६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

प्रहरी नियन्त्रणमा डिआइजी सिलवालका १० घन्टा

काठमाडौं- नेपाल प्रहरीका डिआइजी नवराज सिलवाल आफ्नै संगठनको नियन्त्रणमा परेका छन्। ललितपुरको बालकुमारी बस्दै आएका उनलाई बिहानै प्रहरी टोली घरमै पुगेर नियन्त्रणमा लिएको थियो।

बिहान ८ बजे प्रहरी नियन्त्रणमा परेका डिआइजी सिलवाल सर्वोच्च अदालतको हस्तक्षेपपछि बेलुका ६ बजे नियन्त्रणमुक्त भएका थिए। बिहान घरबाट ल्याएको प्रहरीले साँझ उनलाई बिएन्डबी अस्पताल पुर्‍याएको थियो।

११ बजेदेखि ४ बजेसम्म उनलाई प्रधान कार्यालयमा रहेको अपराध अनुसन्धान विभागमा राखेर बयान लिइएको थियो।

कार्यसम्पादन मूल्यांकन फाराम किर्ते आरोपमा अनुसन्धानका लागि प्रहरीद्वारा गठित छानबिन समितिको निर्देशनमा उनलाई नियन्त्रणमा लिइएको हो।

'उहाँका बारे छानबिन गर्न गठित समितिले बयानका लागि प्रहरी प्रधान कार्यालय बोलाएको हो, पक्राउ गरेका हैनौं,' प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले भने, 'समितिको काम सकिएपछि उहाँलाई जहाँबाट ल्याइएको हो, त्यहीं लग्यौं।'

आइजिपीमा प्रकाश अर्यालको नियुक्तविरुद्ध सिलवालले सर्वोच्चमा हालेको रिट विचाराधीन छ। १९ गते सुनुवाइ तय भएको रिटमा अर्याल र प्रहरी प्रधान कार्यालयलाई समेत उनले विपक्षी बनाएका छन्।

अदालतमा विचाराधीन मुद्दाका वादीलाई मुद्दाको प्रतिवादीले नियन्त्रणमा लिएको भन्दै साढे ११ बजे सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट परेको थियो। बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै साढे २ बजे अदालतले उनलाई कानुन व्यवसायी शम्भु थापाको हाजिर जमानीमा छाडेर सर्वोच्चको रजिस्ट्रारलाई बुझाउन आदेश दिएको २ घन्टामा उनी नियन्त्रणमुक्त भएका थिए।

महानगरीय प्रहरी सहायता कार्यदल र महानगरीय प्रहरी परिसरको टोलीले भ्यान राखेर उनलाई करिब साडे ४ वजे हेडक्वार्टरबाट निकालेको थियो। प्रहरीले उनलाई अदालतमा भने बुझाएन।

प्रहरीको एक टोलीले सिलवाललाई प्रधान कार्यालयबाट भ्यानमा राखेर बाहिर ल्यायो। अधिवक्ता थापा आफ्नै गाडीमा थिए। उनीसँग अर्का कानुन व्यवसायी टीकाराम भट्टराई थिए।

प्रहरी भ्यान राखिएका सिलवाललाई प्रहरीले सर्वोच्चको गेटसम्म ल्याए पनि भित्र प्रवेश नगराई अस्पताल पुर्‍याएको थियो।

'म उहाँ (सिलवाल) सँगै थिएँ, भ्यान अदालतको गेटअगाडि आएर रोकियो र भित्र प्रवेश नगरी गयो,' भट्टराईले नागरिकसँग भने, 'पछि मलाई ओरालेर उहाँलाई मात्र लिएर गयो, कता लग्यो, थाहा छैन।'

दुईमहिने विवाद शृंखला

उपेन्द्रकान्त अर्यालको अवकाशपछि रिक्त प्रहरी महानिरीक्षक पदमा सरकारले जयबहादुर चन्दलाई फागुन १ मा नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध सिलवाल सर्वोच्च अदालत पुगेका थिए। उनको रिटको सुनुवाइका क्रममा सर्वोच्चले चैत ८ मा कार्यसम्पादन मूल्यांकनमा सिलवाल, अर्याल, बमबहादुर भण्डारी र चन्द रहेको भन्दै कार्यसम्पादनको आधारमा आइजिपी नियुक्त गर्न सरकारको नाममा आदेश दिएको थियो।

सरकारले कार्य सम्पादनमा प्रकाश अर्याल अगाडि रहेको भन्दै चैत २८ मा उनलाई आइजिपीमा नियुक्त गरेपछि सिलवालले २९ गते 'सरकारले कार्यसम्पादन मूल्यांकनमा छेडछाड गरेर आफूलाई कम नम्बर दिएको' दाबी गदर्ैै पुन सर्वोच्चमा रिट हालेका थिए।

सिलवालले रिटसँगै अर्याल र आफ्नो कार्यसम्पादन मूल्यांकन फारामको प्रति राखेर 'सरकारले किर्ते गरेर अर्याललाई बढी नम्बर दिएको' दाबी गरेका थिए। रिटमा उनले आफ्नो चार वर्षको कार्यसम्पादन नम्बर २ सय ६३ र अर्यालको २ सय ६२ रहेको दाबी गरेका थिए। सरकारले कार्यसम्पादन मूल्यांकनमा अर्यालको १५४.२ र सिलवालको १५२.४६ रहेको भन्दै अर्याललाई आइजिपी नियुक्त गरेको थियो।

मुख्य सचिवको नेतृत्वमा गठित समितिले निकालेको नम्बर र सिलवालले दाबी गरेको नम्बर फरक परेपछि ७ गते बसेको मन्त्रीपरिषद् बैठकले छानबिन गर्ने निर्णय गर्दै गृह मन्त्रालयलाई निर्देशन दिएको थियो।

सरकारको निर्देशनअनुसार गृहले आइतबार मन्त्रिपरिषद्को निर्णय राखेर सोही अनुसार गर्नू भन्दै प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएपछि आइजिपी अर्यालले डिआइजी विजयकुमार भट्टको संयोजकत्वमा छानबिन समिति गठन गरेका थिए।

सोही समितिले सोमबार सिलवाललाई बयानका लागि बोलाए पनि उनले सन्चो नभएकाले आउन नसक्ने भनेपछि सोमबार बिहान ८ बजे एसपी कमान्डको प्रहरी टोली बालकुमारीमा पुगी उनलाई नियन्त्रणमा लिएको थियो। तर, उनी टोलीको गाडीमा आउन नमानी आफ्नै गाडीमा निस्केका थिए। त्यसपछि उनी बालुवाटारमा रहेका कानुनी सहयोगी शम्भु थापासँग परामर्शका लागि गएका थिए। थापाको घरमा सिलवाललाई लिन महानगरीय प्रहरी परिसरले एसपीको कमान्डमा अर्को टोली पठाएको थियो।

उनी कानुनी सहयोगी थापालाई सँगै लिएर सोही टोलीसँग हेडक्वार्टर गएका थिए। उनलाई हेडक्वार्टरको अपराध अनुसन्धान महाशाखाको भवनमा राखेर समितिका संयोजक भट्टसहितको टोलीले बयान लिने प्रयास गरेको थियो।

उनले प्रारम्भमा स्वास्थ्य अवस्था ठीक नभएको र यो विषय सर्वोच्चमा विचाराधीन विषयसँग जोडिएको भन्दै बयान दिन मानेनन्। समितिका अधिकारीको आग्रहमा उनले किर्ते गरेको आरोप अस्वीकार गर्दै केही प्रश्नको जबाफ दिएका थिए।

स्रोतका अनुसार समितिलाई सिलवालको बयानको दृश्यसमेत रेकर्ड गर्न निर्देशन थियो। सोही अनुसार समितिले उनीसँगको कुराकानीको भिडियो खिचेको थियो।

अर्याललाई दर्ज्यानी चिह्न लगाउने कार्यक्रममा उपस्थित नभएको र प्रहरी प्रधान कार्यालयमा बसेको नीति समन्वय समितिको बैठकमा समेत नआएर चेन अफ कमान्ड उल्लंघन गरेको भन्दै प्रधान कार्यालयले छुट्टै स्पष्टीकरणसमेत सोधेको थियो।

कानुन उल्लंघन गरेको छैन : सिलवाल

डिआइजी नवराज सिलवालले आफूलाई बयानका लागि भन्दै अपहरणको शैलीमा आफ्नै संगठनले नियन्त्रणमा लिएको बताएका छन्।

नियन्त्रणमुक्त भएलगत्तै स्वास्थ्य समस्या देखिएपछि उपचारका लागि बी एन्ड बी अस्पतालमा भर्ना भएका उनले अस्पतालमै पत्रकार सम्मेलन गरेर कुनै अभियोगबिना नै जबरजस्ती लगेर बयान लिने काम गरेको बताए। 'जोसँग म लडिरहेको छु। उसैले पक्राउ गर्ने, उसैले बयान लिने, प्रपञ्च मिलाउने, फसाउने काम भयो,' ह्वीलचेयरमा बसेर पत्रकारमाझ सिलवालले भने, 'मुद्दालाई प्रभावित पार्ने गतिविधि भयो।'

कुनै कानुन उल्लघंन नगरे पनि आफूलाई अपराधीलाई झै व्यवहार गरिएको उनले बताए। कार्यसम्पादन मूल्यांकन फारम कसरी बाहिर आयो, भन्ने विषयमा सम्बन्धित जिम्मेवार व्यक्तिसँग अनुसन्धान गर्नुपर्ने बताउँदै उनले भने, 'म न्यायालयले जे भन्छ त्यो मानेर अघि बढ्छु।'

प्रकाशित: १२ वैशाख २०७४ ०२:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App