७ वैशाख २०८१ शुक्रबार
समाज

धनगढीमा नौ महिना देखि प्रतिबन्ध छ प्लाष्टिक

यस वर्ष पचासौँ विश्व वातावरण दिवसको नारा ‘प्लास्टिकजन्य प्रदूषणको निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने रहेको छ। 

प्लाष्टिकले वातावरणमा र मानव स्वास्थ्यमा पार्ने प्रतिकुल असरका कारण यस वर्ष स्वर्ण दिवसको अवसरमा मनाउँदा सवैतिर प्लाष्टिक जन्य वस्तु हटाएर विकल्प खोज्नुपर्ने अवाज उठेको छ। तर सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको धनगढी नगरमा भने धनगढी उपमहानगरपालिकाले प्लाष्टिक जन्य पदार्थमा प्रतिबन्ध लगाएको नौ महिना भइसकेको छ।

गत असोज १ गतेदेखि धनगढी उपमहानगरपालिकाले प्लाष्टिक जन्य सामग्रीलाई प्रतिबन्ध लगाएर प्लाष्टिकको विकल्प खोज्न सुरुवात गरेको थियो। प्लाष्टिकका झोला, प्लाष्टिकका गिलास, कचौरा, प्लेट लगायतका प्लाष्टिक जन्य पदार्थमा प्रतिबन्ध  लगाइएको छ। प्लाष्टिकमा प्रतिबन्ध लगाएपछि धनगढीका पसलमा ग्राहकलाई सामग्री दिन व्यवसायीहरुले प्लाष्टिकको विकल्प रोजेका छन्। व्यवसायीहरुले फाईभर, कपडा लगायतको झोला प्रयोग गर्ने गरेका छन्। भने समान किन्न जाने कयौँ उपभोक्ताले समेत आफै झोला बोकेर लैजाने समेत गरेको स्थानीय बताउँछन्।

‘कुनै पनि पसलमा आजभोलि प्लाष्टिकको झोला देखिँदैन, प्लाष्टिकमा प्रतिबन्ध लगाएपछि अन्य विकल्प प्रयोग गर्ने गरिएको छ’ स्थानीय व्यवसायी महेश दाहाल भन्छन्, ‘धनगढी उपमहानगरपालिकाले गरेको काम प्रशंसनीय छ’। यसै गरी प्लाष्टिकका प्लेट, गिलास, कचौरा पनि प्रतिबन्ध लगाएपछि बजारमा देखिँदैनन्।

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल प्लाष्टिक वातावरण र मानव स्वास्थ्यका लागी धेरै हानिकारक भएकाले धनगढी उपमहानगरपालिकामा प्लाष्टिक जन्य पदार्थमा प्रतिबन्ध लगाइएको बताउँछन्। अहिले विश्व वातावरण दिवसमा सरकारले प्लाष्टिकको विकल्प खोज्नुपर्ने भनेर भनिरहेको कुरा धनगढी उपमहानगपालिकाले ९ महिना अघि नै कार्यान्वयन गरेको हो।

‘देशभरिमै प्लाष्टिकलाई प्रतिबन्ध लगाउने सबैभन्दा पहिलो हामी हौँ’ मेयर हमालले भने, ‘वातावरण र मानव स्वास्थ्यलाई ध्यानमा राखेर देशभरी कुनै पनि ठाउँमा प्लाष्टिक प्रतिबन्ध नहुँदै हामीले प्लास्टिक प्रतिबन्ध लगाउने निर्णय गरेर कडाईका साथ कार्यान्वयन गरेका थियौँ’।

प्लाष्टिक कुहिँदैन। यसलाई जलाउँदा उत्पन्न धुवाँले वातावरणलाई प्रदूषण गर्छ। यसको धुवाँ धेरै हानिकारक हुने विज्ञहरू बताउँछन्। यसै गरी प्लाष्टिकमा प्रयोग गरेको खानेकुरा खानाले शरीरमा धेरै हानी पुर्‍याउने गर्छ। दोस्रो विश्वयुद्धका वेला प्लाष्टिक चलनमा आएर त्यसपछि मात्र प्लाष्टिकको प्रयोग बढेको बत्ताइन्छ। धनगढी  उपमहानगरपालिकाले प्लाष्टिक सँगै सुर्तीजन्य पदार्थ, गुट्का लगायतमा पनि प्रतिबन्ध लगाएको थियो।

प्लाष्टिकको विकल्पमा दुना टपरी

धनगढीमा प्लाष्टिकका कचौरा, प्लेटमा प्रतिबन्ध लगाएपछि विकल्पको रुपमा पातको दुना र टपरी प्रयोग गरिन थालेका छन्। नगरवासीले भोजभतेर लगायतका कार्यक्रममा प्लाष्टिकका प्लेट, थाल, कचौराको सट्टा सालका पातका दुना र टपरी प्रयोग गर्न थालेका छन्। प्लाष्टिकको विकल्पमा दुना र टपरीको प्रयोगले एकातिर वातावरण र मानव स्वास्थ्यका लागी राम्रो भएको छ भने अर्कोतिर दुना र टपरी बनाउने काम पाएर स्थानीय महिला स्वरोजगार बन्न थालेका छन्।

धनगढी उपमहानगरपालिकाले विभिन्न वडाका महिलाहरूलाई दुना र टपरी बनाउने एक साताको तालिम दिएर मेशिन उपलब्ध गराई दुना र टपरी निर्माण गर्न लगाएको छ। बजारमा बिक्री नभएमा महिलाहरुले निर्माण गरेका टपरी र दुना धनगढी उपमहानगरपालिकाले खरिद गरिदिने भनेको छ। धनगढी उपमहानगरपालिकाको वडा नं ६, ११, ७, १३, १८ र १६ मा महिला समूहलाई तालिम र मेशिन उपलब्ध गराएर पातको दुना र टपरी बनाउने कार्यको थालनी गरिएको छ।

प्लाष्टिकको प्लेट, थालमा रोक लगाइएपछि महिला समूहले बनाएका दुना र टपरीको माग बजारमा धेरै बढेको स्थानीय बताउँछन्। चाट बेच्ने एक व्यवसायीले मात्र दिनको ५ सय दुना प्रयोग गर्ने गरेको पाइएको छ। वाड नं १३ हिमाली टोलका हिमाली समूहका अध्यक्ष ममता बानियाले धनगढी उपमहानगरपालिकाले एक हप्ताको तालिम दिएर मेशिन उपलब्ध गराएकोले गत फागुन देखि दुना र टपरी निर्माण गर्न सुरु गरेको बताए।

समूहमा जंगलमा गएर पात टिपेर मेशिनबाट दुना र टपरी उत्पादन गर्ने उनको भनाई छ। घरको काम भ्याएर खाली समयमा दुना र टपरी बनाएर बिक्री गर्दा आफ्नो खर्च जुटाउन सकिएको उनले बताइन्। बाहिर अर्काको ठाउँमा गएर दुःख गर्नुभन्दा घरमै दुना टपरी बनाएर बिक्री गरेर स्वरोजगार बन्न पाउँदा धेरै खुसी लागेको छ।

बिजुलीको उपलब्धता र मेशिनको संख्या बढी भएमा अहिलेको भन्दा धेरै गुणा बढी दुना र टपरी उत्पादन गर्न सक्ने उनको भनाई छ। धनगढी उपमहानगरपालिकाले जति उत्पादन गरे पनि दुना र टपरी किनिदिने भनेको उनी बताउँछन्।

प्रकाशित: २२ जेष्ठ २०८० ०८:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App