३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

अत्यधिक गर्मीले जनजीवन प्रभावित

फाइल तस्बिर। (भैरहवा बजार)

बुटवल, भैरहवामा गर्मी अचाक्ली बढेको छ। गर्मीका कारण यस क्षेत्रको जनजीवन कष्टकर बनेको छ। बुटवल, भैरहवा सहितका जिल्लाका अन्य सहायक बजारमा चहल पहल घटेको छ। 

अत्यावश्यक काममा बाहेक सर्वसाधारण बाहिर निस्कन सकेका छैनन्। सहर चोक चौराहमा दिउँसो चहल पहल घटेको हो। सरकारी कार्यालयमा पनि सेवाग्राहीको संख्या कम छ। स–साना बालबालिका तथा वृद्ध वृद्धाहरूलाई गर्मीले बढी असर गरेको छ।

गर्मीले ज्याला मजदुरी गर्नेहरु सबैभन्दा बढी प्रभावित भएका छन्। फुटपाथमा व्यापार व्यवसाय गर्नेहरू गर्मीको मारमा परेका छन्।

सडक किनारमा उखुको जुस बेचेर गुजारा चलाउँदै आएका बुटवलका तेजप्रसाद गौतमले गर्मीले बजारको चहल पहल घट्दा व्यापार ठप्प जस्तै भएको बताए। दिनभर घाममा ग्राहक कुरेर बस्दा आफै बिरामी हुने अवस्थामा पुगेको गौतमको गुनासो छ।

रुपन्देहीमा निर्माण मजदुरको काम गर्ने दाङकी शिवकुमारी चौरधीले दिनभर चर्को घाममा मजदुरी गर्दा टाउको दुख्ने, बान्ता हुने जस्ता समस्या देखिएको बताइन। दैनिक मजदुरी नगरे परिवारको गुजारा नचल्ने भएकाले चर्को घाम सहेर काममा खटिनु परेको उनको गुनासो छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार भैरहवामा शनिबारको अधिकतम तापक्रम ४१.२ डिग्री सेल्सियस र न्यूनतम तापक्रम २८.८ डिग्री सेल्सियस मापन भएको छ। शुक्रबार यस क्षेत्रको अधिकतम तापक्रम ४२.५ डिग्री सेल्सियस र न्यूनतम तापक्रम २५.५ डिग्री सेल्सियस मापन भएको थियो। बिहीबार अधिकतम तापक्रम ४१ डिग्री थियो। पछिल्लो एक साता यता बुटवल भैरहवामा अधिकतम तापक्रम ४०–४२ डिग्रीको सेरोफेरोमा रहेको कार्यालय जनाएको छ।

गर्मी बढे पछि विभिन्न रोगका संक्रमण बढ्ने भएकाले अस्पतालमा बिरामीको भिड पनि बढ्दै गएको छ। तुलनात्मक रुपमा झाडापखाला, आउँ, ज्वरो, टाइफाइड, तथा जण्डीसका बिरामीको संख्या बढ्दै गएको सरकारी तथा निजी अस्पतालहरुले जनाएका छन्। गर्मी तथा लु बाट बच्न सेकसम्म दिउँसोको समयमा घरबाट बाहिर ननिस्कन, निस्कनै परे छाता ओढेर निस्कन, प्रशस्त पानी तथा झोल कुराहरू पिउन चिकित्सकहरूले सुझाव दिएका छन्।

खेतबारीमा लगाइएका बालीनाली चर्को घामले सुकेका छन्। गर्मी सगसगै पानी नपर्दा किसानले खेतमा धानको व्याड समेत राख्न पाएका छैनन्।

प्रकाशित: २७ जेष्ठ २०८० १४:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App