१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ड्रोन क्यामेराको फोटोले बाग्मतीलाई व्यवस्थित बनाउन सहयोग पुग्ने

काठमाडौं – ड्रोन क्यामेराबाट लिइएको तस्बिर प्राप्त भएपछि नदी किनारलाई व्यवस्थित बनाउन सहज हुने अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले जनाएको छ । 

दक्षिण कोरियाको सियोल विश्व विद्यालयबाट आएको ड्रोन क्यामेरा सहितको समूहले गोकर्णेश्वर नगरपालिकाको उत्तरगयादेखि ललितपुर उप महानगरपालिकाको सुन्दरी घाटसम्म तस्बिर खिची फोहर फाल्ने, ढल मिसाउने र सार्वजनिक जग्गा मिच्नेको अभिलेख उतारेको वाग्मती सफाइ अभियन्ता उमेश बोहराले बताए । 

“गोकर्णेश्वर नगरपालिकाको उत्तरबाहिनीदेखि गोकर्णेश्वर मन्दिरसम्म, काठमाडौँ महानगरपालिकाको सिनामङ्गलदेखि मीनभवनसम्म र काठमाडौँ महानगरपालिकाकै टेकुपुलदेखि ललितपुर उपमहानगरपालिकाको सुन्दरीघाटसम्म गरी तीन समूहमा विभाजन गरी नदीमा फोहर फाल्ने, ढल मिसाउने र सार्वजनिक जग्गा मिच्नेको अभिलेख तस्बिर मार्फत उतारिएको छ”–उनले भने । 

सफाइ महाअभियानका तर्फबाट अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिलाई दिइएको प्रतिवेदनलाई जग्गा नापजाँच सम्बन्धी विज्ञले कार्यालयमै बसी कहाँ कति नदीको जग्गा मिचिएको छ भनी हेर्न सकिने आयोजना उपप्रमुख योगेन्द्र चित्रकारले जानकारी दिए । 

“तस्बिर खिचिएका तीन स्थानमा जमिनमुनिबाट ल्याइएको ढल कहाँ खसालिएको छ भनी हेर्न सकिन्छ, अब वाग्मतीको पूरै क्षेत्र र उपत्यकाका अन्य सहायक नदीको पनि ड्रोन क्यामेराबाट तस्बिर उतारिनुपर्छ”–उनले भने । 

ड्रोन क्यामेराले खिचेको तस्बिरसहितको प्रतिवेदन आवश्यक कारबाहीका लागि सहरी विकास मन्त्रालय, खानेपानी तथा सरसफाइ मन्त्रालय र सम्बन्धित महानगरपालिका एव्म नगरपालिकामा बुझाइएको छ । 

वागमती सफाइ महाअभियान सुरु हुँदा समेत सोचे अनुरुप नदी सफाइ हुन नसकेपछि माघ २९ गते ड्रोन क्यामेराले नदी किनारमा फोहर फाल्ने, ढल मिसाउने र नदीको जग्गा मिच्नेको तस्बिर खिच्न थालिएको थियो । 

ड्रोन क्यामेराबाट तस्बिरसहितको प्रतिवेदन लिन दक्षिण कोरियाबाटै पाइलट पिटर पार्क र जिजुन फङ नेतृत्वको समूह काठमाडौँ आएको थियो । 

विसं २०७० जेठ ५ गते शनिबारदेखि वाग्मती सफाइ महाअभियान सुरु भएको थियो । वाग्मती सफाइ महाअभियान सुरु भएपछि अन्य सहायक नदी र उपत्यका बाहिरका नदी सफाइ गर्नसमेत स्थानीयवासी जुटे पनि अपेक्षाकृत सफा हुन नसकेको हो । रासस 

प्रकाशित: ४ चैत्र २०७३ ०७:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App