७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

गुजुल्टिएका तारले बढ्यो जोखिम

काठमाडौं- करिब दुई महिनाअघि सिंहदरबार पूर्वी गेट अगाडिको सडक किनारमा रहेको विद्युत पोलमा आगो बल्यो।

– एक महिनाअघि लैनचौर खानी विभाग अगाडि पनि विद्युतको पोलमा ज्वाला र धुवाँ आए ।

– तीन साताअघि राजदरबारको उत्तर गेट अगाडि विद्युत पोलमा पनि सोही समस्या भयो ।

– साता दिनअघि कमलादीमा पनि उसैगरी ताप, राप र प्रकाश देखिए ।

यी घटनाले ठूलो आपत् त निम्ताएन । तर, समयमै दमकल आएर आगो नभिएको भए ठूलै संकट निम्त्याउन सक्थ्यो ।

आगोलागीका यी घटना भने पोलमा गुजुल्टिएर तानिएका  विद्युत, टेलिभिजन केबल, इन्टरनेट र दूरसञ्चारका तारले भएका हुन् । माकुराको जालोझैं तारहरु जेलिएका छन् । तानतुन गरेर झुन्ड्याइएका छन् ती तारहरु । जसले गर्दा बारम्बार सडकका पोलमा आगो बलिरहने बताउँछन् नेपाल विद्युत प्राधिकरणका सहायक इन्जिनीयर शिव पोखरेल । ‘जथाभाबी तार राख्दा समस्या भएको छ,’ इन्जिनीयर पोखरेल भन्छन्, ‘साता–दस दिनमा कुनै न कुनै ठाउँमा आगो लागिरहन्छ ।’ उनका अनुसार आगो बलेको कारण अहिलेसम्म ठूलो दुघर्टना नभए पनि सहरमा जुनसुकै बेला पनि आकस्मिक दुःखदायी स्थिति उत्पन्न हुन सक्छ ।

अव्यवस्थित तारले जोखिमसँगै सहरलाई कुरुप समेत बनाएको छ । भुइँसम्म असरल्ल तारमा अल्झिएर सर्वसाधारण लड्ने गरेका छन् । नेपाल विद्युत प्राधिकरणले सडकको किनारमा राखेका पोलमा अन्य संस्थाले जहीँतहीँ तार राख्दा यस्तो समस्या आएको बताउँछन प्राधिकरणका प्रवक्ता प्रबल अधिकारी । उनले पोलमा तानिएको प्राधिकरणको तारले भन्दा पनि अन्य निकायले मनपरी राखेको तारले समस्या भएको बताए । विद्युत प्राधिकरणको पोलमा विद्युत प्रसारणको तार सीमित र माथि रहेको छ भने केबुल, नेटलगायतका  तार तलतल धेरै राखिएका छन् । यही तारका कारणले समस्या बारम्बार निम्तिने अधिकारीको भनाइ छ ।

सहरको सुन्दरता कायम राख्ने जिम्मेवार निकाय काठमाडौं महानगरपालिका हो । यो निकायले पनि समन्वय नगर्दा गुजमुजाएर तार राख्ने कार्यलाई निरूत्साहित गर्न सकिएको छैन । महानगरपालिकाभित्र यस्तो सबैभन्दा बढी देखिएको छ । विशेषगरी सिंहदरबार, पुतलीसडक, त्रिपुरेश्वर, न्युरोड, असन, इन्द्रचोक, भोटाहिटी, कान्तिपथ, ठमेल, बागबजार, सुन्धारा, सोह्रखुट्टे, कालीमाटी, ताहाचल, नयाँबानेश्वर, पुरानो बानेश्वर, मैतीदेवी, तीनकुने, कोटेश्वर, गौशाला, चाबहिल, बौद्धलगायतका ठाउँमा बढी छ ।

महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत ईश्वर पौडेल समन्वय गर्न नसकिँदा तारले सहर कुरूप मात्रै नभएर जोखिम पनि बढेको स्विर्काछन् । ‘विगतमा जेजस्तो भए पनि अबका दिनमा कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर हामी छलफल गरिरहेका छौं,’ महानगरपालिकाका प्रमुख पौडेलले भने, ‘तत्काल र भविष्यका लागि व्यवस्थापन गर्नेबारे छिटै निष्र्कषमा पुग्ने छौं ।’ उनका अनुसार तत्कालका लागि निश्चित क्षेत्रमा प्राविधिकको परामर्शपछि सबै निकायलाई समन्वय गरेर तारको व्यवस्थापन गरिनेछ । भविष्यका लागि तारको भूमिगत सञ्जाल निर्माण तथा बिस्तारलाई प्रश्रय दिइने छ । यसका लागि महानगरपालिकाले अग्रणी भूमिका निर्वाह गर्ने पौडेलले बताए ।

प्राधिकरणका प्रवक्ता अधिकारीले भने सबै निकायलाई मिलेर योजना नै बनाएर अघि बढ्नुपर्ने बताउँछन्। ‘तार व्यवस्थापन चुनौतीको विषय बनिसकेको छ,’ उनले भने, ‘यसलाई प्राधिकरण वा महानगरपालिका कार्यालय मात्रै नभएर सम्बन्धित सबै  निकाय सबै बसेर समाधान गर्नुपर्छ ।’

प्राधिकरणले दूरसञ्चारको तारलाई विद्युत पोलबाट हटाउन सूचना तथा  सञ्चार मन्त्रालयलाई पटकपटक आग्रह गरेको छ । त्यसका बाबजुद पनि तार नहटाइएपछि सूचना तथा सञ्चार मन्त्रालय, प्राधिकरणलगायत सरोकारवाला मिलेर तार व्यवस्थापनबारे योजना बनाइने भएको छ । सबैका बीच हुने छलफलले प्रस्ट निष्र्कष निस्केर तार व्यवस्थापन हुने अधिकारीको भनाइ छ ।

प्रकाशित: २१ चैत्र २०७३ ०२:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App