७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

बसमा साथी बनेर यात्रु लुट्ने दुईजना भारतीय पक्राउ

धादिङ- बसमा साथी बनेर धनमाल लुट्ने दुई जना भारतीय नागरिकलाई शुक्रबार धादिङ प्रहरीले पक्राउ गरेको छ।

                काँकडभित्ताबाट काठमाडौं आउँदै गरेको ना ६ ख ८४५१ नम्बरको रात्रीबसमा यात्रुलाई साथी बनाएर लुट्ने भारत विहारका रञ्जित कुवर गिरी र रवि कनल पृथ्वी राजमार्ग अन्तर्गत नौविसेबाट पक्राउ परेका हुन्। लुटेराहरुले मोरङ उर्लाबारी कमल श्रेष्ठ र झापा गणेश आचार्यलाई साथी बनाएर बसभित्रै लुटेको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी दिपेन्द्र पञ्जियारले बताए।

                भारतीय दुई लुटेराले बसको छुट्टाछुट्टै सिटमा बसेका श्रेष्ठ र आचार्यलाई विसालु पदार्थ मिसाएको जुस खान दिई बेहोस बनाएर औठी, सिक्रि र नगद पैसा लुटेको प्रहरीको बयानमा खुलेको छ। प्रहरीका अनुसार भारतीय कम्पनीले उत्पादन गरेको ‘मज्जा फ्रुट’ नामको जुसमा ‘लडपोज’ नामको विषाक्त औषधी मिसाएर खुवाइएको हो।

                लुटेराले गणेश श्रेष्ठको औठी, सिक्रि र ४ हजार नगद, अमर आचार्यको २० हजार नगद लुटेका थिए। होसमा आएपछि गरगहना र नगद सम्बन्धित व्यक्तिलाई फिर्ता गराइएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक जीवन निरौलाले बताए । विलको आधारमा लुटिएको औठी र सिक्रि गणेशको नै भएको पुष्टि भएपछि फिर्ता गराइएको उनले जानकारी दिए।

                श्रेष्ठ र आचार्यलाई बेहोस बनाएर लुटेको आशंकामा बसका अन्य यात्रुले प्रहरीलाई खबर गरेपछि घटना बाहिर आएको हो। लुटिसकेपछि नौविसेमा बसबाट ओर्लिए हुलिया परिवर्तन गर्नका लागि दारी कपाल काट्दै गरेको बेला लुटेरा पक्रिएको प्रहरी निरीक्षक निरौलाले बताए। पक्राउ परेका भारतीय लुटेरा रन्जित कुवर गिरी र रबी कुनल माथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ८ वैशाख २०७४ १४:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App