१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

भक्रम खोलामा नदीजन्य पदार्थको दोहन: २ जेसिबी प्रहरी नियन्त्रणमा

कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ शिव गढीको भक्रम खोलामा ठेकेदारले जेसिबी लगाएर नदीजन्य पदार्थको अनियन्त्रित दोहन गरेका छन्।

ठेक्का लागे देखि राधारोशन निर्माण सेवाले अनियन्त्रित दोहन गर्दै आएकाे छ। जेठ ३२ गते ठेक्काको अवधि सकिने भएकाले ठेकेदार कम्पनीले अनियन्त्रित दोहनलाई झनै तीव्रता दिएकाे देखिन्छ। व्यापक जन गुनासो बढे पछि मेयर अजय थापाले खोलोका अनुगमन गर्ने क्रममा अनियन्त्रित दोहन भइरहेकाे फेला पारेको बताए।

सुरक्षाकर्मी सहितको टोलीले आइतबार बिहान अनुगमनका क्रममा २ जेसिबीले खोलाको उत्खनन गरिरहेको अवस्थामा फेला पारेको मेयर थापाले सुनाए। लु १ क ३३५३ र लु १ क ४७७८ नम्बरको जेसिबीलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाइएको उनकाे भनाइ छ।

‘हामीले मापदण्ड विपरीत उत्खनन गर्न दिँदैनौ ’ उनले भने। 

उनले खोला, प्रयोग हुने रसिद, डम्प लगायतका अनुगमन गरेका थिए। भक्रम खोलाबाट ढुंगा, गिटी बोक्ने ट्याक्टर एवं टिपरले राजस्व तिरे–नतिरेको, खोलाको गहिराइ र मापदण्ड अनुसार उत्खनन भए–नभएबारे अनुगमन गरिएको बताए।

ठेकदार कम्पनीका प्रबन्धक रोजन बहादुर एमसिको अगुवाइमा मापदण्ड विपरीत निकासी भइरहेको छ। ठुल-ठुला खाल्टा खुल्टी समेत बनेका छन्। खोलामा अनियन्त्रित दोहन भएको पाइएकाले आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइने मेयर थापाले बताए।

२०७९ महिना मंसिर महिनाको २७ गते पालिकाले सूचना प्रकाशित गरी २५ लाख ५१ हजार १५१ ठेक्का लागेको थियो। ८ हजार ८५ दशमलव ६० घन मिटर नदीजन्य पदार्थ निकाल्न पाउने गरी ठेक्का लागे पनि ठेकेदार कम्पनीले त्यसको दोब्बर तेब्बर माल निकासी गरी सकको स्थानीय बताउँछन्।

प्रकाशित: ७ जेष्ठ २०८० १२:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App