१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

आँखामा टर्च बालेर लुटपाट गर्ने दुई वर्षपछि पक्राउ

खोटाङ – आँखामा टर्च देखाएर सुन लुटपाटमा संलग्न रहेर फरार रहेका खोटाङको दिक्तेल नगरपालिका–६ (हाल रुपाकोट मझुवागढी नगरपालिका)का २२ वर्षीय सन्तोष राई दुई वर्षपछि पक्राउ परेका छन् । २०७१ साल असार १७ गते राती आँखामा टर्चको प्रकाश देखाएर अलमल्याउँदै रतन्छा–३ पिनालाखाका मनसेर भनिने हरिजङ् राईको सुन र नगद लुटेर फरार रहेका सन्तोष २ वर्ष ८ महिनापछि पक्राउ परेका हुन् । 
घट्नापछि फरार रहेका राईलाई सुनसरीको इटहरीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नबिनकिशोर प्रधानले बताए । मंगलबार जिल्ला अदालत खोटाङमा उपस्थित गराएका राईलाई अदालतको आदेशमा तत्काल मंगलबार नै थुनाकालागि कारागार चलान गरिएको छ । गत फागुन २८ गते पक्राउ परेका राईलाई अड्डासार गर्दै दिक्तेल ल्याइएको थियो । उनलाई हातहतियार खरखजना मुद्धामा १ वर्ष ६ महिनाकालागि जेल पठाइएको प्रहरीले जनाएको छ । उनी फरार रहेकै समयमा अदालतले हातहतियार खरखजना मुद्धाको सजाय फैसला गरेको थियो । घट्नापछि फरार रहेका कारण उनीमाथि लागेको डाँका मुद्धा भने मुलतबीमा राखिएको थियो । 
‘सन्तोष फरार रहेकै समयमा हातहतियार मुद्धाको फैसला भएको थियो,’ जिल्ला प्रहरी कार्यालयका मुद्धा शाखाका सई मनोज यादवले भने, ‘फरार रहेकाले डाँका मुद्धाको सजाय भने मुलतबीमा राखिएको थियो । अभियुक्त पक्राउ परेकाले अव यो मुद्धा पुःन अघि बढ्छ ।’ सन्तोषलाई पनि कारागार रहेकै समयमा डाँका मुद्धाको सजाय फैसला गरेर भुक्तान गराइने जनाइएको छ । 
सोही घट्नामा संलग्न दिक्तेल नगरपालिका–६ का २७ वर्षीय सुबर्ण राई, दिक्तेल नगरपालिका–९ का १८ वर्षीय युवक राई र रतन्छा–३ का १८ वर्षीय दिपेन्द्र राई हाल जेलमा छन् । सुवर्ण, युवक र दिपेन्द्र घट्नाको तीन दिन नबित्दै असार–२० गते पक्राउ परेका थिए । उनीहरु डाँका मुद्धामा जनही ६ वर्ष र हातहरियार मुद्धामा जनही १ वर्ष ६ महिना कैंद सजाय भुक्तान गरिरहेका छन् । फरार रहेकै अवस्थामा पक्राउ परेका तीन जनालाई एक थान कटुवा पेस्तोल, सो को दुई थान गोली, लुटिएको सुनको सिक्री र नगद तीन हजार सहित प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको थियो । सुबर्णको योजनामा मुखमा कालो पट्टी बाँधेर गएको ५ जनाको समुहले मनसेर भनिने हरिजङ्को आँखामा टर्च देखाएर अलमलाउँदै घाँटीको दुई तोला सुनको सिक्री र ५० हजार नगद डाका गरी लुटेको प्रहरीले जनाएको छ । घट्नामा संलग्न एक जना अझै फरार छन् । उनको पनि पहिचान भइसकेकाले चाँडै पक्राउ गरिने प्रहरीले जनाएको छ ।
 

प्रकाशित: २ चैत्र २०७३ ०६:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App