२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

‘हिमचितुवा’ आङरिता सिकिस्त

काठमाडौं- बिनाअक्सिजन १० पटक सगरमाथा शिखरमा पुगेर ‘हिमचितुवा' को उपमा पाएका आङरिता शेर्पा बिरामी परेका छन्। बाँसबारीस्थित न्युरो अस्पतालमा उपचाररत शेर्पाको अवस्था गम्भीर रहेको परिवार स्रोतले बतायो।

शेर्पा अघिल्लो बिहीबार बेलुका मस्तिष्काघात भएपछि बेहोस  भएका थिए। त्यसलगत्तै उनलाई नेपाल मेडिकेयर अस्पताल पुर्‍याइएको थियो। मेडिकेयरमा नभएपछि उनलाई न्युरो अस्पताल लगिएको शेर्पाकी छोरी डोल्मा ल्हमु शेर्पाले जानकारी दिइन्।

शेर्पालाई पाँच दिन आइसियूमा राखेपछि मंगलबार बेडमा सारिएको छ। तर, अवस्था भने नसुधि्रएको नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पाले जानकारी दिए। ‘स्वास्थ्य अवस्थामा खासै सुधार आएको छैन’, उनले भने, ‘उहाँ सिकिस्त हुनुहुन्छ।’ आङछिरिङका अनुसार आङरिताको ब्रेनमा ब्लड जमेको, कलेजो र फोक्सोमा समस्या देखा परेको छ।

परिवारको आर्थिक अवस्था कमजोर रहेकाले आङरिताको सम्पूर्ण उपचार खर्च संघले बेहोरिरहेको छ। ‘अहिलेसम्मको उपचार खर्च हामीले नै गरिरहेका छौं,’ आङछिरिङले भने, ‘उहाँको अवस्था बारेमा खबर गरेपछि बुधबार बिहान पयर्टनमन्त्री, सचिव, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) आएर सरकारले खर्च बेहोर्ने वाचा गर्नुभएको छ।’

सन् २०१२ मा जेठा छोराको निधन भएपछि आङरिता शोकमा परेका थिए। गत शुक्रबार कान्छा छोरा लान्दरु शेर्पाको सगरमाथा आधार शिविरमा लडेर खुट्टा भाँच्चिएको छ। लान्दरु नेपाल मेडिकल कलेज जोरपाटीमा उपचाररत छन्।

आङरिताले १० पटकसम्म बिनाअक्सिजन सगरमाथा आरोहण गरेर कीर्तिमान कामय गरेपछि सरकारले हिमचितुवाको उपमा दिएको हो।

प्रकाशित: ४ वैशाख २०७४ ०२:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App