१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

मदिराको बोत्तलले फोहर व्यवस्थापनमा चुनौती

म्याग्दीमा मदिराका सिसाजन्य बोत्तल व्यवस्थापन हुन नसक्दा समस्या भएको छ। गाउँगाउँ पुर्याइएका सिसाका बोत्तल यत्रतत्र फालिएको अवस्थामा भेटिन्छन्। यसरी फालिएका सिसाका बोत्तल फुटेर दुर्घटना निम्त्याउनुका साथै बस्तीलाई प्रदूषित र कुरूप बनाएको छ। बारीमा सिसाका बोत्तल यत्रतत्र थुप्रिंदा किसानलाई समस्या भइरहेको छ।

धवलागिरि गाउँपालिका-७ ताकमका दिवाकर सुवेदीले बाढीले बगाएर ल्याएको सिसाका बोत्तल खेतमा थुप्रिएपछि तीन वर्षदेखि खनजोत गर्न नसक्दा खेतीबाली लगाउन नपाएको गुनासो गरे।

‘खोल्सामा थुपारेको बोत्तल बाढीले बगाएर खेतमा ल्याएर थुपायो’, उनले भने,‘खेतभरि सिसाको टुक्रा भएपछि बाली लगाउनै पाएको छैन, बाँझै राखिएको छ।’

नसड्ने र जोखिमयुक्त यस्ता सिसाजन्य फोहर व्यवस्थापनको उपाय अपनाइएको छैन। साथै मदिरा उत्पादक कम्पनीले नै यस्ता खाली सिसा फिर्ता लैजानुपर्ने हो तर वास्ता नगरेकाले समस्या भएको धवलागिरि गाउँपालिका-७ का वडाध्यक्ष अशोक खत्रीले बताए।

म्याग्दीमा मदिराका सिसाजन्य बोत्तल व्यवस्थापन हुन नसक्दा समस्या भएको छ। गाउँगाउँ पुर्याइएका सिसाका बोत्तल यत्रतत्र फालिएको अवस्थामा भेटिन्छन्।

अध्यक्ष खत्रीले चुनौतीका रूपमा देखिएको सिसाजन्य फोहर व्यवस्थापनका लागि नीतिगत पहल गर्नुपर्ने बताएका छन्। सडक सञ्जाल जोडिएसँगै दुर्गम भेगका बस्तीमा अझ बढी मदिराजन्य, चिसो पेयपदार्थजन्य सिसाका खाली बोत्तलको थुप्रो लागेको छ। अन्नपूर्ण गाउँपालिका-६ स्थित पर्यटकीय बस्ती घोडेपानीका व्यवसायीले भने सिसाका खाली बोत्तल खाल्डामा पुर्दै आएका छन्।

‘मदिराजन्य सिसाका खाली बोत्तल पर्यटकीय क्षेत्रका लागि समस्या भएका छन्। यस्ता बोत्तल फिर्ता लैजाने कोही नभएकाले हामीले खाल्डो खनेर गाड्ने गरेका छौं’, घोडेपानीका सुशील पुनले भने,‘सिसाको बोत्तल फिर्ता लैजाने कम्पनीको मात्रै मदिरा बेच्नेबारे हामीले समुदायमा छलफल गरिरहेका छौं।’

घोडेपानीमा पर्यटनको एक याममा एउटा होटलबाट एक ट्रयाक्टरभन्दा बढी सिसाको बोत्तल निस्कने उनको भनाइ छ।

अध्यक्ष खत्रीले चुनौतीका रूपमा देखिएको सिसाजन्य फोहर व्यवस्थापनका लागि नीतिगत पहल गर्नुपर्ने बताएका छन्। सडक सञ्जाल जोडिएसँगै दुर्गम भेगका बस्तीमा अझ बढी मदिराजन्य, चिसो पेयपदार्थजन्य सिसाका खाली बोत्तलको थुप्रो लागेको छ।

बस्तीभन्दा माथिल्लो क्षेत्रका हिमाली पदमार्ग र आधार शिविरमा पनि यस्ता सिसाका बोत्तल थुप्रिँदा समस्या बढ्दै गएको छ। यत्रतत्र छरिएका सिसाका बोत्तल र क्यानले आधार शिविर क्षेत्रमा फोहर बढेको छ।

यसको व्यवस्थापनमा अझैसम्म जिम्मेवार निकायले चासो दिएको देखिंदैन। साथै पदमार्गमा आउने अधिकांश पर्यटकले समेत आफूले ल्याएको सिसाका बोत्तल सुरक्षित रूपमा व्यवस्थापन नगरी जथाभावी फाल्ने गरेका छन्। पर्यटकीय क्षेत्र तथा गाउँघरमा सिसाका बोत्तल व्यवस्थापनमा चुनौती थपिएको छ।

‘मदिरा खानेले स्वाद र मनोरञ्जन लिए, बेच्नेले पैसा कमाए। तर, स्थानीयवासीले भने सास्ती भोग्नुपरेको छ’, घोडेपानी टोल सुधार समितिका अध्यक्ष विरेन गर्बुजाले भने,‘एउटाले सेवन गरेको, अर्काले बेचेर पैसा कमाएको मदिराको खाली बोत्तलबाट निर्दोष किसान पीडित हुनुपरेको छ।’

प्रकाशित: ७ जेष्ठ २०८० ०५:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App