१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सीमा क्षेत्रका पीडित नेपाली भन्छन्: नेता आउँछन्, हेर्छन् र जान्छन्

नेपाल–भारत सीमा क्षेत्र फाटकको दशगजामा करिब टाँसेरै बनाइएका भारतीय र नेपाली सुरक्षाकर्मीका पोस्टबीचबाट छिरेर वैशाख १३ गते सीमा निरीक्षण गरिरहेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली। तस्बिरः भीम/नागरिक

वैशाख १३ गते साँझ पूर्व प्रधानमन्त्री केपी शर्मा ओली अचानक इलामको पशुपतिनगरस्थित भारतीय सीमा क्षेत्र पुगे। सिमसिम पानी परिरहेका बेला पुगेका ओलीले फाटक क्षेत्रमा भारतले दशगजा मिचेको स्थान निरीक्षण गरे।

फाटकमा भारत र नेपाल दुवैतर्फको दशगजा मिचिएको छ। दशगजाको भारतपट्टि भारतीय र नेपालपट्टि नेपाल प्रहरीको सुरक्षा पोस्टबीचको खाली भाग करिब डेढ फिटको च्याप मात्रै छ। 

पूर्व प्रधानमन्त्री ओली यही साँघुरो च्यापबाट जसोतसो छिरे। र, अलि तल्तिरका केही सीमा स्तम्भ निरीक्षण गरे। त्यही च्याप भएर फर्किए। उनले त्यहाँ भारतीय पक्षले २०७३ सालमा दशगजामा पुरानो कच्ची गुम्बा मर्मतको नाममा नयाँ पक्की गुम्बा बनाएको पनि देखे। अनि, सँगै जोडिएका दुवै देशका सुरक्षा पोस्टको बीचमा उभिएर भारतपट्टिका सर्वसाधारणलाई समेत हँस्यौली पारामा हात उठाएर भने–‘अभिवादन छ है भारतपट्टिका मित्रहरू।’ ओलीको यो शैलीले दुई देशबिचको मित्रता झल्काएको चर्चा गर्नेहरूसमेत त्यहीँ थिए।

त्यसपछि पशुपतिनगर बजारको एक होटलमा चिया खान बसेका ओलीले पत्रकारको जिज्ञासाको जबाफ दिने क्रममा भारतले सीमामा हेपाहा प्रवृत्ति देखाएको प्रतिक्रिया दिए।

‘भारतजस्तो विशाल छिमेकी मित्रराष्ट्रले विशाल छाती गर्नुपर्ने, त्यो नभए पनि मित्रवत् तथ्यपूर्ण र न्यायपूर्ण व्यवहार गर्नुपर्नेमा हेपाहा प्रवृत्ति देखियो,’ उनले भनेका थिए, ‘म भारत सरकारसँग कुरा गर्छु। मैले हेरेर गएपछि भारत सरकारले यो त्रुटि सच्याउनेछ भन्ने विश्वास छ। अविलम्ब सच्याउन भारत सरकारसँग आग्रह गर्छु।’

सीमा निरीक्षण क्रममा ओलीसँगै थिए– पूर्व सभामुख तथा इलाम क्षेत्र २ का सांसद सुवासचन्द्र नेम्बाङ र यही क्षेत्र (इलाम १) का सांसद महेश बस्नेत पनि।

पटक–पटकका निर्वाचन जितेर यही क्षेत्रको करिब ३० नेतृत्व गरेका अर्का पूर्व प्रधानमन्त्री झलनाथ खनालले दशगजामा भारतले पुरानो गुम्बा संरक्षणका नाममा बनाएको पक्की गुम्बा त्यतिबेलै निरीक्षण गरेका थिए।

करिब ३ वर्षअघि भारतले दशगजामा पक्की गुम्बा बनाउँदा खनालले पनि ‘भारतसँग कुरा गर्ने’ आश्वासन नदिएका होइनन्। उनले सीमा क्षेत्रका समस्याको दिगो समाधान खोज्न आफूले भूमिका निर्वाह गर्ने पनि बताएका थिए। तर, भारतीय पक्षले कामसम्म रोकेन। आफ्नो ‘लक्ष्य’ पूरा गरिछाड्यो।

ओली र खनाल मात्र होइन, नेकपा (माओवादी) ले सन् २०१० मा पशुपतिनगरलगायत देशका विभिन्न विवादित सीमा क्षेत्रमा विरोध सभा नै गरेको थियो। सभालाई सम्बोधन गर्न पशुपतिनगरमा पनि पार्टीका शीर्ष नेता नै सहभागी थिए। र, विरोध सभाका वक्ताले भारतीय पक्षको दबाबविरुद्ध ‘कडा भाषण’ गरेका थिए।

स्थानीय स्तरका युवा, विद्यार्थीलगायतले समेत सीमा क्षेत्रमा दर्जनौंपटक प्रदर्शन र विरोध सभा नगरेका होइन। नेपालका लागि भारतका राजदूतलगायत कूटनीतिक व्यक्तिले समेत यो क्षेत्रको पटक–पटक निरीक्षण गरे। तर, नेता आउँदा र यस्ता अवसरमा सीमा समस्या चर्चाको चुलीमा पुग्छ, केही दिनपछि फिक्का हुँदै जान्छ। अनि, अलि पछि सुनसान।

सीमा क्षेत्रका नेपाली चाहिँ वर्षाैंदेखि दोहोरिएको, तेहोरिएको यो प्रक्रियालाई ‘रमिता’ ठान्छन्।

‘कहिले ठूला र कहिले चर्चित भनिएका नेता सीमा क्षेत्र आउँदा अब हाम्रो पीडा पक्कै कम होला भन्ने लाग्थ्यो,’ सूर्योदय नगरपालिका–२, हिलेका विमल दाहाल भन्छन्, ‘तर, यसरी आउनेले निरीक्षणको रमिता देखाउँछन्, अब त नेताले पनि कुनै खालो सार्छन् जस्तो लाग्न छाडिसक्यो।’ 

प्रायः निर्वाचनका बेला आउने सबै दलका उम्मेदवारले सीमा क्षेत्रका पीडित नेपालीसँग सधैँ उही प्रतिबद्धता दोहोर्‍याउँछन्–सीमा समस्याको दिगो समाधानमा पहल, सडक, बिजुली, खानेपानी र सुरक्षित आवास।

तर, मुख्य समस्या नै वर्षाैंयता समाधान नहुँदा आफूहरूलाई अब नेताको समेत विश्वास लाग्न छाडेको स्थानीयको गुनासो छ। 

‘प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री, मन्त्री, सांसद, स्थानीय सरकारका प्रतिनिधि पनि यहाँ नआएका होइनन्,’ दाहालले भने, ‘तर, अब त हामी कसको विश्वास गर्ने, कसको नगर्ने भन्नेमै अन्योलमा छौं।’

स्थानीय लोकबहादुर कार्की दुई देशले मिलाउनुपर्ने सीमाको समस्या झन् बढ्दै जाँदा यस क्षेत्रका नेपालीले निकै कष्ट झेल्नुपरिरहेको बताउँछन्। ‘यदि यहाँ हामीले प्रतिकार नगर्ने हो भने एसएसबी (भारतीय सीमा सुरक्षा बल) ले अहिलेसम्म धेरै नेपाली भूमि हडपिसक्ने थियो,’ उनले भने, ‘नेपाली भूमि कब्जा जमाउन खोजेको देख्ने बित्तिकै हामी जाइलाग्छौँ, अनि मात्रै सीमा बचेको छ अहिलेसम्म। नेता आएका कारण बचेको होइन।’

उनले आफ्नै नाममा रहेको नम्बरी जग्गामा पस्न नदिँदा एसएसबीलाई घाँस काट्ने सिक्कल बोकेर लखेटेको पनि सम्झिए। 

‘नेताले केही गर्छन् कि भन्ने आशा मरेको त छैन तर आश्वासन मात्रै दिएको धेरै समय भइसक्यो,’ उनले भने।

सीमा समस्या नसुल्झिँदा स्थानीय नेपालीले भौतिक र मानसिक दुवै हिसाबले तनाव खेप्नुपरेको छ। सीमा क्षेत्रका नेपाली बस्तीसम्म नेपालपट्टिबाट पुग्ने व्यवस्थित सडक छैन। दैनिक उपभोग्य सामान किन्न पनि यहाँका नेपालीलाई भारतीय बजार जानुपर्ने बाध्यता छ। सूर्योदय–२, हिलेका बासिन्दालाई त आफ्नै वडा कार्यालय पुग्न पनि भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता छ। कच्ची सडकमा हिउँदमा जसोतसो चल्ने सवारी बर्खामा ठप्प हुने भएपछि उनीहरूले बर्खाभरलाई खाने सामान जोहो गर्न थालिसकेका छन्।

‘कमसेकम राम्रो सडकसम्म भइदिए हामीले नेपाली बजारबाटै सामान ल्याउन पाउने थियौँ,’ स्थानीय कमला सुब्बा शेर्पाले भनिन्, ‘उपभोग्य सामान लिनसमेत भारतीय बजार नै जाने बाध्यता भएकाले एसएसबीको ज्यादतीविरुद्ध प्रतिकार गर्नसमेत हामीलाई कुनै बेला निकै सकस पर्छ।’

कमलाले सीमा निरीक्षण भन्दै वर्षाैंदेखि यहाँ आउने गरेका नेतालाई अहिलेसम्म सीमा समस्या समाधानमा भएको ‘उपलब्धि’ सुनाउन चुनौती दिइन्। ‘कहिले को नेता आयो, कहिले को आयो भन्छन्, अहिलेसम्म उनीहरूले हाम्रो समस्या समाधान गरिदिन चाहिँ के–के गरेछन्?’ उनले प्रश्न गरिन्, ‘सीमा समस्यामा सिन्को भाँचिँदैन भने यहाँ बेला–बेला आएर हामीलाई किन जिस्क्याउनु?’ उनले त आफूहरूलाई नेपालपट्टिबाट खाद्यान्न ल्याउने सडक नै नभएको र भारततिरबाट ल्याउँदा एसएसबीले मात्र होइन, नेपालपट्टिकै सुरक्षाकर्मीले समेत दुःख दिने गरेको पीडा पोखिन्।

हिलेसहित सीमा क्षेत्रका बासिन्दा सीमा समस्याका कारण आफूहरूले दशगजाबाहिरको आफ्नै भूमिसमेत भोगचलन गर्न नपाएको, दशगजा नजिकका घर–कटेरा चुहिने हुँदा मर्मतसमेत गर्न नपाएको र बेला–बेला एसएसबीबाट भौतिक तथा मानसिक तनावको सिकार हुनुपरिरहेको पीडा पोख्छन्।

‘पुख्र्याैली थलो यही भएकाले हामी यहाँबाट अन्यत्र जान पनि सक्दैनौँ,’ स्थानीय धनबहादुर राईले भने, ‘यहीँ बसिरहँदा कुन बेला कस्तो जोखिम आइपर्छ भन्ने कल्पना पनि गर्न सकिन्न।’ 

उनले सीमाको समस्या कूटनीतिक तहबाटमात्रै समाधान हुने भएकाले सरकारले ध्यान दिनुपर्ने बताए।

‘अब चाहिँ सरकारले हाम्रो वर्षाैंदेखिको पीडा बुझोस्,’ उनले भने, ‘अब पनि यो समस्या समाधान नभए जुनसुकै बेला नेपालपट्टिको बस्तीमा खतरा आइलाग्ने सम्भावना छ।’

इलामको भूमिले भारत छोएको सन्दकपुरदेखि जिर्मलेसम्म साढे ५२ किलोमिटर छ। यो क्षेत्रका सीमा स्तम्भसमेत यकिन नहुँदा दशगजा र नेपाली भूमि मिचिने जोखिम छ। यो दूरीभित्र १९ स्थानमा दशगजा मिचिएको तथ्याङ्क छ। यहाँ १७ मुख्य सीमा स्तम्भ हुनुपर्नेमा १६ वटा मात्रै छन्। त्यसमा १२ वटा मर्मत गर्नुपर्ने अवस्थामा छन् भने एउटा हराएको छ। ८१ पिपी–१० नम्बरको सीमा स्तम्भ फेला परेको छैन।

यो दूरीमा ४ मुख्य सीमा स्तम्भ मात्रै सग्ला छन्। ८३ सहायक सीमा स्तम्भ हुनुपर्नेमा ७२ वटा मात्रै छन्। ४६ साना सीमा स्तम्भ हुनुपर्नेमा २१ मात्रै छन्। मुख्य १२, सहायक ५० र साना १९ गरी ८१ सीमा स्तम्भ मर्मत गर्नुपर्ने अवस्थामा छन्। यीबाहेक सहायक ७ र साना २ सीमा स्तम्भ पुनर्निर्माण गर्नुपर्ने अवस्थाका रहेको तथ्याङ्क छ। दुवै देशको सहभागितामा सीमा क्षेत्रको नाप जाँच गर्ने चर्चा पनि सेलाउँदै गएको छ।

प्रकाशित: ३० वैशाख २०८० १४:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App