१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सिंगापुरको सपना देखाउँदै ३९ जनाबाट १० करोड ठगी

बिदेसिनेका व्यथा

आफुलाई पत्रकारको रूपमा चिनाउने सुजन आचार्यले विभिन्न जिल्लाका ३९ युवालाई विदेश लैजान भनेर ठगी गरेको खुलासा भएको छ। आचार्यले सिंगापुरको सपना देखाउँदै उनीहरूलाई बिल्लिबाँठ गराएको पाइएको हो। सबैसँग गरी आचार्यले १० करोड रूपैयाँ ठगी गरेको दाबी गरिएको छ।

पीडितहरूका अनुसार उदयपुरको त्रियुगा नगरपालिका–१० मा स्थायी घर भई हाल सिंगापुर बस्दै आएका आचार्यले सिंगापुरमा आफ्नै कम्पनी रहेको र ती कम्पनीमा आकर्षक तलब सुविधासहितको रोजगारी दिने आश्वासन दिएका थिए। उनले मासिक ३ हजारदेखि ४८ सय सिंगापुर डलरसम्म कमाइ हुने भनी युवाहरूलाई प्रलोभनमा पारेका थिए। २०७९ सालयता विभिन्न समयमा गरी आचार्यले एकजनाबाट ७ लाखदेखि २० लाख रूपैयाँसम्म असुलेको पीडितहरूको दाबी छ।

पीडितहरूले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर सिंगापुरमा पठाइदिने भन्दै आचार्यले आफूहरूमाथि ठगी गरेको बताए। उक्त ठगीधन्दामा आचार्यकी प्रेमिका भनिने बिनु शाक्य पनि संलग्न रहेको उनीहरूको भनाइ छ। भक्तपुर घर भएकी शाक्य बेली डान्सर पनि हुन्। त्यस्तै आचार्यकी सानीमाका छोरा (भाइ) झापाको बाह्रदशी गाउँपालिका–६ का २० वर्षीय सृजन निरौला पनि ठगी धन्दामा सामेल रहेको बताइएको छ। आचार्यले बिनु, सृजनलगायतलाई परिचालन गरेर आफूहरूबाट रकम असुलेको पीडितहरूका भनाइ छ। अछामका अनिल अधिकारीले सिंगापुर जाने सपना देखेर ४६ लाख रकम आचार्यलाई बुझाएको बताउँछन्। काठमाडौंमा एक वर्षअघि आचार्यसँग भेट भएको र सिंगापुरका पाँचतारे होटलहरूमा आफ्नै करोडौं सेयर लगानी रहेको हुँदा म्यानेजर पदमा लगाइदिने आश्वासन दिएर पैसा असुलेको अधिकारीको भनाइ छ। आचार्यको भनाइ उद्धृत गर्दै अधिकारीले भने, ‘नेपालमा दुःख गर्ने दिन गए। अब सुखको दिन आएको छ। सिंगापुर जाने, करोडौंको मालिक हुने।’ सुरुमा यस कुरालाई विश्वास नगरेपनि आचार्यले सिंगापुर नै घुमाएर सबै बुझाएको हुँदा अधिकारीले विश्वास गर्ने ठाउँ पाएको बताए।  

आचार्य पहिले पनि ठगी र ब्ल्याकमेलिङजस्ता आरोपमा पक्राउ परी छुटिसकेका व्यक्ति हुन्। यसअघि योजनाबद्ध तरिकाले पीडितलाई पटकपटक फोन गरी तथा प्रत्यक्ष भेटेर डर, धम्की तथा त्रास देखाई ७ करोड रूपैयाँ माग गरेको अभियोगमा गत वर्ष जेठको दोस्रो सातातिर सातजना पक्राउ परेका थिए, जसमा आचार्य पनि एक हुन्।  

पैसा बुझाउनेमध्ये केही व्यक्तिलाई आचार्यले ‘ट्राभल हिस्ट्री’बनाउनुपर्ने भन्दै भिजिट भिसामा सिंगापुर बोलाए। अछामका अनिल अधिकारी र प्रेम साउद, कैलालीका पारस अधिकारी र प्रकाश बिके, झापाका मनोज उप्रेती, अभिषेक श्रेष्ठ र अमित तामाङ भिजिट भिसामा सिंगापुर गएका थिए।

त्यस्तै मोरङका ऋषिमान तामाङ, झापाका महेश तामाङ, काठमाडौंका सुमन दङ्गाल, बाँकेका अनिल भण्डारी र दाङका गोविन्द पुरीसमेत भिजिट भिसामा सिंगापुर पुगेका थिए।  

भिजिट भिसामा सिंगापुर गएका पीडितहरूका अगाडि आचार्यले आफू सिंगापुरस्थित एस ग्रुप ग्लोबल कम्पनीको मालिक हुँ भनी चिनाएको बताए। पैसा बुझाएका ३९ जनामध्ये पारस अधिकारीले भने, ‘नक्कली र फोटोसप गरिएका कागजपत्र देखाएका रहेछन्, त्यो बेला हामीले थाहै पाएनौं। विश्वासमा पर्यौं। कम्पनीले हस्पिटालिटी बिजनेसमा ठुलै लगानी गर्न लागेको र सिंगापुरको पाँच तारे भिलान्द्रो होटलमा पनि आफ्नो सेयर रहेको आचार्यले दाबी गरे।’ उनले थपे, ‘हामीलाई भ्रममा राख्न आचार्यले कुनै कसर बाँकी राखेनन्। आचार्य १० करोड रूपैयाँमा गोरखा, एभरेस्ट र हिमालयनजस्ता नेपाली रेस्टुरेन्ट किन्ने डिल भइसकेको बताउँथे।’  

एकपल्ट सिंगापुर पुगेर फर्किंदा ‘ट्राभल हिस्ट्री’बन्ने, त्यसपछि नेपालमा दुई महिना बस्नुपर्ने, यता बस्दा महिनाको हजार सिंगापुर डलरका दरले दुई महिनाको दुई हजार डलर पाउने, त्यसपछि फेरि सिंगापुर गएर आरामले काम गर्न पाइने आश्वासन दिएको पीडितहरूको भनाइ छ। ‘आकर्षक कमाइ हुने लोभमा जग्गा धितो राखेर ऋण निकाल्यौं, कसैले परिवारको गरगहना बेच्यौं, कतिपय साथीले त जग्गा नै बेच्नुभयो, कसैले सहकारीबाट ऋण काढ्यौं,’ उनले भने, ‘पैसा बुझाएको एक हप्तामा सिंगापुर उडाइदिने भनेकोमा एक वर्ष भइसक्दा पनि हुन्छ–हुन्छ भन्नेबाहेक कुनै काम भएन।’ प्रायः धेरै पीडितले बिनु शाक्यको नेपालस्थित इन्भेस्टमेन्ट बैंकको खातामा रकम राखिदिएको बताए। ठगीमा संलग्न उनी पनि लुकेर प्रेमी आचार्यसँगै सिंगापुरमै बसेकी उनीहरूले दाबी छ। पैसा सृजनले पनि लिएका हुन्। उनलाई प्रहरीले पक्राउ गरिसकेको छ। बिनु र सुजनका नाममा पनि पक्राउ पुर्जी जारी भएको छ। तर आचार्यले नेपालमा नेता, मन्त्रीदेखि प्रहरीका हाकिमहरूलाई समेत आफूले पैसा दिने गरेको दाबी गर्दै आएकाले न्याय पाउनेमा पीडितहरू सशंकित छन्।  

इन्टरपोलबाट दुईपटक पक्राउ पुर्जी  

ठगीको आरोप लागेका सुजन आचार्यविरुद्ध इन्टरपोलद्वारा दुई पटक पक्राउ पुर्जी जारी भइसकेको छ। तर अहिलेसम्म उनी पक्राउ परेका छैनन्। गत चैत २६ गते पहिलो पटक र जेठ १२ गते दोस्रोपटक इन्टरपोलद्धारा उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो। आचार्यविरुद्ध वैदेशिक रोजगार विभाग तथा नेपाल प्रहरीमातहतका विभिन्न कार्यालयहरूमा पनि उजुरी परेको पीडितहरूले बताएका छन्। यति हुँदाहुँदै आचार्य किन पक्राउ परेका छैनन् भनेर पीडितहरू आश्चर्यमा परेका छन्। आचार्यलाई शक्तिशाली व्यक्तिहरूबाट संरक्षण रहेको आशंका उनीहरूको छ। आचार्यलाई तत्काल कारबाही गरी कानुनी दायरामा ल्याउनुपर्ने उनीहरूको माग छ।  

पीडितहरूको नामावली

पारस अधिकारी, कैलाली, अनिल अधिकारी, अछाम, मीन अधिकारी, अछाम, प्रेम साउद, अछाम, राजेन्द्र साउद, अछाम, बिन्दु खत्री, अछाम, सुरेन्द्र शाह, कञ्चनपुर, भरेन्द्र सिंह, बाजुरा, कृष्ण शाही, कञ्चनपुर, भूपेन्द्र सिंह, बैतडी, अनिल भण्डारी, बाँके, नितेश , मैनाली, झापा, ऋषिमान तामाङ, मोरङ, उमेश मैनाली, झापा, कृष्ण चौधरी, झापा, प्रकाश विक, कैलाली, महेश तामाङ, झापा, सुमन दंगाल, काठमाडौं, अमित तामाङ, झापा, महेन्द्र तामाङ, झापा, रमेश सिंह मायल, कैलाली, जगदीश बस्नेत, काभ्रे, रविन सापकोटा, काभ्रे, जगमोहन बस्नेत, काभ्रे, आनन्द श्रेष्ठ, झापा, गोविन्द पुरी, दाङ, सञ्जय गिरी, दाङ, अभिषेक श्रेष्ठ, झापा, मनोज उप्रेती, झापा, केशव विक, कैलाली, भीम विक, कैलाली, अभिषेक आचार्य, झापा, प्रभुशरण अधिकारी, काभ्रे, बलराम पन्त, काभ्रे, विकास श्रेष्ठ, मोरङ, दिनेश दाहाल, काठमाडौं, थइन्द्र लिम्बू, पाँचथर, सौगात गोम्दे, झापा र सुधीर पराजुली, झापा।

प्रकाशित: २३ जेष्ठ २०८० ०१:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App