२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

कालीकोटमा दृष्टिविहीन किशोरी बलात्कृत

नरहरिनाथकी १३ वर्षीया दृष्टिविहीन किशोरी बलात्कृत भएकी छन्। घर परिवारका सदस्यहरू रोपाइँमा गएको बेला, नरहरिनाथ गाउँपालिका वडा नम्बर-८ का ५० वर्षीय चक्रबहादुर विष्टले घरमा एक्लै भएको मौका पारेर बलात्कार गरेको आफन्तले आरोप लगाएका छन्।

आइतबार बिहान ११ बजेतिर जबरजस्ती करणी गरेर भागेका विष्टलाई सोमबार प्रहरीले पक्राउ गरी सदरमुकाम मान्म ल्याएको थियो।

जिल्ला प्रहरी प्रमुख डिएसपी अर्जुन केसीका अनुसार सुस्त मनस्थिति समेत भएकी बालिकालाई बलात्कार गरेको जाहेरी परेपछि आरोपितलाई पक्राउ गरिएकाे थियो। 

"आफन्तको जाहेरी परेपछि हामीले आरोपितलाई सोमबार पक्राउ गरी मंगलबार जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्दैछौं। बालिकाको स्वास्थ्य परीक्षण भइसकेको छ।" उनले भने।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पोषण थापाले पनि बालिका एक्लै भएको मौका पारेर जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख भएको बताए।

उनका अनुसार, आरोपितलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। दृष्टिविहीन बालिका कक्षा ७ मा पढ्छिन्। हालै मात्र उनले आँखाको उपचार गर्न कैलालीको गेटा आँखा अस्पतालमा परीक्षण गरेर घर फर्किएकी थिइन्।

पीडितले घरमा कोही नभएको मौका पारेर चक्रबहादुर विष्टले बलात्कार गरेको बताइन्। उनकाे अवस्था अहिले सामान्य रहेको र उनको स्वास्थ्य परीक्षण भइसकेको प्रहरीको भनाइ छ।

पछिल्लो समय कालीकोटमा जबरजस्तीकरणीका मुद्दा बढ्दै गएका छन्। २०७८/७९ मा ८ वटा, २०७९/८० मा १६ वटा र यो आर्थिक वर्षमा ११ वटा जबरजस्तीकरणीका मुद्दा दर्ता भएका छन्। जबरजस्ती करणी उद्योगका ३ वटा गरी जम्मा १४ वटा मुद्दा दर्ता भएका छन्।

प्रहरीका अनुसार पछिल्लो समय जबरजस्ती करणी बढ्ने क्रम जारी छ ।  

प्रकाशित: १९ असार २०८१ १८:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App