२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मध्यपुर थिमिका ४३० टोलबस्तीले मौलिक नाम पाउने

पत्रकार सम्मेलनका अतिथि मेयर, उपमेयरसहित नौ वटा वडाका वडा अध्यक्षहरू ।

नगरपालिका क्षेत्रभित्र तीव्र गतिमा बढेको सहरीकरण तथा बस्ती विस्तारसँगै जथाभावी टोल, सडक र गल्लीहरूको नामाकरण गर्ने प्रवृत्ति बढेको छ।

यही अवस्थालाई मध्यनजर गरी भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले नगरपालिका क्षेत्रभित्रको मौलिक नामलाई जीवन्त बनाउने भएको छ।

मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाले स्थानीय बस्ती, चोक, स्थान, सडक, टोल र गल्लीहरूको मौलिक नामलाई पुनर्जीवित गर्ने जनाए।

‘स्थानीय मौलिक नामहरुको अस्तित्व लोप हुने अवस्थामा पुगेकोले नगरपालिकाले मौलिक नामलाई पुनर्जीवित गर्ने अभियान थालेका हौ, नगर प्रमुख श्रेष्ठले भने, ‘त्यसका  लागि नगरपालिकाले एक समितिसमेत गठन गरी सबै वडामा समुदाय भेलासमेत गरेर चार सय ३० वटा टोलवस्तीहरुको नामावली संकलनसमेत गरिसकेका छौं।’

स्थानीय अभियन्ता राजेन्द्र तुबन्जा श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको हो। समितिमा मध्यपुर थिमि नगरपालिका स्थापना हुनुअघि तत्कालीन पाँच वटा गाविसको प्रतिनिधित्व हुने गरी प्रत्येक गाविसबाट हाललाई दुई/दुई जना सदस्य चयन गरिएको जनाइएको छ।

समितिको सदस्यमा तत्कालीन दिव्यश्वरी गाविसबाट जगतकृष्ण प्रजापति र सुरेन्द्रबहादुर सिजापति, बालकुमारी गाविसबाट बाबुकाजी साछें श्रेष्ठ र कृष्णकाजी (केके) मानन्धर, चपाचोबाट धर्मसुन्दर बज्राचार्य र श्यामकृष्ण मानन्धर, नगदेशबाट तुल्सीभक्त घजु र विनोद कोजू तथा बोडेबाट विनोद खम्बु र भरत ध्वँ सदस्य छन्।

नगरपालिकाभित्रका टोल, लाछी (आँगन), चोक, गल्ली, चौबाटो, दोबाटो आदिको पछिल्लो समय आफूखुसी नामाकरण गर्ने प्रचलन बढ्दो क्रममा रहेको र यसले प्राचिन समयदेखि रहँदै आएको स्थानीय मौलिक नाम लोप हुने अवस्थामा पुगेकोले यो कामको थालनी गरेको मेयर श्रेष्ठको भनाई थियो।

मध्यपुर थिमि नगरपालिकामा जनप्रतिनिधि बहाल भएको एक वर्ष पूरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा मेयर श्रेष्ठले भने, ‘नगरपालिकाभित्रका विभिन्न टोलवस्तीहरुको स्थानीय मौलिक नामलाई अपभ्रंश, परिवर्तन वा प्रयोगविहीन हुनबाट जोगाएर अभिलेखीकरण एवं प्रतिष्ठापन गरेर मध्यपुर थिमि क्षेत्रका टोलवस्तीको इतिहास एवं संस्कृतिको साथै पहिचानलाईसमेत जगेर्ना गर्न मौलिक नाम अभिलेखीकरण तथा प्रतिष्ठान समिति गठन गरी सबै वडामा समुदाय भेला गरी चार सय ३० वटा टोलवस्तीहरुको नामावली संकलन गरेका हौँ।’

सात पृष्ठ लामो प्रगति प्रतिवेदन पढ्दै मेयर श्रेष्ठले समितिको सिफारिसका आधारमा नगरपालिकाले स्थानीय मौलिक नामहरुको प्रतिस्थापन गर्दै जाने बताए। यसका लागि नगरभित्रका समाजसेवी, बुद्धिजीवी, लेखक तथा पत्रकारहरूसहितको उपस्थितिमा छलफलसमेत भएको उनले सम्झे। यो अभियानले स्थानीय ठाउँको मौलिक नाउँ अप्रभंंस हुनबाट जोगाउने अपेक्षा गरिएको छ।

कार्यक्रममा मेयर श्रेष्ठले पदबहाली भएको एक वर्षमा सुशासन कायम गर्न नगरपालिकाले ७ वटा ऐन, ६ वटा कार्यविधि र भौतिक पूर्वाधार विकास तथा निर्माण सम्बन्धी विनियमावली सहित १४ वटा ऐन नियम कार्यविधि निर्माण गरी कार्यान्वयन समेत ल्याएको उल्लेख गरे। साथै भौतिक पूर्वाधारतर्फ एक वर्षमा ९ वटा मन्दिर, ११ वटा फल्चा, २ वटा बहा, २१ वटा मन्दिर परिसर, ९ वटा पार्क, २ वटा ऐतिहासिक दरबार क्षेत्र, एक/एक वटा विहार, पोखरी, घाट, र गुम्बा निर्माण भएको विवरण उनले पेस गरे।

सडक पूर्वाधारतर्फ कालोपत्रे २१ वटा सडक, ढलान २१ स्थान, रिटेनिङ वाल १९ स्थान, ढुंगा छपाई २८ स्थान, बल्क छपाई ११ स्थानलगायतको प्रगति भएको उल्लेख गर्दै नगरवासीहरुको दैनिक जीवनमा प्रत्यक्ष सरोकार राख्ने, बाटो, ढल, खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि, सहकारी, राजस्व संकलन जस्ता विषयहरुमा आफ्नो कार्य सम्पादन भएको उल्लेख गरे।

उपप्रमुख विजयकृष्ण श्रेष्ठले स्वागत गरेको पत्रकार सम्मेलनमा उठेका जिज्ञासाहरुको नगर प्रमुख श्रेष्ठ र मध्यपुर थिमि नगरपालिका वडा नं ८ का वडाध्यक्ष रमेश थापा श्रेष्ठ जवाफ दिएका थिए।

प्रकाशित: १४ जेष्ठ २०८० १६:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App