१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

धर्नामा बसेका अभियन्ताले माग गरेपछि महानगरले दियो घुम्ति शौचालय

धर्नामा बसेका अभियन्ताहरुले माग गरेको एक घण्टा भित्र काठमाडौँ महानगरका मेयर बालेन साहले घुम्ती शौचालय पठाइदिएका छन्।

सर्सिया नदीलाई प्रदूषण मुक्त बनाउने अभियन्ताहरुले सोमबार सामाजिक संजाल मार्फत घुम्ती शौचालयको माग गरेका थिए।

माइतीघर मण्डलामा धर्नामा बसेका अभियन्ता सरोज रायले आफ्नो फेसबुक पेज मार्फत मेयर बालेन साहको पेजमा मेन्सन गर्दै लेखेका छन् “माहानगरी काठमाडौंको माइतीघर मण्डलामा दिन्हु अनेकौँ कार्यक्रम, धर्ना, जुलुस, आन्दोलन भइरहन्छ। टाढा टाढा जिल्लाबाट पिडीतहरू आएर दिनभरि धर्नामा बसेका हुन्छन्। सिर्सिया नदीलाई प्रदूषण मुक्त गराउन नदीको फोहर पानी बोकेर हामी पनि विरगंजबाट ३०० किलोमीटरको बाटो पैदलमार्च हिंडेर ११ औं दिनमा काठमाडौं आई पुग्यौँ र हिजो देखि माईतीघरमा अनिश्चित कालिन धर्नामा बसेका छौं। नजिकमा एउटा पनि सार्वजनिक शौचालय नभएको कारण विशेष गरी हामी सित भएका महिलाहरू लाई निकै अप्ठ्यारो भएको थियो। आसपासको होटलहरूले आफ्नो शौचालय प्रयोग गर्न दिएन। महानगरपालिकाले तुरुन्त समाधानको बाटो खोज्न आग्रह गर्दछु।”

शौचालय माग गरिएको एक घण्टामा धर्ना स्थलमा अहिले घुम्ती शौचालय आइपुगेको छ। माइतीघर मण्डलामा दिनहुँ आन्दोलन तथा धर्नाका कार्यक्रम भइरहन्छ। अहिले पनि ७ वटा विभिन्न संघ संस्थाको ७ वटा विरोधका कार्यक्रम भइरहेको अभियन्ता रायले बताए। यस्तो अवस्था पीडित तथा गरिब नागरीककालागी धर्ना स्थलमा शौचालयको व्यवस्था नहुँदा दिनहुँ सौच गर्न बाहिर जान गार्‍हो हुने गरेको उनले बताए।

अहिले सर्सिया नदीलाई प्रदूषण मुक्त बनाउने अभियानमा १८ जना महिला र ७ जना पुरुष गरी २५ जनाको समूह रहेको छ। २४ घण्टा नै धर्ना स्थलमा बस्नु पर्ने भएकाले महिलाहरूलाई बढी समस्या भएको रायले बताए।

“आसपासका होटेलमा महिला अभियन्ताहरुलाइ समेत जान नदिएपछि बाध्य भएर मेयर बालेन साह संग घुम्ती शौचालयको माग गरेका हौ, यो समस्या हाम्रो मात्र नभई यहाँ धर्ना दिने सबै पीडित महिलाहरुको समस्या भएकोले अहिले घुम्ती शौचालय आएपछि सहज भयो।”

माइतीघर मण्डलामा दिनहुँ धर्नाका कार्यक्रम हुने भएकाले पिडितहरुका लागी मेयर साहले यस क्षेत्रमा व्यवस्थित शौचालयको निर्माण गरिदिए अझ राम्रो हुने अभियन्ता रायले बताए। “देशभरीबाट धेरै पीडित व्यक्तिहरु आफ्नो मागका लागी यहाँ धर्ना दिन्छन् त्यसैले यहाँ व्यवस्थित शौचालय भए सधैँ भरीको समस्या समाधान हुनेछ।”

वीरगञ्जको सिर्सिया नदीलाई प्रदूषण मुक्त बनाउने अभियानले पैदल यात्रा गरेका अभियान्ताहरु आइतबार देखी काठमाण्डौको माइतीघरमा धर्ना दिइरहेका छन्।

वीरगञ्जबाट १० दिन पैदल हिँडेर काठमाडौं पुगेका उनीहरुले बाराको औद्योगिक कोरिडोरस्थित उद्योगबाट निस्किने फोहोरका कारण सिर्सिया नदी प्रदूषित हुँदै आएको भन्दै नदीलाई प्रदूषणमुक्त बनाउन सरकारको ध्यानाकर्षण गराउन धर्नामा बसेका छन्। अभियन्ता रायले सिर्सिया नदीलाई प्रदूषण र अतिक्रमण मुक्त बनाउन स्थानीय स्तरमा भएको आन्दोलनले नटेरेपछि सरकारलाई दबाब दिन काठमाडौं आउन बाध्य भएको बताए।

आइतबार धर्नामा बसेको पहिलो दिन पर्साका चार वटा निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्यहरू धर्ना स्थलमा पुगेका थिए। अभियन्ता रायका अनुसार सुरुमा धर्नामा पर्सा निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य एवं उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले ऐक्यबद्धता जनाएका थिए।

यस्तै, पूर्व मन्त्री तथा पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले पनि अभियानलाई समर्थन गर्ने प्रतिबद्धता जनाएका छन्। पर्सा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य राजकुमार गुप्ता र पर्सा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य अजय चौरसियाले धर्नामा सहभागी भएर उनीहरूको अभियानप्रति समर्थन जनाएका छन्। तर यो समस्या देशव्यापी रहेकाले नदी प्रदूषण नियन्त्रण गर्न सरकारले बोर्ड गठन गर्नुपर्ने अभियन्ताहरूको माग रहेको छ।

पर्सा–बारा औद्योगिक करिडोरका उद्योगबाट रसायनयुक्त पानी र फोहोर सिधै नदीमै मिसाउनाले सिर्सिया नदी विगत तिन दशकबाट प्रदूषित बनेको छ। औद्योगिक करिडोरमा रहेका छाला, डिस्टीलरी, टेक्सटाइल, घ्यू, साबुनलगायतका उद्योगबाट निस्कने रसायनयुक्त पानी उक्त खोलामा सिधै मिसाउने गरिएको छ।

त्यस्तै जीवजन्तुका सडेगलेका छाला, रौँ , खरानी, लेदोलगायतका विकार प्रशोधन नै नगरी नदीमा सिधै विसर्जन गर्ने गरिएको हो।

प्रकाशित: १५ जेष्ठ २०८० १३:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App