१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

आफ्नै वडामा खानेपानीको हाहाकार हुँदा पनि मेयर बेखबर

वीरगञ्ज महानगर छपकैया ३ कि सैरुन खातुन चर्को घाममा खानेपानीका लागि महानगर धाए पनि त्यसको सुनुवाइ नभएको बताउँछिन्।

खानेपानीको धारा घर घरमा पुर्याउछौ भन्ने आश देखाएर अहिले महानगरले घर जगाको कर अशुल्ने काम मात्र गरेको उनको भनाइ छ।  

खातुन भन्छिन्, 'अहिले ४२ डिग्रीको घाममा नत कमाइ छ नत घरमा खानेपानी नै छ यस्तो अवस्थामा महानगरले घरमा खानेपानीको पाइप जडान गरिदिन्छौ भनेपछि पानी पाउने आशमा घर को कर तिर्यौ तर अहिले नत खानेपानी नै पायौ नत मेयर र वडा अध्यक्षले एक पटक पनि सोध्न आए हामीहरु कसरी बाच्दै छौ।'

लामो समयको खडेरी पछि वीरगञ्जमा खानेपानिको हाहाकार मच्चिएको छ। खानेपानीको चापाकलहरु सुक्दै गएपछि अहिले वीरगञ्जमा खानेपानीको हाहाकार मच्चिएको हो। यता महानगरले मानव जीवनसंग खेलवाड़ गर्दै पानीको लोभ देखाएर जग्गाको कर असुल्ने काम गरेको स्थानीयको आरोप छ। बैशाख महिनादेखी नै छपकैया वडा न ३ मा खानेपानी को चापकल सुकेका छन्।

मेयर राजेशमान सिंहको घर पनि सोही वडामा छ तर उनी स्थानीयको समस्या बुझ्न एकपटक पनि टाेल पुगेका छैनन्। चुनावका बेला अनेकन प्रलोभन दिने नेताहरु अहिले पानीको समस्याले जनताहरु छट्पटी रहदा पनि आफूहरुको पीडा नबुझेको स्थानीय राजु सिंहले बताए।

महानगरले पानीको विषयमा केहि चासो नदेखाउदा सोहि टोलका ८० वर्षिय अहमद मियाँले आफ्नो घर अगाडी २० फिटको चापाकल जडान गरे। तर त्यहाँ आउने पानी खान योग्य नभएकाले खाना बनाउन मात्र प्रयोग हुने गरेको उनले बताए। मिया आफ्नो जीवनमा कहिल्यै पनि यस्तो पानीको समस्या नदेखेको बताउछन्। ७० वर्षिय रबेया खातुनले पनि यसरी तराइमा चापाकल सुक्ने समस्या पहिलो पटक भएको बताइन्।

अहिले छपकैया देखी मालपोतसम्म जाने गल्लिको बाटो खानेपानीको पाइप ओछ्याउने भन्दै खनिएको छ। आधाअधुरो पाइप हालेर बाटो बिगार्ने काम मात्र भएको स्थानीयको आरोप छ। काम अलपत्र छोडिदिंदा अहिले सो बाटो भएर बालबालिका तथा वृद्धहरुलाई आवतजावत गर्न समेत कठिनाइ भएको छ। यता खानेपानीको पाइप पनि कमसल खालको भएको भन्दै  स्थानीयहरुले विरोध गरिरहेका छन्।

छमकैया ३ का वडा सदस्य अब्दुल कलाम मियाँले भायतिय दुतावास र महानगरपालीकाको सहकार्यमा खानेपानीको पाइप बिस्तार हुने बताए। अहिलेको पाइपको बारेमा आफूलाइ केहि जानकारी नभएको उनले बताए।

रेशमकोठी वड नं. ५ का सुरेश कुमार गोयलले महानगरका कार्यालयमा १५ दिन अघि नै चापाकल जडानका लागी सबै कागजात पेश गरेको बताउँछन्। उनले अहिले सम्म ह्याण्ड पम्प जडानका लागी मोबाइलमा म्यासेज मात्र आएको तर नगरपालीका बाट र मेयर तथा वडा अध्यक्षले समेत कुनै चासो नदेखाएको बताए। खानेपानी को अभावको बारेमा नगरपालीका देखी संस्थानको कार्यालयमा सम्म धाउदा अहिले सम्म केहि नभको उनको गुनासो छ।  

मुर्ली वडा नं. १२ का धुव्र नारायण सिंहको पनि घरमा जडान गरिएको २ सय ६० फिटको चापाकल अहिले सुकिसेको अवस्था छ। छेउको कुनै घरमा पानी आएको छ भने छिमेकिले आफ्नो कलको पानी सुक्छ भन्दै दुइ तिन दिन बिराएर पानी दिने गरेका पिडा उनले सुनाए। यता वडा कार्यालयमा चापाकल जडानका लागी जादाँ मेयरले आफ्नो मान्छेको नाम लिस्ट तयार गरेर माथी बाटै पठाएको भन्दै फिर्ता पठाइने दिने गरेको उनले गुनासो गरे।  

गहवा वडा नं ८ का पुर्व वडा अध्यक्ष राजकिशोर गुप्ताले अहिले पानीको समस्या धेरै जटिल भएको अवस्थामा पनि पानीको बोर हाल्दा विभेद भइरहेको उनले बताए। ५ हजार भन्दा बढी भोटर रहेको सो वडामा अहिले आफ्नो मान्छे पहिचान गरेर काम भइरहेको उनको भनाइ छ। 

वीरगञ्ज महानगरले केहि दिन अघि निःशुल्क पानीट्याङ्की धारा जडान गर्ने जानकारी गराएको थियो। वर्षा नहुँदा र बढ्दो गर्मीका कारण सतहको पानी सुक्दा चाँपकल लगायतमा पानी आउन छोडेपछि महानगरले पानीको आभावलाई मध्यनजर गर्दै निःशुल्क पानीट्याङ्की धारा जडान गर्न लागेको मेयर राजेशमान सिंहले सामाजिक संजाल मार्फत जानकारी गराएका थिए।

मेयर सिंहले वीरगञ्ज महानगर पालिकाले वडा नम्बर १ देखि १७ र १९ मा नेपाल खानेपानी संस्थानसँग समन्वय गरेर ४ हजार घरधुरीमा निःशुल्क सरकारी धारा (खानेपानी संस्थान) बाट जडान गर्ने भएकोले वडावासीले सम्बन्धित वडाका वडाअध्यक्षसँग सम्पर्क गरी आफ्नो घरमा निःशुल्क धारा जडान गर्न अनुरोध गरेका थिए।

तर अहिले उनको धारा जडानको कुरा फेसबुकसम्म सीमित भएको स्थानीयहरुको भनाइ छ।

प्रकाशित: २९ जेष्ठ २०८० ०७:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App