१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

सुकुमबासीलाई लालपुर्जा वितरण सुरु: दश हजार बढीले दिए आवेदन

इलामको चुलाचुली गाउँपालिकामा सुकुमबासी/अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गरिँदै।

राष्ट्रिय भूमि आयोगको इलामस्थित कार्यालयले जिल्लाका २३ परिवारलाई जग्गाको लालपुर्जा प्रदान गरेको छ। आयोगले चुलाचुली गाउँपालिकास्थित सुकुमबासी/अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गरेको हो।

भूमिसुधार, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले चुलाचुली गाउँपालिकामा आयोजित समारोहमा उनीहरूलाई लालपुर्जा प्रदान गरिन्। मन्त्री श्रेष्ठले आयोगले अब परिणाममुखी काम गर्ने बताउँदै देशभरका आयोग अहिले तीव्रतासाथ लालपुर्जा वितरणको लक्ष्यमा अघि बढिरहेको बताइन्।

आयोगले जिल्लाका १० पालिकामध्ये चुलाचुली, सूर्योदय, माई र रोङमा सुकुमबासी/अव्यवस्थित बसोबासीले दिएको निवेदन अनुसार जग्गा नापजाँच लगायत काम गरिरहेको जिल्लास्थित कार्यालयले जनाएको छ। आयोग इलामका अध्यक्ष भक्त केसीले यसअघिका आयोगले गरेका कामलाई निरन्तरता दिँदै अहिलेको आयोग लालपुर्जा वितरणको चरणमा पुग्दै गरेको बताए। चुलाचुलीमा प्रतिपरिवार १० कठ्ठादेखि १ बिघासम्मको लालपुर्जा वितरण गरिएको छ।

जिल्लामा भूमिहीन सुकुमबासी र दलित सुकुमबासीको तथ्यांक संकलन हुने क्रममै रहेको र यकिन तथ्यांक आइनसकेको केसीले जनाए।

‘तथ्यांक अहिले पनि धमाधम आइरहेकाले कति परिवारलाई लालपुर्जा वितरण गरिने हो भन्नेबारे यकिन भइसकेको छैन,’ उनले भने, ‘काम निरन्तर भइरहेको छ। पालिकाले जति छिटो विवरण पठाउँछन्, उति नै छिटो लालपुर्जा वितरणको प्रक्रिया अघि बढ्छ।’

उनले जिल्लास्थित आयोगमा सुकुमबासी/अव्यवस्थित बसोबासीका १० हजारभन्दा बढी आवेदन परेको जनाए। वडा र पालिकामै सुकुमबासी/अव्यवस्थित बसोबासीको विवरण संकलन, पहिचान र प्रमाणीकरणसमेत हुने भएकाले पालिकाबाट विवरण आउन ढिलाइ हुने गरेको उनको भनाइ छ।

चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले करिब साढे ४ महिनाको मेहनतपछि पालिकाका २३ परिवारलाई लालपुर्जा प्राप्त गर्ने अवस्थासम्म पुर्‍याएको बताए। 

‘पालिकामा ७ सय ७२ आवेदन परेकामा २३ जनाले लालपुर्जा पाएका हुन्,’ उनले भने, ‘अब थप २६ जनाले साताभित्रै लालपुर्जा पाउनेछन्।’ 

उनले अबको वर्ष दिनभित्र चुलाचुलीका सबै सुकुमबासी/अव्यवस्थित बसोबासीले लालपुर्जा पाउने गरी पालिकाले पनि तयारी तीव्र पारेको जानकारी दिए।

प्रकाशित: २४ जेष्ठ २०८० १३:४२ बुधबार