४ वैशाख २०८१ मंगलबार
समाज

धनगढीमा ९ महिनादेखि प्लास्टिकमा प्रतिबन्ध

पचासौं विश्व वातावरण दिवस

यस वर्ष पचासौं विश्व वातावरण दिवसको नारा ‘प्लास्टिकजन्य प्रदुषण निर्मुल पारौं, वातावरणमैत्री विकल्प उपयोग गरौं’भन्ने रहेको छ। प्लास्टिकले वातावरण र मानव स्वास्थ्यमा पार्ने प्रतिकुल असरका कारण यस वर्ष स्वर्ण दिवसका अवसरमा मनाउँदा सबैतिर प्लास्टिकजन्य वस्तु हटाएर विकल्प खोज्नुपर्ने आवाज उठेको छ। यता सुदूरपश्चिम प्रदेशको राजधानीसमेत रहेको धनगढी नगरमा भने धनगढी उपमहानगरपालिकाले प्लास्टिकजन्य पदार्थमा प्रतिबन्ध लगाएको ९ महिना भइसकेको छ।

गत असोज १ देखि धनगढी उपमहानगरपालिकाले प्लास्टिकजन्य सामग्रीमा प्रतिबन्ध लगाएर यसको विकल्प खोज्न सुरुवात गरेको थियो। प्लास्टिकका झोला, गिलास, कचौरा, प्लेटलगायतका सामग्रीमा उपमहानगरले प्रतिबन्ध लगाएको छ। प्लास्टिकमा प्रतिबन्ध लगाएपछि धनगढीका पसलमा ग्राहकलाई सामग्री दिन व्यवसायीले विकल्प रोजेका छन्। व्यवसायीले फाइबर, कपडालगायतका झोला प्रयोग गर्दै आएका छन् भने समान किन्न जाने उपभोक्ताले समेत आफैं झोला बोकेर जाने गरेको स्थानीय बताउँछन्। ‘कुनै पनि पसलमा हिजोआज प्लास्टिकका झोला देखिँदैन, प्लास्टिकमा प्रतिबन्ध लगाएपछि अन्य विकल्प प्रयोग गर्ने गरिएको छ’, स्थानीय व्यवसायी महेश दाहाल भन्छन्, ‘धनगढी उपमहानगरले गरेको काम प्रशंसनीय छ।’ यसैगरी प्लास्टिकका प्लेट, गिलास, कचौरा पनि बजारमा देखिँदैन।

धनगढी उपमहानगरका मेयर गोपाल हमाल वातावरण र मानव स्वास्थ्यका लागि धेरै हानिकारक भएकाले प्लास्टिकजन्य पदार्थमा प्रतिबन्ध लगाइएको बताउँछन्। विश्व वातावरण दिवस पारेर सरकारले प्लास्टिकको विकल्प खोज्नुपर्ने भनिरहेका बेला धनगढी उपमहानगरले ९ महिनाअघि नै यसको कार्यान्वयन गरिसकेको थियो। ‘सबैभन्दा पहिला प्लास्टिकमा प्रतिबन्ध लगाउने हामी हौं’, मेयर हमालले भने, ‘वातावरण र मानव स्वास्थ्यलाई ध्यानमा राखेर ९ महिनाअघि नै हामीले प्लास्टिक प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयनमा ल्याएका थियौं, जुन निर्णय कार्यान्वयन गर्ने विषयमा आवाज उठाइरहेको छ।’  

प्लास्टिक कुहिँदैन। यसलाई जलाउँदा उत्पन्न धुवाँले वातावरण प्रदुषण गर्छ। यसको धुवाँ धेरै हानिकारक हुने विज्ञ बताउँछन्। यसैगरी प्लास्टिकमा प्रयोग गरिएका खानेकुराले शरीरमा हानि पु¥याउने गर्छ। दोस्रो विश्वयुद्धका बेला प्लास्टिक चलनमा आएको हो। यतिबेला प्लास्टिकको प्रयोग विश्वव्यापी रहेको छ। धनगढी उपमहानगरले सुर्तीजन्य पदार्थ, गुट्कामा पनि प्रतिबन्ध लगाउँदै आएको छ।

दुना र टपरी प्लास्टिकको विकल्प  

धनगढीमा प्लास्टिकका कचौरा र प्लेटमा प्रतिबन्ध लगाएपछि विकल्पका रूपमा पातका दुना र टपरी प्रयोग हुन थालेको छ। नगरबासीले भोजभतेरलगायतका कार्यक्रममा प्लास्टिकका प्लेट, थाल, कचौराको सट्टा सालका पातका दुना र टपरी प्रयोग गर्न थालेका छन्। दुना र टपरीको प्रयोगले एकातिर वातावरण र मानव स्वास्थ्यलाई राम्रो भएको छ भने अर्कातिर दुना र टपरी बनाउने काम पाएर स्थानीय महिला स्वरोजगार बन्न थालेका छन्। धनगढी उपमहानगरले विभिन्न वडाका महिलालाई दुना र टपरी बनाउने एक साताको तालिम दिएर मेसिनसमेत उपलब्ध गराएको छ। उपमहानगरले स्थानीय महिलालाई टपरी र दुना निर्माण गर्नसमेत लगाएको छ। बजारमा बिक्री नभएमा धनगढी उपमहानगरले खरिद गरिदिने भएको छ।

धनगढी उपमहानगर वडा नं ६, ११, ७, १३, १८ र १६ मा महिला समुहलाई तालिम र मेसिन उपलब्ध गराएर पातका दुना र टपरी बनाउने कार्यको थालनी गरिएको छ। प्लास्टिकका प्लेट, थालमा रोक लगाइएपछि महिला समुहले बनाएका दुना र टपरीको माग बजारमा बढेको स्थानीय बताउँछन्। चाट बेच्ने एक व्यवसायीले मात्र दिनको ५ सय दुना प्रयोग गर्ने गरेको पाइएको छ। वडा नं १३ हिमाली टोलका हिमाली समुहका अध्यक्ष ममता बानियाँले धनगढी उपमहानगरले एक हप्ताको तालिम दिएर मेसिन उपलब्ध गराएकाले गत फागुनदेखि दुना र टपरी निर्माण सुरु गरेको बताए। समुहमा जंगलमा गएर पात टिपेर मेसिनबाट दुना र टपरी उत्पादन गर्ने उनको भनाइ छ।

घरको काम भ्याएर खाली समयमा दुना र टपरी बनाएर बिक्री गर्दा आफ्नो खर्च जुटाउन सकिएको ममताले बताइन्। बाहिर गएर दुःख गर्नुभन्दा घरमै दुना र टपरी बनाएर बिक्री गरी आयआर्जन गर्न पाउँदा खुसी लागेको छ। बिजुलीको उपलब्धता र मेसिनको संख्या बढाएर धेरै उत्पादन गर्न सकिने उनको भनाइ छ।

प्रकाशित: २३ जेष्ठ २०८० ०१:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App