१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

काबेली नदी तटिय क्षेत्रका ३ घर परिवारलाई सुरक्षित स्थानमा सारियो,थप १९ घर जोखिममा

ताप्लेजुङमा बाढी पहिरोकाे वितण्डा

पानी पर्ने क्रम नरोकिएपछि काबेली नदीमा पानीको बहाव साविकभन्दा बढ्ने आशंकासहित नदी तटिय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न थालिएको छ। ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ४ तेल्लोक र वडा नं ७ खेवाङ प्रवेश मार्गको जोरपुल दोभान बजारका ३ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको स्थानीय इन्द्र घतानीले जानकारी दिए।  

उनका अनुसार आँपडाँडाबाट झरेको पहिरो खोलामा पुगेपछि थप जोखिमको आशंकामा जोखिम प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारिएको हो। ‘पहिरोले धन्न खोला चाँहि थुन्न पाएन’थप पहिरो झरे जोखिम पनि संगै बढ्ने आशंका दर्शाउँदै घतानीले भने।  

उता सबैभन्दा बढी प्रभावमा परेको याम्फुदिनको थुङ्गिमका १३ घर र थुमादिनमा ६ घर जोखिममा रहेका छन्। पानी पर्ने क्रम नरोकिएपछि अब त्यहाँका घर परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी गरिएको स्थानीय सोम राईले जानकारी दिए। उनका अनुसार याम्फुदिनस्थित कञ्चनजंघा मावि र स्थानीय स्वास्थ्य चौकी भवन समेत जोखिममा रहेका छन् भने पुरानो वडा कार्यालय रहेको स्थानभन्दा तलका घर तथा कार्यालयहरु सबै जोखिममा छन्।  

काबेली खोलामा आएको बाढीको कटान बढ्दा याम्फुदिनका जगतबहादुर राईको घर खोला बीचमा परेको छ भने तारामान गुरुङको घर समेत बस्न नहुने अवस्थामा पुगेको छ। याम्फुदिनस्थित ८ किलोवाट क्षमताको लघु जलबिद्युत परियोजनाको बिद्युतगृह नै बाढीको बगाएको स्थानीय मनकुमार राईले जानकारी दिए। सिरिजङ्गा गाउँपालिकामा निर्माणाधिन जलबिद्युत परियोजनामध्ये स्नोरिभर्सर परियोजनाको एउटा क्रसर,टान्सफर्मर र मजदुर बस्ने आवास बाढीले बगाएको परियोजना संयोजक मेघनाथ ढुङ्गानाले जानकारी दिए। यस्तै सोहि क्षेत्रको वल्लो भागमा हिलटन परियोजनाद्धारा निर्माणाधिन जलबिद्युत परियोजनाको पम्पप्रेशर मेसिन र एउटा मिक्सचर समेत बगाएको ढुङ्गानाले जानकारी दिए। 

बाढीले याम्फुदिनका दिलबहादुर मगरको एउटा गाई, एउटा भैंसी र सुँगुर समेत बगाएको छ। गत जेठ १३ गते मात्र उद्घाटन भएको सिरिजङ्गा र सिदिङ्गा गाउँपालिकाको जोड्ने बाँकेटारस्थित तावाखोला पुलको एकातर्फको भाग बगाएको छ। गाउँपालिकाको करिव ४ करोड १० लाख बढीको लागतमा बनेको यो पुल भर्खरै मात्र उद्घाटन गरी सञ्चालनमा आएको थियो।

प्रकाशित: १ असार २०८० ०५:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App