउ गरेको बताए।
घिमिरेको मेडिकल हलमा जेठ ३२ गते गर्भपतन गराउनका लागि कल्पना पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताउँदै, डिएसपी दाहालले भने, ‘आश्रय मेडिकल हल पुगेकी कल्पनालाई औषधि दिएर अवैध तरिकाले गर्भपतन गराउँदा मृत्यु भएको खुलेको छ। मेडिकल सञ्चालकले अवैध तरिकाले गर्भपतन गराउन औषधि खुवाएका थिए। कल्पनालाई कुन औषधि दिइएको खुल्न सकेको छैन।’
घिमिरेले सञ्चालन गरेको मेडिकल हल गर्भपतन गराउनका लागि अनुमति प्राप्त गरेको संस्था नभएको प्रहरीले जनाएको छ।
घिमिरेले गर्भपतनका लागि खान दिएको औषधि खाएपछि कल्पनालाई रक्तश्राव हुन थाल्यो र नरोकिएपछि उर्लाबारीको मंगलबारेमा रहेको मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा थप उपचार लागि घिमिरेले नै लगेको बताउँदै, डिएसपी दाहालले भने, ‘अस्पताल भर्ना गर्दा कल्पनाका श्रीमान युवराज पनि सँगै गएका थिए। गम्भीर अवस्थामा अस्पताल पुगेकी कल्पनालाई चिकित्सकले परीक्षण गर्दा गर्भमा रहेको शिशुको मृत्यु भइसकेको पत्ता लाग्यो।’
अस्पताल ल्याउँदा अवस्था धेरै गम्भीर रहेको र यहाँभन्दा पनि सुविधासम्पन्न अस्पतालमा थप उपचारका लागि लैजान भनेका थियौं, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रविकुमार साहले भने, ‘उनको परिवारले अन्यत्र लैजान आर्थिक समस्या रहेको भनेपछि यहाँ नै उपचार थाल्यौं। रक्तश्राव रोक्न र गर्भभित्रको मृत बच्चा निकाल्नका लागि शल्यक्रिया गरे पनि रक्तश्राव रोकिएन।’
बिरामीको शरीरमा ‘हेमोग्लोबिन’को कमी देखिएर अवस्था झन् गम्भीर भएपछि थप उपचारका लागि रेफर गरिएको डाक्टर साहले बताए। शनिबार राति नै थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसियूमा भर्ना गरिएको थियो। त्यहाँ उपचार गर्दैगर्दा आइतबार बिहान पौने ४ बजेति मृत्यु भएको प्रहरीले जनाएको छ।
धरानमा उपचारका क्रममा मृत्यु भएपछि कल्पनाको शव ल्याएर ट्रमा सेन्टर अगाडि राखेर परिवार र आफन्तले ट्रमा सेन्टर र चिकित्सकविरुद्ध नाराबाजी गरेका थिए। उनीहरुले चिकित्सकको लापरबाहीले गर्दा घटना भएको भन्दै आइतबार दिनभर ट्रमा सेन्टर अगाडि शव राखेर लापरबाही गर्ने चिकित्सकलाई कारबाही हुनुपर्ने र मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने लगायतका माग राखेका थिए।
प्रहरीले घटनाको अनुसन्धान गर्दा गर्भपतन गराउन मेडिकल पसलले दिएको औषधि सेवनबाट महिलाको मृत्यु भएको देखिएपछि सञ्चालक घिमिरेलाई पक्राउ गरेको बताइएको छ।
डिएसपी दाहालका अनुसार मृतक कल्पनाका श्रीमान युवराजले मेडिकल सञ्चालक सन्तोष घिमिेरेविरुद्ध इलाका प्रहरी कार्यालय उर्लाबारीमा ज्यान सम्बन्धि कसूरमा किटानी जाहेरी दिएका छन्। जाहेरीका आधारमा उनलाई पक्राउ गरेर अदालतबाट म्याद थप गरी घटनाको अनुसन्धान अघि बढाएको छ।
मृतकको शव कोशी अस्पतालमा पोष्टमार्टपछि परिवारले बुझेर लगेको प्रहरीले जनाएको छ।
प्रकाशित: ४ असार २०८० १४:५९ सोमबार