coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जुम्लामा विपद् व्यवस्थापन गर्न नमुना अभ्यास

विपद् कार्य अभ्यास गराउँदै नेपाली सेनाको तस्बिर: गोल्डेन बुढा।

जुम्लामा विपद् व्यवस्थापन सम्बन्धी नमुना अभ्यास गरिएको छ।

जुम्लाको चन्दननाथ नगरपालिका- १ दानसाघुँको नमुना बस्तीमा जिल्लाका सुरक्षानिकायले विपद् उद्धार नमुना अभ्यास गरेका हुन्।

गर्मीयामको सुरुवातसँगै आगलागी जन्य विपद्का घटना बढ्न सक्ने भन्दै विपद् न्यूनीकरण अभ्यास तथा उद्धारका साथै प्राथमिक उपचारमा के–कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सशस्त्र प्रहरीले विपद् व्यवस्थापन नमुना अभ्यास गरेको हो।

आगलागी, भूकम्प, बाढी, डुबान जस्ता विपद्को अवस्थामा, विपद्को दौरान र विपद् पश्चात् कसरी सर्वसाधारणको उद्धार गर्ने भन्ने विषयमा अभ्यासले सिकाएको थियो।

अभ्यासले विपद्मा परेका नागरिकको जीउधनको सुरक्षामा ठुलो मद्दत पुर्‍याउने बताइएको छ। अभ्यासले विपद् कसैलाई सोधेर नआउने भएकाले सबैले सावधानी अपनाउन जरुरी रहेको सन्देश प्रवाह गरेको छ।

विपद् परेको अवस्थामा समुदायमा रहेका साधारण जनतालाई प्रयोग गरी घाइतेको उद्धार गर्न दक्ष बनाउने उद्देश्य हो। आगलागी जन्य विपद्का घटना आइपरेको खण्डमा प्रारम्भिक चरणमा गरिने खोज, उद्धार र प्रभावितलाई पुर्‍याउन सकिने प्राथमिक उपचार सहयोग जस्ता विषयलाई लक्षित गरी नमुना अभ्यास गरिएको जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष तथा जुम्लाका  प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताए।

विपद् पछिको खोज तथा उद्धारमा सशस्त्र प्रहरीले नमुना अभ्यास गरेका थिए भने विपद्मा परेकाहरूको उपचार व्यवस्थापन अभ्यास गरिएको थियो। नमुना अभ्यास आयोजित औपचारिक कार्यक्रममा बोल्दै प्रजिअ घिमिरेले विपद्का घटना जानकारी नदिई आउने भएकाले आम नागरिक सजग हुनुपर्ने बताए।

उनले कुनै पनि घटना समाजमा नहोउन् भन्ने उद्देश्यले जनचेतनामूलक कार्यक्रमका लागि विपद् न्यूनीकरण अभ्यास गरिएको बताए। उनले समाजमा पछिल्ला दिनमा ग्यासको प्रयोग बढ्दै गएकाले यसबाट उत्पन्न हुनसक्ने विपद्बाट सावधानी अपनाउनुपर्ने बताए।

घिमिरेले कुनै पनि विपद्का समस्या आए तत्कालै सुरक्षा निकायलाई खबर गर्न सबै नागरिकलाई समेत आग्रह गरेका छन्। कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय, जिल्ला विपत् व्यवस्थापन समितिको आयोजनामा उक्त अभ्यास गरिएको हो।

उद्धार टोलीमा प्रहरी, सशस्त्र प्रहरी र सेना तथा एम्बुलेन्स, विपत् व्यवस्थापन सामग्री तयारी अवस्थामा थिए। अस्पतालमा स्वास्थ्यकर्मी र सम्बन्धित निकायका पदाधिकारीहरू थिए। तयारीमा नन्दा बक्स गण, सशस्त्र प्रहरी गण, नेपाल प्रहरी, रेडक्रस सोसाइटी, चन्दननाथ नगरपालिका, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनस्वास्थ्य, शिक्षा समन्वय जुम्ला लगायतको समन्वय र सहकार्य थियो।

जुम्लामा विपतको क्षेत्रमा काम गर्ने गैरसरकारी संघसंस्था भकारी, किर्डाक, वर्ल्ड भिजन, पेस नेपालको पनि उपस्थिति थियो।

प्रकाशित: १९ जेष्ठ २०८० १५:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App