१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

हर्क साम्पाङको मोडल अपनाउँदै खोटाङमा पनि सुरु भयो श्रमदान अभियान

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले धरान उपमहानगर प्रमुख ‘हर्क साम्पाङ मोडल’ अपनाउँदै श्रमदान अभियान थालेको छ। १५ वडा रहेको नगरले साम्पाङ मोडल पछ्याउँदै नगरमा श्रमदान अभियान थालेको हो।

अभियानको सुरुमा नगरपािलकाका सबै वडावासीलाई ग्रामीण सडक मर्मत कार्यमा सहभागी गराइएको नगर उपप्रमुख बिसन राईले बताए। उनका अनुसार जनतालाई श्रमदानसँग जोडेर विकास निर्माणमा साझेदारी गराउँदै सानो लगानीमा ठुलो काम गर्ने अभियान सुरुवात गरिएको हो।

अभियानमा जिल्लामा क्रियाशील विभिन्न सङ्घसंस्थालाई पनि सहभागी गराइदैछ। सुरुवाती क्रममा नगरभित्रका सबै वडाका ग्रामीण कच्ची सडक मर्मत तथा स्तरोन्नतिको काम भइरहेको उपमेयर राईले बताए। देशको वर्तमान जर्जर आर्थिक अवस्थामा मर्मत गर्न आवश्यक बजेट नभएको सडकहरू श्रमदानबाटै भए पनि मर्मत गरेर सञ्चालनमा ल्याउने अभिप्रायले अभियानको अवधारणा अघि सारिएको उनले बताए।

देशमा बढ्दो आर्थिक सङ्कटले धेरै साना ठूला विकास निर्माण अवरोध आएको हुनाले सानो लगानीमै पनि श्रमदान मिसाउन सके अधुरा योजनाहरू पुरा गर्न र बिग्रे भत्केका सडकहरू मर्मत सम्भार गर्न सक्दा यातायात सुचारु गर्न सहज हुने भएकाले अभियान थालेको उनले बताए। 

नगरपालिकाको स्रोत साधन र बजेट कम भए पनि माग र आवश्यकता असीमित रहेकाले धान्न नसक्ने ठहरसहित श्रमदान अभियान सञ्चालनमा ल्याएको र यसले नगरवासीलाई उपलब्धि दिने ठहर पनि उपमेयर राईले गरेका छन्। नगरवासीले पाउनुपर्ने र नगरपालिकाले दिनुपर्ने सुविधा श्रमदानबाट होस् या बजेटबाट पाउन सक्नु नै सफल मान्नुपर्ने उपमेयर राईको बुझाई छ।

दिरुमझुवागढी नगरपालिका सबै पहाडी भूभाग भएकाले सबैतिर ग्रामीण सडक निर्माणाधीन छन् त कतै निर्माण भएर कच्ची सडक सञ्चालनमा छन्। तर, अधिकतर सडकहरू भत्के बिग्रेको अवस्थामा रहे पनि बजेट अभावमा नियमित मर्मत सम्भार तथा स्तरोन्नति गर्न सक्ने अवस्था नहुँदा श्रमदान अभियान फलदायी हुने अपेक्षा जनप्रतिनिधिहरुको छ। 

पहाडीकच्ची सडकहरू वर्षायाममा पहिरोले पुर्ने, भत्काउने तथा खाल्डाखुल्डी बनाएर पानी जम्दा चिप्लो, हिलो र भिरालो सडकमा सवारी आवागमन अवरुद्ध हुने गरेको छ। कच्ची सडकहरू नियमित मर्मत गर्न नसक्दा एक पटक मर्मत गरे पनि अर्को वर्षामा बिग्रेर जस्ताको तस्तै हुने भएकाले लगातार बजेट खर्च गरिरहने अवस्था नगरपालिको सामर्थ्यभन्दा बाहिरको कुरा हुने भएकाले श्रमदान एउटा उत्तम विकल्प हुने राईले बताए।

‘पहिलो कुरा नगरभित्रका सडकहरू कच्ची र भर्खर सञ्चालन भएका छन्, जुन हरेक वर्षायाममा भत्केरबारम्बार मर्मत गर्नुपर्ने हुन्छ’ श्रमदान अभियानको सुरुवात गर्दै उपमेयर राईले भने ‘हामीसँग सीमित बजेट रहेकाले एउटै सडक मर्मत गर्न बजेट दिइराख्न सम्भव नहुँदा जनतालाई श्रमदान अभियानसँग जोड्न खोजेका हौँ।’

श्रम संस्कारको विकास गर्न सके बजेट नहुँदा वा सानोतिनो बजेटमा पनि जनताको  साझेदारी भए ग्रामीण सडकहरू नियमित सञ्चालन हुने उनको अपेक्षा छ। गाउँलेलाई श्रमदानको संस्कार सिकाउन सके सबै वडाका ग्रामीण सडक बाह्रै महिना चल्ने बनाउन सकिने विश्वास पनि उनको छ।

श्रमदान अभियानलाई जिल्ला उद्योग वाणिज्य संघ, खोटाङ यातायात प्रालि, ट्याक्टर तथा ट्रिफर व्यवसायी संघ, स्थानीय टोल विकास संस्थाहरू र अन्य सर्व साधारणसमेतले खुसी साथ सहयोग गर्दै सहभागी पनि भएका छन्।

ट्याक्टर तथा ट्रिफर व्यवसायी संघमा आबद्ध एक व्यवसायीले पहिलो चरणको अभियानमै ४० हजार योगदान गरेको नगर प्रमुख तीर्थराज भट्टराईले बताए। प्रमुख भट्टराई, उपप्रमुख राई, वडाध्यक्ष ध्रुवविक्रम राई, संघसंस्थाका प्रमुख तथा प्रतिनिधिलगायत सहभागी पहिलो चरणका श्रमदानमा दिक्तेल–खार्मी–पाथेका सडक खण्डमा करिब १२ किलोमिटर सोल्माको ग्रामीण सडकको सफल मर्मत भएको छ।

जिल्लाको उत्तरी क्षेत्रलाई जोडेको सो सडक पहिरो खसेर केही दिनयता अवरुद्ध थियो। तत्काल मर्मत गर्न बजेट नभएको तर, वर्षाले अवरुद्ध भएको सडक खुलाउन श्रमदान अभियान चलाइएको उनले बताए। श्रमदान टोलीले सडकको पहिरो हटाउँदै खाल्डाखुल्डी पुर्ने, नाली बनाउने, पुरिएको नाली सफा गर्ने, झाडी सफाई गरेपछि यातायात सुचारु भएको छ। सो कार्यमा ४ वटा ट्याक्टर र एउटा जेसिबीसँगै झण्डै १ जना मानव जनशक्ति खटेको २ नं. वडाध्यक्ष ध्रुवविक्रम राईले बताए।

वडाध्यक्ष राईका अनुसार दिक्तेल–खार्मी–पाथेका खण्डको सोल्मा पहिरो र खाल्डाखुल्डी पुरेर सडक सुचारु भएपछि श्रमदानको महत्त्व रहेको भन्दै स्थानीयले जनप्रतिनिधिको प्रशंसा गरेका छन्। नगरपालिकाले जेसीबी र यातायात व्यवसायी संघले ट्याक्टर सहयोग गरेको अभियानमा मेयर भट्टराईलगायत जनप्रतिनिधि तथा संघसंस्थाबाट सहभागी जनशक्ति बेल्चा, झम्पल, गैँती र कोदालोजस्ता घरेलु उपकरण लिएर श्रमदान गर्न जुटेका थिए।

अभियानमा जिल्लामा क्रियाशील ट्याक्टर व्यवसायीहरू स्वस्फूर्तरुपमा सहभागी भएको मेरुङ कन्स्ट्रक्सन प्रालिका सञ्चालक भलकाजी पुरीले बताए। उनका अनुसार खोटाङमा १ सय ३० वटा ट्याक्टर रहेको र दिरुमझुवागढीभित्र मात्रै ८०/८५ वटा नियमित सञ्चालन हुँदै आएकाले सबैको योगदान हुने उनले बताए। नगरभित्रका सबै व्यवसायीको ट्याक्टर कम्तीमा १ दिन श्रमदान गर्न अनुरोध गरिएको पनि उनले बताए। हिउँदमा धुलो र वर्षामा हिलोले यातायात चलाउन नसक्ने अवस्था हुने नगरभित्रका ग्रामीण सडकहरू श्रमदानबाट नियमित मर्मत गर्न सके बाह्रै मास सवारी चल्ने बनाउन लागिएको छ।

अभियानमा दिक्तेल बहुमुखी क्याम्पसलगायत जिल्लाका शैक्षिक संस्थामा उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरूसमेतलाई सहभागी गराइने नगरपालिकाले जनाएको छ।

सरकारी संघसंस्था तथा सुरक्षा निकायलाई पनि अभियानमा सहभागी गराउन आग्रह गर्ने नगरपालिकाले जनाएको छ। श्रमदान अभियानले सानातिना विकास निर्माणका योजनाका लागि पनि सरकारकै मुख ताक्नुपर्ने संस्कृतिको अन्त्य गर्ने र आफ्नो काम गर्न आफै अग्रसर हुने संस्कारको विकास गर्ने ठहर नगरपालिकाको छ।

मेयर भट्टराईले श्रमदान अभियानलाई आफ्नो कार्यकाल भरी जारी राख्ने प्रतिबद्धता जनाएका छन्। उनका अनुसार यो सुरुवाती मात्र भएको र पहिलो चरणको अभियान सकिएपछि समीक्षा गरी अर्को चरणको श्रमदान सुरु गर्ने योजना नगरपालिकाले बताएको छ।

पहिलो चरणमा नगरभित्रका सबै ग्रामीण सडकहरू मर्मत गर्ने काम थालेको र यो अभियानलाई कार्यकाल भरी जारी राख्ने उनले बताए। अर्को चरणमा सार्वजनिक स्थलको मर्मत तथा सरसफाइलगायत गतिविधि सञ्चालन गर्ने र बिस्तारै नगरवासीमा श्रम संस्कृतिको विकास गरी अन्य योजना परियोजनाहरूमा पनि लागू गर्ने गरी नीति तय गर्ने मेयर भट्टराईको योजना छ।

नगरपालिकाको श्रमदान अभियानले श्रमदानको संस्कार सुरु गर्ने भन्दै नगरवासीलगायत अन्य स्थानीयतहहरुले पनि प्रशंसा गर्दै सामाजिक सञ्जालमा अभिव्यक्ति दिएका छन्। सदरमुकाम रहेको नगरपालिका र जिल्लाको प्रमुख व्यापारिक केन्द्रसहित सबै सकारकारी कार्यालयहरु केन्द्रित नगरपालिका क्षेत्रफलको हिसाबले जिल्लाको सबभन्दा ठुलो स्थानीय तह भए पनि मध्य पहाडी लोक मार्गबाहेक बाँकी सबै ग्रामीण कच्ची सडकहरू रहेका छन्।

कच्ची सडक भएकाले दिउँदमा धुलो र वर्षामा हिलोले वर्षमा ५/६ महिना बाहेक यातायात सुचारु नहुँदा पैदल हिँड्नुपर्ने बाध्यतामा छन्। स्थानीय तह पुनर्संरचनापछि गठित गाउँ तथा नगरले सडक पूर्वाधार निर्माणका काम थाले पनि पर्याप्त बजेट अभावले अधिकतर योजनाहरू अधुरो रहेका बेला सुरु श्रमदान अभियान सार्थक र उपलब्धि मूलक हुने नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलीप खत्री बताउँछन्।

प्रकाशित: १६ जेष्ठ २०८० १०:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App