अनिता रिजाल
काठमाडौं– लामो समयदेखि राजधानीवासीले धुलो–धुँवाबाट ठूलो सास्ती बेहोरिरहेका थिए । हाम्रो श्वासलाई आवश्यक न्यूनतम अक्सिजनको अभाव झेल्नुपरिरहेको थियो। शनिबारयता एक्कासि प्रदूषण स्वात्तै घटेर काठमाडौंको वायुस्तर विश्व स्वास्थ्य संगठनकै मापदण्डअनुसार सुध्रन पुग्यो।
यसको कारण हो– नियमित वर्षा र दुईदिने नेपाल बन्द । त्यसअघि राजधानीवासीले पिएम २.५ स्तरको वायुप्रदूषण बेहोरिरहेका थिए । यस स्तरको वायुप्रदूषणले काठमाडौँ उपत्यकामा दैनिक नौ जनाको मृत्यु हुने गरेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आँकलन छ।
हुन पनि हामीलाई दैनिक २५ ग्राम प्रतिघनमिटर वायु आवश्यक पर्नेमा त्योभन्दा कम भएपछि गएको कात्तिक २० यता र चार महिनाभन्दा बढी समय काठमाडौंवासीले प्रदूषित वायुमण्डलमा श्वास लिइरहनुपरेको थियो । वायुप्रदूषणको यो छोटो सुधारले सर्वसाधारणलाई हरबखत मास्क लगाउनुपर्ने बाध्यताबाट उन्मुक्ति दिएको छ भने बिहानीपख घरबाहिर सीमित गतिविधि गर्न सहज भएको छ । वायुप्रदूषणले अन्यथा मोड नलिए र यस्तै स्थिर रहे सर्वसाधारणले चैनको श्वास लिन पाउने थिए ।
वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयले २०६२ सालमा गरेको एउटा अध्ययनअनुसार काठमाडौं उपत्यकामा सबैभन्दा बढी वायुप्रदूषण ३८ प्रतिशत सवारीबाट हुने गरेको छ। त्यस्तै, धुलो र खुला ठाउँमा आगो लगाउँदा वा फोहर बाल्दा हुने प्रदूषणको मात्रा क्रमशः २५ र १९ प्रतिशत रहने गरेको छ । भाग्यवश, स्थानीय प्रदूषण रोक्न स्थानीय निकाय र सरकार गम्भीर हुनुपर्ने महसुस गर्दै गरेका केही प्रयासले सकारात्मक परिणाम ल्याएको छ। सरकारले पनि वायु प्रदूषणको समस्या समाधानका पक्षमा आफूलाई उभ्याएको छ।
यो समस्या न्यूनीकरणका लागि राष्ट्रिय योजना आयोगले नयाँ वायुप्रदूषण कार्यदलसमेत बनाएको छ। जसमा बहुपक्षीय सहभागिता छ र स्वास्थ्य, वातावरण, सरकार तथा निजी क्षेत्रका विज्ञले यस कार्यदलमा योगदान दिएका छन् । गएको महिना मात्र राजधानीको वायुप्रदूषण समस्या समाधानका लागि १२ वटा कार्यक्षेत्र तोकी सो कार्यदलले काम थालेको थियो। विशेषतः कार्यदलले महानगर र वडा तहमा सवारीबाट हुने उत्सर्जन, खुला ठाउँमा बालिने फोहोर, हरित क्षेत्र र ठाउँलाई विस्तार गर्ने पक्षलाई प्राथमिकतासाथ लागू गरेको थियो।
वायुप्रदूषणबारे चिन्तित स्वयंसेवीको समूह ‘दृष्टि’, काठमाडौंले दैनिक रुपमा गएका १० महिनायता राजधानीका विभिन्न एक दर्जनभन्दा बढी स्थानबाट वायुमण्डलको स्तर संकलन गर्दै आएको छ । समूहको एउटै मात्र प्रयास शनिबारजत्तिकै काठमाडौंको वातावरणीय अवस्था ल्याउनु हो । सर्वसाधारणलाई वातावरणीय स्तर कस्तो छ भन्ने तत्काल तथ्यांक उपलब्ध गराउनु पनि हो । वर्षायाम छाड्ने हो भने काठमाडौंको वायुको स्तर स्वास्थ्यका लागि जोखिमको स्तरमा छ । हाम्रो अहिलेको जस्तो वर्षात ढाँचा छ, त्यसले हाम्रो वायुप्रदूषण कम गराउन भर पर्न सकिँदैन । र, हाम्रो वातावरणीय स्तर पुनस्र्थापित गर्न नसकिने किसिमका बन्न पुगेको छ ।
राष्ट्रिय योजना आयोगले काठमाडौंको वायुप्रदूषण घटाउन बनाएको नयाँ कार्यदलले २० वर्षे पुराना सार्वजनिक सवारी प्रतिबन्ध लगाउनेसँगै केही महŒवपूर्ण आधार स्थापित गरेको छ । एक नागरिकका रुपमा तपाईंले अझै केही काम गर्न सक्नुहुन्छ । खासगरी हाम्रो वरिपरिको हावा श्वास फेर्न कत्तिको योग्य छ भन्ने जानकारी पोलुसनडटजिओभीडटएनपी र दृष्टिडटलाइभ लिनुहोस् । तपाईंले बिहान पढ्ने अखबारले नियमित रुपमा हामीले श्वास लिने वायुको स्तर कस्तो छ भनी नियमित छापेन भने उनीहरुलाई त्यो छाप्न वा जानकारी दिन आग्रह गर्नुहोस् ।
यस्तै आउँदै गरेको चुनावमा तपाईंले आफ्ना स्थानीय नेतालाई वातावरणप्रति चिन्तित हुन आग्रह गर्नुहोस् । हाम्रो संविधानको धारा ३० मा सफा वातावरणको अधिकार सुनिश्चित गरेको छ । र, यो हाम्रालागि महŒवको विषय हो । काठमाडौँ उपत्यकाको वायुप्रदूषण समाधान गर्न सकिने समस्या हो । यतिबेला हामीले त्यो बिन्दुमा पुगेका छौं जहाँबाट हामीले केही नगरिरहन सक्तैनौँ । सफा वायुमा श्वास फेर्न शनिबार मात्र कुर्नु नपरोस् भन्ने अवस्थाबाट हामी माथि उठ्न आवश्यक छ ।
रिजाल वायुप्रदूषणबारे चिन्तित स्वयंसेवीहरूको समूह दृष्टि, काठमाडौंकी वातावरण अभियन्ता हुन् ।
प्रकाशित: १ चैत्र २०७३ ०२:५३ मंगलबार