१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कार्यालय प्रमुखले बनाए नगरपालिकालाई अस्तव्यस्त

रौतहटको देवाही गोनाही नगरपालिकाका कार्यालय प्रमुख सिकिन्द्र साहले गर्दा पालिका अस्तव्यस्त बन्न पुगेको छ। जनप्रतिनिधिबिच फुट ल्याएर कार्यालय प्रमुख साहले आफूले चाहेजस्तो नगरपालिका चलाउन खोज्दा देवाही गोनाही नगरपालिका अहिले अस्तव्यस्त बन्न पुगेको छ।

कार्यालय प्रमुख साहले नगर प्रमुख नभए पनि बहुमत जुटाएर उपप्रमुखको नेतृत्वमा नगरपालिका संचालन गराउने दाउमा रहेका छन्। नगर प्रमुखविरुद्ध ठाडै खनिने गरेका कार्यालय प्रमुख साहले गर्दा नगरपालिका कार्यालयमा पुग्ने सेवाग्राहीहरु तथा नगर अस्पतालमा पुग्ने सेवाग्राहीहरु अत्यन्त पीडित बन्न थालेका छन्।

कार्यालय प्रमुख साहले नगर प्रमुख र उपप्रमुखबिच विवाद गराउन सफल भएका छन्। उपप्रमुखलाई परनियादेवी पटेललाई आफ्नो पक्षमा मिलाई कार्यालय प्रमुख साहले पावर र पहुँचको भरमा नगरपालिकामाथि कब्जा जमाउँदै आएका छन्।

देवाही गोनाही नगरपालिकाका रहेका नगर प्रमुखका सबै विरोधीहरुसित साँठगाँठ गरी कार्यालय प्रमुख साहले नगर प्रमुख बाहेकका व्यक्तिलाई नगरका योजनाहरु संचालन गर्न दिने आश्वासन दिएका छन्। मन्त्रालयमा आफ्नो मानिस रहेको भन्दै कार्यालय प्रमुख साहले देवाही गोनाही नगरपालिकाको सबै कामकाज ठप्प पार्न खोजेका छन्।

कार्यालय प्रमुख साहको कारण देवाही गोनाही नगरपालिकामा विकास निर्माणका कामहरु ठप्प भइसकेका छन्। आर्थिक वर्ष समाप्त हुनै लाग्दा कार्यालय प्रमुख साहले नगरको विकास निर्माण तथा सेवा र सुविधालाई पूर्णतया ठप्प पारेका छन्।

कार्यालय प्रमुख साहले गर्दा नगरको करोडौँ रुपैया फ्रिज हुने अवस्थामा पुग्न थालेकोमा स्थानीयवासी चिन्ता व्यक्त गर्न थालेका छन्। देवाही गोनाही नगरपालिका ९ धरहरीका किसुनदेव साहले नगरपालिकालाई नरकपालिका बनाउन खोजेको आरोप लगाएका छन्।

जनप्रतिनिधिबिच विवाद उत्पन्न गराएर खेल्नमा माहिर मानिएका कार्यालय प्रमुख साह देवाही गोनाही नगरपालिकामा रहेसम्म विकास निर्माणको कुनै पनि कामले गति लिन नसक्ने स्थानीयहरु बताउँछन्। यसअघि गौर र मौलापुर नगरपालिकामा रहँदा पनि साहले जनप्रतिनिधिबिच विवाद उत्पन्न गराएर आफूखुसी चल्ने प्रयास गरेका थिए। साहको यही प्रवृत्तिका कारण गौर र मौलापुरमा धेरै समय टिक्न नपाएका थिएनन्। देवाही गोनाहीका नगर प्रमुख कमजोर र सोझो भएको ठानेर साहले मौकाको फाइदा उठाएको देखिएको  छ।

नगर प्रमुख प्रेमलाल साहले कार्यालय प्रमुख साहलाई हटाएर अर्को हाकिम ल्याउने प्रयास गरेका छन् तर मन्त्रालयको मन्त्रीदेखि सचिवसम्म आफ्नो मान्छे रहेको धाक लगाउँदै कार्यालय प्रमुख साहले आफूलाई कसैले हटाउनै नसक्ने बताइरहेका छन्।

कसैले धोकाले पत्र बनाएर ल्याए पनि आफूले हाजिर हुनै देखिने र मन्त्रालयले आफूलाई सहयोग गरिरहेको साह धाक लगाउँछन्।

नगरपालिकामा भाँडभैलो मच्चाएर कार्यालय प्रमुख साह चालु आर्थिक वर्षको बजेटमा ठुलो रकम फ्रिज गराउने र आगामी आर्थिक बजेटको बजेटलाई पनि प्रभावित बनाउने योजनामा रहेको बुझिएको छ।

प्रकाशित: २७ जेष्ठ २०८० ०८:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App