२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सगरमाथाको काखमा शिक्षाको ज्योति

आलेख

सर्वोच्च शिखर सगरमाथाका प्रथम आरोही एडमण्ड हिलारीले स्थापना गराएको खुम्जुङ माध्यमिक विद्यालयले जिल्लाको शैक्षिक विकासमा योगदान पुर्‍याउनुका साथै अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल भएको छ। शिक्षाको अवसरबाट वञ्चित जिल्लाको विकट खुम्जुङमा सन् १९६१ (विसं २०१८) मा हिलारीले सो विद्यालय स्थापना गराएका थिए।

सन् १९५३ मा हिलारी र तेन्जिङ नोर्गे शेर्पा यतैबाट सगरमाथा आरोहण गरेको स्थानीय मान्यता रहेको छ। स्थानीय लाक्पा गेलु शेर्पाका अनुसार सुरुमा दार्जिलिङ तर्फबाट आरोहण गर्ने प्रयास गरेका हिलारी उताबाट आरोहणमा नसकेपछि नेपाल तर्फबाट सफल आरोहण गरेका थिए। सोही क्रममा हिलारीलाई यहाँको अशिक्षाले प्रभावित बनाएपछि सो विद्यालयको स्थापना गरे। तत्कालीन समयमा प्रि-प्राइमरी कक्षा ४ सम्म पढाइ हुने गरी विद्यालयको स्थापना भएको थियो।

‘विद्यालय स्थापना हुँदा यहाँ शिक्षकसमेत थिएनन्, दार्जिलिङबाटै शिक्षक झिकाएर पढाइ हुन्थ्यो।’ सोही विद्यालयका विद्यार्थीसमेत रहेका शेर्पाले भने, ‘कडा अनुशासनको बीच भारतीय शिक्षकको पढाइ हुन्थ्यो।’, ‘हिउँ पन्छाएर खाली खुट्टा नै पढ्न आउने गरेका थियौं’ पुराना दिन सम्झिँदै भने शेर्पाले ‘हुनेखाने परिवारका दुईतीन विद्यार्थीको खुट्टामा मात्र जुत्ता हुन्थ्यो।’

विद्यालय स्थापना भएको पहिलो ब्याचका विद्यार्थी नै २०२७ सालमा नेपाल प्रथम भएको शेर्पा बताउँछन्। पहिलो ब्याचका बिद्यार्थी आङ्गरिता शेर्पा खुम्जुङमा ४ कक्षा पढेपछि त्यहाँबाट गोरखा र पछि आनन्दकुटी विद्यापीठ हदै २०२७ सालको एसएलसीमा नेपाल प्रथम भएको उनले बताए।

यस विद्यालयले अहिले भौतिक रूपमा काँचुली फेरेको छ। अहिले यहाँ हिउँ पन्छाउँदै पढ्नुपर्ने बाध्यता छैन, विद्यालयको आफ्नै भवनसहित सुविधायुक्त कक्षाकोठा निर्माण भइसकेका छन्। बाहिर सामान्य हिमपात भए पनि यहाँ पढाइ रोकिन्न। उनै हिलारीको नाममा स्थापित हिमालय ट्रस्ट र अन्य मध्यवर्ती संस्थाको सहयोगमा विद्यालयका भवन भूकम्पप्रतिरोधी तथा न्यानो कक्षाकोठा निर्माण गरिएको छ।

विसं २०६८ देखि विद्यालयमा अंग्रेजी भाषामा पठनपाठन हुँदै आएको छ। स्थानीय भाषाअन्तर्गत तिब्बतीयन मस्लको ‘सम्बोटा लिपि’को पढाइ हुन्छ। कक्षाकोठा प्रविधिमैत्री छन्। १ देखि ५ कक्षासम्मका विद्यार्थीलाई पढ्न पर्याप्त सहयोगी तथा शैक्षिक सामग्री कक्षाकोठामा नै राखिएको छ। पुस्तकालय भवन छुट्टै बनाइएको छ। विद्यालयमै सुविधा सम्पन्न इ- लाइब्रेरी छ। कक्षा ९ र १० का विद्यार्थीलाई स्मार्टबोर्डमा पढाइ हुँदै आएको छ। वार्षिक परीक्षाहरूमा पनि यस विद्यालयले जिल्लामै अब्बल नतिजा ल्याउन सफल भएको छ।

विद्यालयका प्रधानाध्यापक नवाङ दोर्जे राईले विद्यालयले स्थापनाकालदेखि नै गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको बताए। विद्यालयमा खुम्जुङको मात्र नभई नाम्चे लगायतबाट पनि अध्ययनका लागि विद्यार्थीहरू आउने गरेका छन्। अहिले विद्यालयमा एक सय ४९ छात्रा र एक सय ४७ छात्र गरी दुई सय ९६ विद्यार्थी रहेको राईले बताए।

विद्यालयमा हाल शिक्षकशिक्षिका गरी २१ जना कार्यरत छन्। निजी स्रोतमा कार्यरत शिक्षकलाई पनि दरबन्दीका शिक्षकलाई जस्तै सेवा सुविधा दिइएको छ। भौगोलिक विकटताले शिक्षक टिकाउनै गाह्रो छ। स्थायी शिक्षकबाहेक पाँच जनालाई हिमालयन ट्रस्टकाे आर्थिक सहयोगबाट र अन्यलाई निजी स्रोतबाट पारिश्रमिक व्यवस्थापन गरिएको उनले बताए।भौगोलिक विकटता एवं उच्च हिमाली क्षेत्रमा रहेको कारण विद्यालयमा विद्यार्थी टिकाउनै गाह्राे रहेको प्रधानाध्यापक राईको भनाइ छ।

‘वर्षामा त ठीकै छ, हिउँदमा शौचालयको कठिनाइ हुने गरेको छ।’ उनले भने, ‘धेरै हिमपात भए विद्यालय व्यवस्थापन समितिको बैठकले गरेको निर्णय अनुसार बिदा दिने गरेका छौं।’

चालीस जना क्षमता रहेको छात्रावासमा अहिले ११ विद्यार्थी मात्र रहेको उनले बताए।छात्रावासमा बस्ने विद्यार्थीबाट न्यूनतम शुल्कमा राम्रो खाने बस्ने सुविधासहित कपडा पनि विद्यालय नै व्यवस्थापन गर्ने गरिएको छ।

जेठ महिनामै सगरमाथा आरोहणको सत्तरीऔ वर्षगाँठ मनाइएको छ। यस अवसरमा न्यूजिल्याण्डका पूर्व प्रधानमन्त्री हेलेन क्लर्क, सर एडमण्ड हिलारीका छोरा पिटर हिलारी, नाति एलेक्जेण्डर हिलारी, तेन्जिङ नोर्गे शेर्पाको छोरा ज्याम्लिङ तेन्जिङ नोर्गे लगायत दर्जनौ विदेशी पर्यटक खुम्जुङमा जुटेका थिए।

यसै अवसरको फाइदा खुम्जुङ माध्यमिक विद्यालयका विद्यार्थीहरूले पनि उठाए। विदेशी पर्यटकहरूलाई लक्षित गरी उनीहरूले विभिन्न उपहार तयार पारेका थिए। जसलाई विदेशी पर्यटकहरूलाई रुचिपूर्वक अवलोकन मात्र गरेनन्, राम्रै दाम दिएर खरिद पनि गरे।

उपहार बिक्रीबाट आएको रकम विद्यालयको शिक्षकको तलब तिर्न र विद्यालय मर्मतका अन्य काममा प्रयोग गरिने विद्यालय व्यवस्थापन समिति अध्यक्ष समेत रहेका वडाध्यक्ष लक्ष्मण अधिकारीले बताए।

‘हिमाली क्षेत्र भएको कारण यहाँ शिक्षक र कर्मचारीहरुलाई रोक्नु हाम्रो लागि ठूलो चुनौती हो, यही कारण विद्यालयलाई जोगाइराख्न पनि गाह्रो भइरहेको छ। अधिकारीले भने, ‘हिमालयन ट्रष्ट, स्थानीय तह लगायतको सहयोग त छ नै हामीले पनि आफ्नै तरीकाबाट आयआर्जनको पहल गरिरहेका हुन्छौं।’

विद्यालयले आजयआर्जनको लागि विभिन्न कार्यक्रमको आयोजना गर्ने गरेको उनी बताउँछन्। पर्यटक आइरहने गाउँ भएको कारण कार्यक्रमहरूको आयोजना गर्ने र त्यहाँ विद्यार्थीहरूले बनाएका हस्तकलाका सामाग्रीहरू बिक्री गरी आम्दानी गर्ने गरेको उनले बताए।

यसरी गरिएको आम्दानी विद्यालय व्यवस्थापन समिति र शिक्षक, विद्यार्थीहरूको संयुक्त सहकार्यमा शिक्षकलाई तलब, विद्यार्थीलाई उपहार एवं विद्यालयको अन्य कामको लागि खर्च गर्ने गरिएको छ।

नाम्चेबाट करिब २ घण्टाको हिंडाइपछि स्याङबोचे कट्नेबित्तिकै सबैको मुखबाट ‘आहा’ शब्द निस्किन्छ। कारण हो टाढैबाट देखिने हरियो गाउँ खुम्जुङ। सेतो गुराँसले स्वागत गर्दै यो उपत्यका प्रवेश गर्नेको सबै थकान र पीडा मेटाइदिने गरेको छ। चारैतर्फ हिमालले घेरिएको खुम्जुङ, खुम्बु क्षेत्रको प्रसिद्ध पर्यटकीय स्थल पनि हो। प्रायः सबै घर हरियो जस्तापाताले छाएको कारण यसले हरित गाउँको नामले समेत पहिचान कमाएको छ। खुम्बिह्यूला, आमादम्बलाम लगायत हिमालका काखैमा रहेको यो गाउँ पर्यटकहरूको रोजाइमा पर्ने गरेको छ।

खुम्जुङ गाउँ खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ मा पर्दछ। यही वडामा विश्व सर्वोच्च शिखर सगरमाथा पनि पर्दछ। सगरमाथा आधार शिविरमा गोक्यो क्षेत्र हुँदै जानेहरू यही गाउँ हुदै जाने गर्दछन्। खुम्जुङ र खुन्दे गउँमा गरी करिब तीन सय घरधुरी रहेका छन्। तीन हजार आठ सय मिटर उचाइमा रहेको यो गाउँका प्रायः सबै घर हरियो जस्तापाताले छाइएका छन्।  

प्रकाशित: ४ असार २०८० ०८:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App