२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ठेकेदार सम्पर्कविहीन हुँदा भवन अधुरै

निर्माणाधीन आन्तरिक राजस्व कार्यालय दमौलीको कार्यालय भवन अधुरै रहेको छ। निर्माण सम्पन्न हुनुपर्ने समयमा कार्यालय भवन आधा निर्माण गरी ठेकेदार सम्पर्कविहीन भएका छन्।  

संघीय सरकारको पाँच करोड २१ लख रुपैयाँमा उत्तम भट्टराई सञ्चालक रहेको ओम इन्फ्राटेक/भीम ज्योति जेभीसित भवन निर्माणको सम्झौता भएको थियो। अठार महिनामा भवन निर्माण सम्पन्न गर्ने गरी २०७८ असोज २२ गते सो सम्झौता भएको हो।

विसं २०७९ चैतमा भवन निर्माण सक्नुपर्ने थियो। ठेकेदार सम्पर्कविहीन भएपछि भवन निर्माणको काम अधेरै रहेको कार्यालयका प्रमुख कर अधिकृत डमरुप्रसाद पराजुलीले बताए। निर्माणको काम रोकिएपछि ठेकेदारलाई पटक-पटक सम्पर्क गर्दा सम्पर्कसमेत हुन नसकेको उनले बताए। ‘निर्माणको समय सकिएपछि छ महिनाका लागि म्याद थप गरिएको छ, तर ठेकेदार हालसम्म सम्पर्कमा नै आएका छैनन, म्याद थप गरिएको पनि दुई महिना बितिसकेको छ, अझै सम्पर्कमा आएका छैनन्’, उनले भने।

ठेकेदारलाई हालसम्म तीनपटक पत्राचार गरिएको छ। ‘फोन सम्पर्क भएको छैन, पत्र इमेलमार्फत पठाएका छौं, अब पनि सम्पर्कमा आएन भने कानुनी उपचार खोज्छौं’, पराजुलीले भने, ‘समयमा काम सम्पन्न नगर्ने र सम्पर्कमा आएन भने कालोसूचीमा राख्न वा कम्पनी खारेजको मागसहित पत्रचार गर्ने तयारीमा छौं।’

समयमा भवन निर्माण भएको खण्डमा सेवाग्राहीलाई सेवा प्रवाहमा सहज हुने प्रमुख पराजुलीले बताए।

कर सेवा प्रवाह गर्दा सेवाग्राहीलाई लामो समय उभिएर बस्नुपर्ने बाध्यता रहेको उनले बताए। कार्यालयको भवन निर्माण सम्पन्न भएको खण्डमा सेवाग्राहीलाई सहज रूपमा सेवा प्रवाह तथा सेवाग्राहीलाई बस्ने व्यवस्था गर्न सकिने उनले बताए।  

प्रकाशित: १९ जेष्ठ २०८० ०६:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App