४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

क्यान्सरपीडित बालकलाई उपचार खर्च अभाव

बिरामी भएर थलिएका इलामको रोङ गाउँपालिका–५, इरौंटारको मालबाँसेका १० वर्षे अभिषेक कार्की, उनकी आमा जानुका र हजुरआमा। तस्बिर: भीम/नागरिक

इलामको रोङ गाउँपालिका ५, इरौंटारस्थित मालबाँसेका १० वर्षे अभिषेक कार्की क्यान्सरले थलिएका छन्। परिवारको आर्थिक अवस्था अत्यन्त न्यून भएकाले उपचार खर्च अभावमा उनी खुट्टाको क्यान्सर बोकेर घरमै बस्न बाध्य छन्।

स्थानीय जानुका कार्कीका छोरा अभिषेक डेढ वर्षअघिसम्म ठीकै थिए। ५ कक्षासम्म विद्यालय गइरहेका उनको पिँडुलामा गाँठो आयो। जानुका वैदेशिक रोजगारीमा जोर्डनमा थिइन्। अभिषेकका बाबु चन्द्रकुमार त्यसअघि नै ‘कान्छी श्रीमती’ लिएर बेपत्ता भए। अभिषेक जानुकाका दाजुको घरमा बस्थे। छोराको खुट्टामा घाउ आएको खबर पाएपछि जानुका २ वर्षमा घर फर्किइन्।

छोरालाई अस्पताल लगेर शल्यक्रिया गर्दा खर्च धेरै लाग्यो। एकातिर जानुकालाई ऋण लाग्यो भने अर्कातिर अभिषेकको घाउ निको भएन। छोरालाई माइतमा छाडेर जानुका फेरि खर्च जोहो गर्न कुबेत गइन्। तर, छोरालाई पीडा थपिँदै गएपछि ४ महिना नपुग्दै उनी घर फर्किन बाध्य भइन्।

खुट्टामा घाउ बढेपछि अभिषेकको पढाइ रोकिएको छ। खुट्टो सुन्निएर ठूलो भएकाले उनी हिँडडुल गर्न सक्दैनन्। बोकेर घरभित्र–बाहिर गराउनुपर्छ। मालबाँसेको दुर्गम क्षेत्रमा पर्ने उनको घरसम्म गाडी पुग्दैन। ‘अप्रेसन गरेर खुट्टा पूरै फाल्दा निको हुन्छ भनेर डाक्टरले भनेका थिए तर डाक्टरले त्यसो भन्दा हामीसँग अप्रेसन गर्ने पैसा थिएन,’ जानुकाले भनिन्, ‘अहिले त शरीरभरि रोग फैलिएको छ रे।’ तर, डाक्टरले उपचार गराउँदा निको हुने सम्भावना रहेको बताएकाले आफूलाई उनको उपचार गराउन मन लागेको जानुकाले बताइन्। ‘अहिलेसम्म करिब साढे ९ लाख रुपैयाँ खर्च भयो, मैले विदेशबाट बचाएर ल्याएको पैसा पनि सबै सकियो,’ उनले गहभरि आँसु पार्दै सुनाइन्, ‘छोरा अहिले पनि सिकिस्त छन्, सास छउञ्जेल आस हुँदोरहेछ। अस्पताल लैजान पाए जाती हुन्छ भन्ने लाग्छ तर खर्च छैन।’

पति अर्की श्रीमती लिएर बेपत्ता भएपछि जानुकाको परिवारमा समेत किचलो भयो। त्यहीक्रममा कसैले उनको घरै भत्काइदिए। घरको बिजुली चुडाएर लगिदिए। एकातिर छोराको पीर, अर्कातिर पति दोस्रो बिहे गरी बेपत्ता। घरमा समेत किचलो भएपछि छिमेकी समेतको समन्वयमा उनको घर त बन्यो तर जंगलको एकलासमा भएकाले रोगी छोरासँग एक्लै बस्न उनलाई सजिलो भएन। अहिले जानुका नजिकै रहेको माइतघरमा बस्छिन्। माइतघर पनि पहिरोको जोखिममा छ।

माइतघरको पनि आर्थिक अवस्था अत्यन्त नाजुक छ। घरमा हात–मुख जोर्ने मेलो नभएपछि जानुका अर्काको घरमा दिनहुँ मेलापात गर्न जान्छिन्। जानुकाका भाइ हस्तबहादुर गिरी परिवारमा बिहान–बेलुकाको छाक टार्ने खर्च जुटाउन भारतमा रोजगारी गर्न गएका छन्।

स्थानीय मालबाँसे आधाभूत विद्यालयकी शिक्षिका चन्द्रकुमारी खनाल गम्भीर बिरामी भएकै कारण अभिषेकको पढाइ ठप्प भएको बताउँछिन्। ‘हुन त अभिषेकले हाम्रो विद्यालयबाट कक्षा ५ उत्तीर्ण गरिसकेका छन् तर बिरामी परेपछि त्योभन्दा थप पढाइका लागि स्कुल जान सकेनन्,’ उनले भनिन्, ‘परिवारमा आर्थिक अवस्था नाजुक छ, उनको उपचारमा समेत ठूलो समस्या परिरहेको छ।’ शिक्षिका खनालले अभिषेकको उपचारमा सहयोग गर्न सबैलाई आग्रहसमेत गरिन्।  

प्रकाशित: ४ असार २०८० १४:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App