१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

काभ्रेमा भेटिए मध्यकालीन पुरातात्विक वस्तु

अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तारका क्रममा बनेपाको भैँसेपाटी क्षेत्रमा मध्यकालीन समयका  पुरातात्विक वस्तु भेटिएका छन्। उक्त क्षेत्रमा डोजर लगाई बाटो खन्ने क्रममा प्राचीन इँटाको पर्खाल, पानीको स्रोत, प्राचीन काठ र शिला फेला परेका हुन्।

पुरातात्विक वस्तु भेटिएपछि तत्कालै पुरातत्व विभागले डोजर लगाउने कार्य रोक्न लगाएको छ। विभागले यसबारे अध्ययनसमेत थालेको छ। विभागले गत जेठ २८ गते जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकलाई बनेपा नगरपालिका-१४ भैँसीपाटीमा डोजर लगाउने कार्य रोक्न पत्राचार गरेको हो।

सडक मापदण्डमै प्राचीन सम्पदा फेला परेपछि संरक्षणकर्मीले त्यसमा चासो देखाएका थिए। विभागको भक्तपुरका प्रमुख यमुना महर्जन नेतृत्वको टोलीले स्थलगत निरीक्षण गरेपछि ती संरचना मध्यकालीन समयको रहेको पुष्टि भएको हो।

महर्जनले उक्त क्षेत्र पुरानो ‘पदमार्ग’ भएकाले नेवारी भाषामा सो स्थानको नाउँ नै ‘फल्चाहिटी’ रहेको बताए। पदमार्गमा पानीको स्रोत भएको ठाउँमा पाटी हुने भएकाले सो स्थानमा पुरानो पाटी, ढुङ्गेधारा र कुवा समेत भेटिएका छन्। यी सम्पदालाई जोगाउन हाल उक्त क्षेत्रमा सडक विस्तारको काम रोकिएको छ। यस्तै विभागले राजमार्ग अन्तर्गत पर्ने बनेपा नगरपालिकालाई समेत उक्त कार्य रोक्ने सम्बन्धमा पत्राचारसमेत गरेको छ।

सूर्यविनायक धुलिखेल सडक विस्तार आयोजनाका प्रमुख राजेन्द्रमान दासले उक्त स्थानमा सडक निर्माणार्थ कसरी डिजाइन गर्ने भन्नेबारे सर्वपक्षीय सहमति बनाइने बताए। पुरातात्विक सम्पदा भेटिएको ठाउँमा डोजर नचलाउन पाँचखालका अभियानकर्मी श्रीकृष्ण धिमालले विभागमा निवेदन दिएका थिए।

गत फागुनदेखि अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार सुरु गरिएको थियो। उक्त सडकखण्ड तीन वर्षमा सक्ने गरी भक्तपुरको सूर्यविनायक-साँगा र साँगा-धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएको थियो। उक्त राजमार्ग निर्माणको २५ वर्षपछि सूर्यविनायक-धुलिखेल कुल १५ दशमलव पाँच किलोमिटर सडकखण्ड चार लेनमा विस्तार थालिएको हो।

सूर्यविनायक-धुलिखेल, धुलिखेल-सिन्धुली-बर्दिबास सडक आयोजना कार्यालयका अनुसार साँगा-धुलिखेल सडकखण्ड विस्तार कार्यका लागि चार अर्ब पाँच करोड ६४ लाख रुपैयाँको ठेक्का लगाइएको छ भने दोस्रो चरणमा निर्माण गरिने सूर्यविनायक-साँगा सडकखण्ड भने सात दशमलव पाँच किमी रहेको छ। उक्त खण्डको ठेक्का तीन अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा सम्झौता भएको हो।  

प्रकाशित: १ असार २०८० ०४:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App